कला जागरणको खाँचो

विजय खत्री

नेपाली ललितकला र कलाकारको निम्ति स्थापना भएको एक मात्र सरकारी निकाय नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान देशको राजधानी काठमाडौंमा अवस्थित रहेको छ । प्रतिष्ठान स्थापना गर्नको लागि कलाकार एकढिक्का भएर लागेकैले यसको जन्म भएको हो । प्रतिष्ठानमा ललितकला क्षेत्रका विज्ञको रूपमा प्रत्येक ४÷४ वर्षमा पदाधिकारीहरू चयन हुने गर्दछन् । यसरी प्रतिष्ठान हाल तेस्रो कार्यकालका पदाधिकारीद्वारा सञ्चालन भइरहेको छ ।

प्रतिष्ठानमा चित्रकला, मूर्तिकला, हस्तकला, परम्परागत शिल्पकला, लोककला र वास्तुकला तथा अन्य सिर्जनात्मक कला गरी ६ वटा विभाग रहेका छन् । ती प्रत्येक विभागले आफ्नो वार्षिक कार्यक्रम देशका विभिन्न स्थानमा गर्दै आएका छन् । विभागका लागि निश्चित रकम विनियोजन भएको छ । सो बजेटलाई अधिकतम उपयोग गरी विभाग अन्तर्गतका विधाका कला र कलाकारको सीप र सिर्जनाको विकासको लागि विभागीय प्रमुख योजनाबद्ध रूपमा अगाडि बढेको देख्न सकिन्छ ।

प्रतिष्ठानका अधिकांश कार्यक्रम स्रोत साधन (प्राकृतिक, आर्थिक र मानवीय) को उपलब्धता र प्रभावकारितालाई ध्यानमा राखेर आयोजना हुने गरेका छन् । त्यस्तै, नेपाली कलालाई काठमाडौं उपत्यकामा मात्र सीमित नबनाएर नेपालका दूरदराजमा रहेका कला र कलाकारलाई मूलधारमा जोड्नका लागि र तिनको सशक्तिकरण गर्न प्रतिष्ठानका विभागीय सदस्यहरू लागेको पाइन्छन् । प्राज्ञहरू आफ्नो कार्यकालमा जतिसक्दो राम्रो काम गर्नेतर्फ लागि रहे पनि कहिलेकाहीँ सीमित बजेटको सिलिङका कारण खुम्चिनुपर्ने अवस्था सिर्जना भएको छ भने सम्भव भएसम्म नगरपालिका, गाउँपालिका, वन उपभोक्ता समिति, विभिन्न संघ संस्थासँगको सहकार्यमा पनि विविध कलात्मक गतिविधि हुने गरेका छन् ।

हालै प्रतिष्ठानको हस्तकला विभागद्वारा इलाममा नमुना सामुदायिक वन उपभोत्ता समितिसँगको सहकार्यमा पाँचदिने हस्तकला कार्यशाला सम्पन्न गरेको छ । हस्तकला विभागीय प्रमुख धर्मराज शाक्यले कलाको विकासका लागि ठाउँ, अवस्था, परिवेश अनुसार जग बनाई विकास गर्दै लैजानुपर्ने बताउनुहुन्छ । उहाँले इलाममा काठमा काम गरिरहेका मानिसमा सिर्जनाशील पक्षको महत्व जगाइदिनका लागि कार्यशाला सहयोगी भएको बताउनुभयो । शाक्यले व्यक्तिमा रहेको सीप निखार्न उनीहरूलाई सिकर्मी मात्रै सीमित नराखी कलाकार बनाउने उद्देश्यले उक्त कार्यशाला आयोजना गरिएको जिकिर गर्नुभयो ।

