तातोपानी नाका खुल्ने भएपछि सिन्धुवासी खुसी

मेलम्ची । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा तातोपानी नाकाको विषयमा कस्तो सम्बोधन हुन्छ होला भन्ने आमसिन्धुवासीको चासो थियो । तातोपानी नाकालाई आफ्नो जिल्लाकै भविष्यको रूपमा हेरिएको सिन्धुवासीमा यो चासो हुनु अस्वभाविक पनि थिएन ।

०७२ वैशाख १२ मा आएको महाभूकम्प र लगत्तैपछिको भोटेकोसी बाढीले सडकलगायतका भौतिक संरचना ध्वस्त भएपछि करिब चार वर्ष नाका पूर्णरूपले बन्द भएको यो नाका सञ्चालन गत १५ जेठबाट भए पनि यथेष्ट सडकलगायत भौतिक संरचनाको विकास र चिनियाँ सरकारले स्पष्ट चासो नदेखाएका कारण नाका फेरि बन्द हुने हो कि भन्ने सिन्धुवासीमा चिन्ता थियो ।

भूकम्पपछि बन्द रहेको तातोपानी नाका चार वर्षपछि औपचारिकरूपमा खुलेको हो । पर्यटन व्यवसायी रामकाजी पौडेलका अनुसार सीमामा करोडौं लगानीमा खुलेका होटल नाका नचल्दा डुब्ने अवस्थामा पुगेका थिए । भूकम्पअघि तातोपानी नाकाबाट कन्टेनर र अन्य गरी १ हजार ५ सयभन्दा बढी सवारीसाधन सञ्चालन हुने गर्थे ।

नाकाबाट बर्सेनि १५ हजारभन्दा बढी पर्यटक आउजाउ गर्थे । बर्सेनि २० अर्बको आयात र तीन अर्ब रुपैयाँको निर्यात हुने नाकामा बल्ल चहलपहल सुरु हुन थालेको उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष बेदबहादुर श्रेष्ठले बताए । ‘भूकम्प आएपछि नाका बन्द बनायो, यही नाका खुलाउन बारम्बार स्थानीय व्यवसायी आन्दोलित पनि भए, पछि अस्थायीरूपमा नाका चल्यो’, उनले भने ।

भूकम्प गएको एक वर्षसम्म गोदाममा थन्किएका व्यापारिक सामान ल्याउन २७ कन्टेनर चीनको खासा पुगेको उनले स्मरण गरे । सडककै कारणले चार वर्षपछि खुलेको नाका बन्द हुँदै सञ्चालनमा आउने क्रम जारी छ । चिनियाँ राष्ट्रपतिको सीको भ्रमणपछि जारी २० बुँदे समझदारीमा नाका सञ्चालका विषयमा चासो दिइएकाले यहाँका उद्योगी, व्यावसायीहरू हर्षित भएका हुन् ।

तातोपानी नाकालाई अझ व्यवस्थित गर्नका लागि चीनले लार्चामा अत्याधुनिक प्रविधिको सुक्खा बन्दरगाह निर्माण गरेको छ । अहिले नेपाल र चीनबीचबाट हुने सबै व्यापारिक कारोवार सुक्खा बन्दरगाहबाटै हुने गरेको छ । नाका सञ्चालनको प्रमुख समस्या भनेको सडकको रूपमा लिइएको छ । सीको भ्रमणले सडक स्तरोन्नति हुनेमा उनीहरूमा विश्वास बढेको छ ।

सन् १९६० मा चीन सरकारकै अनुदान सहयोगमा अरनिको राजमार्ग निर्माण भएको थियो । भूकम्पपछि विभिन्न स्थानमा क्षति पुगेको राजमार्ग मर्मत भयो । तर, पहिलेकै अवस्थामा सडक पुग्न नसक्दा समस्या सिर्जना भइरहेको छ । अरनिको राजमार्गको मर्मतमा चीन सरकार सकारात्मक भएकै कारणले तातोपानी नाका थप व्यवस्थित हुने अपेक्षा लिइएको छ । सडक सञ्चालन सुनिश्चित भएपछि व्यापारिक आत्मियता बढ्ने अपेक्षा गरिएको छ ।

मितेरीबाट काठमाडौंसम्म १ सय १४ किमी सडक रहेको छ । बाह्रबिसे–तातोपानी २६ किमी सडकखण्ड रहेको छ । यो सडक पनि चीन सरकारकै सहयोगमा निर्माण र मर्मत हुँदै आएको छ । करिब पाँच दशकअघिदेखि नेपाल र चीनबीचमा सडक जोडिएको थियो । मितेरी पुलको निर्माणपछि नेपाल र चीनबीच व्यापार सुरु भएको हो ।

प्रतिक्रिया