भीमदत्तमा सौर्यबत्ती जडान हुँदै

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा उज्यालो भीमदत्त कार्यक्रमअन्तर्गत ५० लाखको बजेटमा नगर क्षेत्रमा एक सय बढी सौर्यबत्ती जडान गरिने भएका छन् । चालू आव ०७६÷७७ मा नगर क्षेत्रमा १ सय १० सौर्यबत्ती जडान गरिने भएका हुन् ।

कार्यक्रमअन्तर्गत चालू आवमा ९४ सौर्यबत्ती बत्ती जडान भइसकेका नगरप्रमुख सुरेन्द्र विष्टले बताए । अरु सौर्यबत्ती जडानकार्यलाई अगाडि बढाउने काम भइरहेको उनले जानकारी दिए । उनका अनुसार गत वर्ष महेन्द्रनगर बजारको भानुचोकदेखि पुरानो बसपार्कसम्म सौर्यबत्ती जडान गरिएका थिए ।

सांसद डा.दीपकप्रकाश भट्टको निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम र नगरपालिकाको साझेदारीमा ती सौर्यबत्ती जडान गरिएका हुन् । नगरप्रमुख विष्टले उज्यालो नगर बनाउने प्रतिबद्धताअनुसार विभिन्न निकायसित सहकार्य र समन्वय गरी उज्यालो भीमदत्त कार्यक्रम सञ्चालन गरिएको बताए । गाउँ सहर उज्यालो झिलमिली बनाउने उद्देश्य लिएर कार्यक्रम सुरु गरिएको उनले जनाए ।

नगरपालिका र क्षेत्रीय सहरी विकास आयोजना संघीय आयोजना कार्यान्वयन एकाइ धनगढीको साझेदारीमा यस वर्ष १ सय १० सौर्यबत्ती जडान गरिने कार्यक्रम बनाइएको छ । पर्यटकीय क्षेत्रका रूपमा रहेको महाकाली नदीको झोलुंगे पुलमा सौर्यबत्ती जडान गरिएका छन् । पुलको सौन्दर्यकरण र उज्यालोका लागि सौर्यबत्ती जडान गरिएको हो । यसका लागि नेपाल पर्यटन बोर्डसँग सहकार्य गरिएको छ ।

उज्यालो भीमदत्त कार्यक्रमका लागि नगरपालिकाले यस वर्ष बजेटसमेत बढाएको छ । गतवर्ष २० लाख बजेट विनियोजन गरिएको सो कार्यक्रमका लागि चालू आवमा ५० लाख छुट्याइएको छ । नगरपालिकाले प्राथमिकता दिएको उक्त कार्यक्रमअन्तर्गत वडाहरूमा सौर्यबत्ती र सडकबत्ती जडानका लागि बजेट विनियोजन गरिएको छ । यसैगरी, नगरपालिकाले वडा– ९ मा पर्ने अहिलेसम्म अँध्यारो अवस्थामा रहेका खल्ला, टुँडिखेल र मसेट्टीका बस्तीमा विद्युत् पु¥याउने तयारी गरेको छ । नगरप्रमुख विष्टले ती बस्तीमा विद्युतीकरण कार्य सुरु गर्ने तयारी गरिएको जानकारी दिए ।

यसैगरी डोटीमा पनि पछिल्लो समय यहाँका प्रमुख बजारमा जोडिएका सौर्यबत्तीले बजार उज्यालो भएका छन् । जिल्लाको प्रमुख व्यापारी केन्द्र पिपल्ला, सिलगढी, दिपायल तथा राजपुरमा जडान गरिएका सौर्यबत्तीले यहाँका बजार रातीको समयमा उज्यालो तथा झिलिमिली हुने गरेका छन् । रकम भुक्तानी नदिएको भन्दै दिपायल पिपल्लामा जडान गरिएका सोलार अर्थात् सौर्यबत्तीहरू ठेकेदारले केही महिना पहिले उखेलेर लगेपछि अन्धकार बजार भएको थियो । ठेकेदारलाई दीपायल सिलगढी नगरपालिकाले बाँकी रकम दिने सम्झौता गरेपछि पुनः ठेकेदारले बजारमा बत्ती जडान गरेपछि झिलिमिली बनेको हो ।

आफूहरूसँग गरिएको सम्झौताअनुसार रकम नदिएको भन्दै दीपायलको पिपल्ला बजारमा जडान गरिएका सौर्यबत्ती ठेकेदारले गत २५ फागुनमा उखेलेर लगेको थियो । नगरप्रमुख मञ्जु मलासी, ठेकेदार कम्पनी मनिङसन, उद्योग वाणिज्य संघका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्याललगायत बसेको बैठकले गरेको निर्णयअनुसार ठेकेदार कम्पनी मनिङसनले बजारमा उखेलेका सौर्यबत्ती जोड्नुपर्ने र बाँकी रकम दिने सम्झौता पछि अहिले पुनः जोडिएको हो ।

जिल्ला प्रशासनमा भएको सहमतिमा सात दिनभित्रमा सबै बिग्रेका सौर्यबत्ती मर्मत गरी बलेको हुनुपर्ने र उक्त अवधिमा नगरपालिकाका प्राविधिकबाट फिल्ड प्रतिवेदन बुझाई रकम भुक्तानी गर्ने सहमति भएको थियो । सम्झौताअनुसार कुल ३२ लाख ७२ हजार ९ सय २५ मध्ये २३ लाख २ हजार ५ सय भुक्तानी लिइसकेको र उद्योग बाणिज्य संघले बेहोर्नुपर्ने रकम ४ लाख ९० हजार ९ सय ३८ घटाउँदा ४ लाख ७९ हजार ४ सय ८६ रकम भुक्तानी पाउन बाँकी रहेको बताइएको छ ।

उद्योग वाणिज्य संघसँग ०७३ फागुन १७ मा नगरपालिकाले ३० लाखमा ३० पोलको सम्झौता गरी सौर्यबत्ती जडानका लागि कार्यादेश दिएको थियो । त्यसपछि उद्योग वाणिज्य संघले त्यो काम ०७३ फागुन ६ मा मर्निङसन नेपाल कम्पनीलाई जडानका लागि ठेक्का दिएको थियो ।

प्रतिक्रिया