इलाम जिल्लामा एउटा नगरपालिकामा मात्रै ११÷१२ वटा वन उपभोक्ता समिति रहेकाले उक्त ठाउँमा काष्ठ हस्तकलाको विकास गर्ने सम्भावना प्रचुर मात्रामा रहेको छ । यदि, त्यहाँका स्थानीय कलाकारलाई राम्रो प्रशिक्षण दिई हस्तकला उद्योगको स्थापना गर्न सक्ने हो भने कमभन्दा कम लागतमा उत्पादन हुन सक्नेमा दुई मत छैन ।

 


काठमाडौं उपत्यकामा हस्तकलाका काम गर्ने कलाकारले काठ किन्नको लागि किलोग्राममा किन्नुपर्ने बाध्यता छ भने माई नगरपालिका इलाममा सालको काठ पनि हातको हिसाबमा बिक्री हुँदै आएको छ । माई नगरपालिकाका नगर प्रमुख दिपककुमार थेवेले नेपाली हस्तकलाको महत्वलाई आफूले राम्ररी बुझेको बताउँदै भन्नुभयो, ‘नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान जस्तो गरिमामय प्रतिष्ठानले हाम्रो क्षेत्रमा आएर हस्तकलाका विषयमा प्रशिक्षण दिएर महत्वपूर्ण सहयोग गरेको छ । यस्ता प्रशिक्षणले हस्तकला उद्योग स्थापना गरी इलाममा रहेका काठको उचित सदुपयोग गर्न र स्थानीय स्तरमा रोजगारीको सिर्जना हुने विश्वास लिन सकिन्छ ।’ गरिदिने हो भने हामी सस्तो मूल्यमा काठको उपलब्धता बनाउनुका साथै सिर्जना हुने हस्तकलाका सामानको करमा पनि विशेष छुटको व्यवस्था गर्ने थियौँ ।’ प्रतिष्ठानले कार्यशालामा सहभागी हस्तकलाकर्मीलाई लक्षित गरी सिर्जना गर्ने सामानहरूमा नेपाली कलात्मक बुट्टाहरू भर्न सक्ने गरी प्रशिक्षणको आयोजना गरेको हो ।
कार्यशालामा उक्त नगरपालिका उपप्रमुख विष्णुमाया रिमालले नेपाली हस्तकलाको विकासमा आफूले सक्दो सहयोग गर्ने बताउँदै प्रतिष्ठानले समय–समयमा यस्ता किसिमका कार्यक्रम आफ्नो नगरपालिकामा गरिदिन आग्रहसमेत गर्नुभयो ।

त्यस्तै, नमूना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष छविलाल आचार्यले आफूकहाँ रहेका काठहरू केही खाना पकाउने दाउराको रूपमा त केही काठका सामान बनाउनको लागि सस्तो मूल्यमा बिक्री भइरहेको जानकारी दिनुभयो । उहाँले ती काठलाई हस्तकलाका सामग्रीहरू बनाउन प्रयोग गर्न सक्ने हो भने काठको सही सदुपयोग हुने विश्वास व्यक्त गर्नुभयो । हस्तकलासम्बन्धी कार्यशाला तथा उद्योग नै स्थापना ग¥यो भने वन उपभोक्ता समिति अध्यक्षको हैसियतले गर्नसक्ने सहयोग दिल खुलाएर गर्ने उहाँले वचन दिनुभयो ।

सहभागीहरू दसैँको मुखमा पनि हस्तकला प्रशिक्षणमा उत्सुकताका साथ सहभागी भएका थिए । उनीहरूले कार्यशाला अवधिभर सिकेका सीपहरू आगामी दिनमा प्रयोग गर्ने बताए । सहभागीले यस किसिमको कार्यशाला पहिले नै भइदिएको भए आफ्नो श्रम सादा झ्याल, ढोका, दराज, पलङमा मात्रै सीमित नहुने बताए । कार्यशालामा देउप्रसाद आङदेम्बे, विजय लिम्बु, बृखबहादुर फागो, मैत लिम्बु, डिल्लीप्रसाद चम्लागाई, लक्ष्मण गिरी, देवीराम राई, रामबहादुर लिम्बु, प्रकाश मोक्तान, गणेश बयलकोटी, सुमनकुमार राईलगायतको सहभागिता रहेको थियो ।

