आर्थिक पहुँच बढाउँदै महिला

बलेवा । ९ वर्ष पहिलासम्म घरको सामान्य खर्च चलाउनसमेत श्रीमानको भर पर्ने सीता सुवेदीका दिन अहिले फेरिएको छ । बागलुङ नगरपालिका–१४ नारायणस्थानकी सीता जब गाउँमै खुलेको बलेवा बचत तथा ऋण सहकारीमा संस्थापक शेयर सदस्य बनिन् । त्यसयता उनको दैनिक आर्थिक क्रियाकलाप आफ्नै पौरखमा चल्ने गरेको छ । हातमा पैसा हुँदा बचत गर्ने र नहुँदा सरसापटी लिने माध्यम बनेको छ घरछेउकै सहकारी ।

‘सुरुमा श्रीमानले नै पैसा दिएर शेयर सदस्य बनेकी हुँ’, सीता भन्छन्,ि ‘अहिले त अलिअलि पैसा मसँग पनि छ, सहकारीमा बचत गरेकी छु, चाहिँदा खर्च गर्छु ।’ गोठमा पालेको भैँसीको दूध, एक–दुई बाख्रा र खेतबारीको नगदेबाली बिक्रीबाट आउने रकम उनको बचत गर्ने स्रोत हो । सहकारीमा शेयर सदस्य बनेयता ठूलै खर्च हुने काममा बाहेक साना–तिना खर्च गर्न आफैँ सक्षम भएको उनले बताइन् ।

उनि मात्रै होइन नारायणस्थानका प्रत्येक घरका महिलाहरु गाउँमा खुलेका सहकारी संस्थामा आवद्ध भएका छन् । बलेवा एकता, राहत, साना किसानलगायतका सहकारीले यहाँका महिलाको आर्थिक पहुँच बढाएका छन् । ‘हाम्रो सहकारीमा शेयर सदस्य महिला नै बढी हुनुहुन्छ’, बलेवा एकता बचत तथा ऋण सहकारीका प्रबन्धक भरत पौडेलले भने ‘दैनिक कारोवार गर्ने ८० प्रतिशत महिलाकै सङ्ख्या छ ।’ अधिकांश युवा रोजगारीको सिलसिलामा विदेशमा रहेकाले नजिकको बैंकजस्तै बनेका सहकारीमा कारोवार गर्न महिला नै पुग्छन् ।

गाउँघरमा हुने पशु चौपायाको बिक्री र त्यसबाट आउने रकमसमेत जम्ममा गरेर यनि महिलाले आफ्नो आर्थिक क्षमता विकास गरेका छन् । ‘पाठापाठी बेचेर पैसा जम्मा गर्न सहकारीमा आउनुहुन्छ’, सहकारीका निवर्तमान अध्यक्ष दीपेन्द्र खड्काले भने, ‘बचत गर्ने र खर्च कम गर्ने बानीको विकास भएको छ ।’ पुरुषहरुको तुलनामा बचत गर्न महिला सिपालु रहेको अनुभव खड्काले सुनाए ।

झण्डै एक दर्जन सहकारी रहेको वडामा तीन–चार सहकारीले मात्रै सक्रिय कारोवार गरेका छन् । यहाँका सहकारीले महिला शेयर सदस्यमार्फत गरेको लगानी उत्पादनशील क्षेत्रमा प्रयोग भइरहेको पनि दाबी गर्छन् । ‘हामीले जम्मा गरेको सानो–सानो पूँजी लगानी गर्दा सानै भए पनि उत्पादनशील क्षेत्रमा भएको छ’, प्रबन्धक पौडेलले भने, ‘दूधको व्यापार गर्न भैँसी किन्न, बाख्रा पाल्न र तरकारी तथा फलफूलखेती गर्न ऋण माग्न आउनेहरु धेरै छन् ।’ अधिक विप्रेषण भित्रिने नारायणस्थानमा सहकारीले नै सबैखाले विप्रेषणको कारोवार गर्दै आएको छ ।

‘विदेशबाट आएको रकम झिक्न महिला नै आउँछन्, सहकारीमै रहेको खातामा जम्मा गरेर जान्छन्, सहकारीको आर्थिक विभाग प्रमुख अस्मिता गौतम खड्काले भनिन्, ‘घरमा हुने सामान्य आम्दानीदेखि विदेशबाट आउने रकममा समेत महिलाको पहुँच बढेको छ ।’ शेयर सदस्यसँग मात्रै कारोवार गर्ने सहकारीलाई स्थानीयले नजिकैको बैंक सम्झिने गरेका छन् ।

‘ऋण चाहिए पनि यहीँ आउने हो, धन भए पनि यहीँ’, स्थानीयवासी प्रताप पौडेलले भने, ‘हाम्रो धनको सुरक्षा र आवश्यकताको सहयात्री बनेको छ सहकारी ।’ पहिले विदेशबाट आउने रकम र गाउँका उत्पादन बिक्रीबाट आउने रकमको सुरक्षाका लागि जिल्ला सदरमुकामका बैंक जानुपर्ने बाध्यता हटेको पौडेलले बताए ।

प्रतिक्रिया