छोराको कलेजाे पितामा प्रत्यारोपण

काठमाडौं । त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले तेस्रो पटक सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको छ । शुक्रबार रूपन्देहीका ५० वर्षीय पुरुष विरामीमा त्रिविले कलेजो प्रत्यारोपण गरिएको थियो ।

उक्त बिरामीमा उनका २७ वर्षीय छोराको कलेजो प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ । टिचिङमा तेस्रो प्रत्यारोपणसँगै नेपालमा हालसम्म कलेजो प्रत्यारोपणको संख्या भने ५ पुगेको छ । यसअघि त्रिवि शिक्षण अस्पतालले जेठ १७ गते पहिलो पटक कलेजो प्रत्यारोपण गर्न सफल भएको थियो । पहिलो प्रत्यारोपणमा ३३ वर्षे छोरीले ५८ वर्षे बाबुलाई कलेजो दिएकी थिइन् । त्यसैगरी साउन ३ गते दोस्रो पटक सफल रूपमा कलेजो प्रत्यारोपण भएको थियो । कलेजो प्रत्यारोपण सर्जन डा. रमेश सिंह भण्डारीको टोलीले झन्डै ८ घण्टा (मध्याह्न १२ देखि बेलुका ८ बजेसम्म) लगाएको छ ।

चिकित्साविज्ञानमा जटिल मानिने कलेजो प्रत्यारोपणमा यसपटक डा. भण्डारी नेतृत्वको टोलीलाई भारतको नयाँ दिल्लीस्थित फोर्टिक्स अस्पतालबाट आएका प्रत्यारोपण सर्जनको टोलीले सहयोग गरेको थियो । ‘हाम्रो योजना त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण नियमित बनाउने नै हो । त्यसैले अहिले हामीले महिनामा कम्तीमा एउटा प्रत्यारोपण गर्ने लक्ष्य लिएका छौँ’, डा. भण्डारीले भने, ‘तर, कहिलेकाहीँ डकुमेन्ट र विरामीको कन्डिसनका कारण प्रत्यारोपण योजना स्थगित हुने गरेको छ ।’

उनले ८÷१० वटा कलेजो प्रत्यारोपण गर्दासम्म विदेशी विज्ञको सहयोग लिने जानकारी दिए । यो सिकाइको कुरा भएकाले पूरा कन्फिडेन्स नहुँदासम्म विदेशी विज्ञको सहयोगमै प्रत्यारोपण गर्ने उनको भनाइ छ । यो सफलतासँगै नेपालमा कलेजो प्रत्यारोपणले स्थायित्व पाउने विश्वास डा. भण्डारीले व्यक्त गरे ।

डा.भण्डारीका अनुसार विदेशको तुलनामा नेपालमा एकतिहाइभन्दा पनि कम खर्चमा कलेजो प्रत्यारोपण हुने गरेको छ । विदेशमा प्रत्यारोपण गर्दा ७० लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने गरेकोमा नेपालमा २५ लाख रुपैयाँको हाराहारीमा कलेजो प्रत्यारोपण गर्न सकिने बताए । यस्तै परिवारभित्रकै नजिकैको व्यक्तिले मात्र कलेजो दान गर्न सक्ने कानुनी व्यवस्था छ । उनका अनुसार १८ देखि ५५ वर्षसम्मको स्वस्थ व्यक्तिको कलेजो अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिनेछ ।

नेपालमा हालसम्म सरकारी र नीजि गरी जम्मा चारवटा अस्पतालले कलेजो प्रत्यारोपणको अनुमति पाएका छन् । जसमध्ये दुईवटाले मात्र प्रत्यारोपण गराएका छन् । सरकारीस्तरमा भक्तपुरस्थित सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रले दुई बिरामीमा कलेजोको सफल प्रत्यारोपण गराएको थियो । तर, प्रत्यारोपण केन्द्रले यसलाई निरन्तरता दिन भने सकेको छैन । त्रिवि शिक्षणले भने अनुमति पाएको लगभग पाँच महिनाको तयारीपछि प्रत्यारोपण सुरु गरेको थियो ।

यता दुई नीजि अस्पतालले पनि कलेजो प्रत्यारोपणको अनुमति पाइसकेका छन् । दुवै अस्पताल चितवनका हुन् तर उक्त अस्पतालले हालसम्म प्रत्यारोपण सुरु गरेको छ्रैनन् । चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसले केही महिनाअघि कलेजो प्रत्यारोपणको अनुमति पाएका हुन् ।

नेपालमा कलेजो प्रत्यारोपणको सुरुवात भने मानवअंग प्रत्यारोपण केन्द्रले गरेको थियो । २२ मंसिर २०७३ मा भएको सो प्रत्यारोपणमा ३८ वर्षका विरामीलाई उनकै ४२ वर्षकी दिदीको कलेजो प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा भएको पहिलो प्रत्यारोपणमा सघाउन त्यसवेला कोरियास्थित सामसङ अस्पतालबाट १४ जनाको टोली नेपाल आएको थियो

प्रतिक्रिया