काष्ठकला कार्यशालामा प्रशिक्षकका रूपमा विगत लामो समयदेखि काठमा काम गर्दै आउनुभएका कलाकार उत्तम डंगोल इलाम पुग्नुभएको थियो । नेपाली कला विकासका लागि भन्दै ललितपुरबाट उहाँ इलाममा पुगेको बताउनुभयो । उहाँले छोटो समयमा आफूले सिकेको सीप, शैली, विधि र औजारसम्बन्धी ज्ञान सहभागीलाई जानकारी दिनुभएको थियो ।

त्यहाँका स्थानीय कलाकार विजय श्रेष्ठले कलामा स्नातकोत्तर गरेर गाउँ गाउँमा कलाको विकास गर्नुपर्छ भन्ने हेतुले काठमाडौंमा कलाको अवसर हुँदाहुँदै पनि गाउँ फर्किएको बताउनुभयो । उहाँ अहिले इलाममै बसेर कला साधना गरिरहनुभएको छ । कार्यशालामा सहभागीले काठमा काटेका बुट्टाले गाउँका मानिस दंग परेको बताए भने समाजमा ललितकलाको हुटहुटी जागेको समेत सुनाए । इलामका कलाकार विजय श्रेष्ठको सक्रियतामा उक्त पाँचदिने काष्ठकला कार्यशाला सम्पन्न भएको हो ।

समाजसेवी शंकरप्रसाद श्रेष्ठ कार्यशाला अवधिभर दिनहुँ आउँदै कलाकारमा उत्पे्ररणा भरिहरहनु भएको थियो । उहाँ भन्नुहुन्छ, ‘जसरी हिजो नेपाली हस्तकला विश्वबजारमा चिरपरिचित भएको थियो । त्यसरी नै अहिले पनि नेपाली हस्तकला विश्वबजारमा प्रतिष्ठित हुनुपर्छ । जसका लागि तपाईंहरू जस्तो सक्रिय जनशक्ति र इच्छाशक्ति हुनुपर्छ ।’

यसरी इलामको माई नगरपालिकामा पाँचदिने हस्तकला कार्यशाला सम्पन्न भयो । जसले गर्दा भोलिका दिनमा त्यस क्षेत्रमा कलाको विकास गर्न गोरेटो बाटो बनेको छ । कार्यशालाले सीप र सिर्जनाका लागि मार्गनिर्देश मात्रै गर्ने हो । यसलाई निरन्तर रूपमा अगाडि बढाउन सहभागी ११ जनाले अब कला सिर्जनामा लागेर आफ्नो आर्थिक सबलीकरणमा योगदान दिने विशवास गर्न सकिन्छ । उनीहरूले गाउँमा धेरैभन्दा धेरै मानिसलाई हस्तकलाका सामानहरू उपयोग गर्ने वातावरण निर्माण गर्न र स्वआर्जनमा लाग्ने आधार कार्यशालाले दिएको छ । कार्यशालाले काष्ठकलासँगै कलाका अन्य आयामका बारेमा समेत स्थानीयमा थप जिज्ञासा बढाउने अपेक्षा राख्न सकिन्छ । आगामी दिनमा यस्ता कार्यक्रम गर्दा आयोजक र स्थानीयवासीहरूलाई कला बुझ्न÷बुझाउन सहज हुनेछ ।

अन्त्यमा, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका विभागहरूले यसरी केन्द्र हुँदै देशका विभिन्न भागमा गई कला जागरण र कला विकासमा दत्तचित्त भएर अझै आत्मविश्वासका साथ लाग्ने आशा गर्न सकिन्छ । जसका लागि देशका सम्पूर्ण कलाकारको साथ, सहयोग, सल्लाह, सुझाबको आवश्यकता अपरिहार्य छ ।

प्रतिक्रिया