सैनामैनामा पहिलोपटक फूलखेती

रूपन्देही । जिल्लाको सैनामैना नगरपालिकामा अतिथिलाई लगाउने खाँदा विस्थापित गर्न फूलखेती सुरु गरिएको छ । खासगरी नगरपालिकाको विभिन्न वडामा रहेका आमा समूहले आयआर्जनका लागि फूलखेती सुरु गरेपछि नयाँ अनुभव हासिल भएको बताएका छन् ।

‘हामीले माला उत्पादन गरेर खाँदा विस्थापित मात्रै गर्न सक्यौँ भने पनि ठूलो उपलब्धि हुन्छ’, पैरवी आमा समूह सैनामैनाकी अध्यक्ष सीता जिसीले भनिन् । उनले फूलखेतीका लागि मिहिनेत धेरै गर्नुपर्ने अनुभव गरिएको जानकारी दिँदै फूलखेतीबाट धेरै उत्साहित भएको बताइन् । सयपत्री फूलको खेती सैनामैना–४ स्थित सिसौँडाँडामा गरिएको छ । सो आमा समूहले ११ कठ्ठा जग्गा भाडामा लिए पनि पाँच कठ्ठा जग्गामा मात्रै फूलखेती गरेकोे छ ।

उक्त आमा समूहले नगरपालिकाले प्रदान गरेको ५० हजार अनुदानसमेत लिएको छ । १ लाख ८० हजार फूलखेतीमा लगानी गरेको आमा समूहले सोचेजस्तो बिरुवा नभएको कारण आम्दानी कम हुने अनुमान भएको बताएको छ । आमा समूहकी कोषाध्यक्ष लक्ष्मी श्रेष्ठले सयदेखि १ सय ५० रुपैयाँ सम्ममा माला बनाएर बेच्ने गरेको उल्लेख गर्दै स्थानीय बजारमै फूलखेती खपत हुने बताइन् ।

उनले तीन वर्षका लागि ३० हजार वार्षिक रूपमा भाडा तिरेको जानकारी दिँदै ५० प्रतिशत फूलको बिरुवा रोग लागेर खेर गएको बताइन् । कोषाध्यक्ष श्रेष्ठले अन्नपूर्ण एग्रोभेट, बुटवलबाट ल्याएको फूलको बीउ गुणस्तरीय नभएको उल्लेख गर्दै फूलखेतीको प्राविधिक विश्लेषण नभएको गुनासो गरिन् । त्यस्तै सैनामैना नगरपालिका–७ आमीको पुष्पाञ्जली आमा समूहले गरेको फूलखेती अधिकांश खेर गएको छ ।

‘आधाभन्दा बढी फूलको बिरुवा गोडेर फालेका छौँ’, पुष्पाजञ्ली आमा समूहका उपाध्यक्ष निरु रानाले भनिन् । उनले दुई हजार वार्षिकरूपमा तिरेर जग्गा भाडामा लिएर फूलखेती गरेको जानकारी दिँदै ठिमाहा बिउ र पतेरोको ठूलो समस्या देखिएको बताइन् । ‘धेरैले फूलखेती नगरेकाले फूलखेतीमा फाइदा हुन्छ भनेर यो खेती गरेका हाैँ’, उपाध्यक्ष रानाले भनिन् । कृषि विकास शाखा सैनामैना नगरपालिकाका कृषि अधिकृत सिर्जना सुवेदीले कृषकले नै कम गुणस्तरको बिउ ल्याएकाले समस्या देखिएको उल्लेख गर्दै पूजा, विवाह, व्रतबन्धमा फूलको प्रयोग बढाएर बजार व्यवस्थापनमा सहयोग गरेको बताइन् ।

उनले नगरपालिकाकोतर्फबाट फूल लगाउने विधि, रोगको समस्या देखिँदा प्रयोग गर्ने ‘मल्टी भिटामिन’ को प्रयोग गर्न सुझाएको जानकारी दिँदै फूलखेतीबाट मालाको प्रयोग गरेर खाँदा विस्थापित गर्न सके उपलब्धि हुन्छ भनिनज् । सैनामैना नगरपालिका–४ र ७ बाहेक ६, ८, १० र ११ मा पनि ५० हजार अनुदान दिएर फूलखेती गरिएको छ । नेपालीको चाड भाइटीकामा फूलको प्रयोग बढी हुने भएकाले पनि कृषकको उत्साह बढेको छ ।

प्रतिक्रिया