काउन्सिलमा ‘क्रिएटिभ’

काठमाडौं । कलामार्फत सांस्कृतिक सम्बन्ध बलियो बनाउने लक्ष्य राखेर कला प्रदर्शनी सुरु भएको छ । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा नेपाल, भारत र बंगलादेशका ९० कलाकारका कलाकृति प्रदर्शनीमा राखिएको छ । कलकत्तास्थित सर्वभारतीय संगीतओं संस्कृतिपरिषद्को आयोजनामा भएको उक्त प्रदर्शनीमा भारतका ७२, नेपालका १४ र बंगलादेशका ४ जना कलाकार सहभागी भएको सहभागी भारतीय कलाकार इन्द्रजीत नारायनले जानकारी दिए । उनले नेपाल, भारत तथा बंगलादेशका कलाकारले सांस्कृतिक सम्बन्ध बलियो बनाउने लक्ष्यका साथ कला प्रदर्शनी गरिएको बताए ।

नेपालका लागि बंगलादेशका राजदूत श्रीमती मस्फी बिन्ते शामस्ले प्रदर्शनीको उद्घाटन गर्दै कलाले देश देशबीचको सम्बन्धलाई बलियो बनाउने बताइन् । उनले कला र संस्कृतिमा पूर्वीयहरू निकै समृद्ध रहेको जिकिर गरिन् । कार्यक्रममा भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन डा. अजय कुमारले भारत, नेपाल र बंगलादेशलाई कला र संस्कृतिले नजिक ल्याएको बताए । त्यस्तै, प्राडा. वंशी श्रेष्ठले प्रदर्शनीमा राखिएका कलाले नेपाल, भारत र बंगलादेशलाई जोडेको बताए । आफ्नो देशको मौलिक संस्कृतिलाई कलाकारले कलात्मकरूपमा क्यानभासमा उनेको बताउँदै प्राडा. श्रेष्ठले कलाकृति समकालीन परिवेशलाई चित्रण गरेको धारणा राखे ।

त्यस्तै आयोजक संस्था सर्वभारतीय संगीतओं संस्कृतिपरिषद्का सचिव काजल सेनगुप्ताले कला प्रदर्शनीले तीन देशका कलाकारलाई एकठाउँ ल्याएको बताए । प्रदर्शनीमा नेपाली कलाकार गोविन्द डंगोल, हेम पौडेल, हरि खड्का, जीवन राजोपाध्याय, नरेश सैँजु, रत्नकाजी शाक्य, रमा मास्के, शंकरराज सिंह सुवाल, श्यामलाल श्रेष्ठ, शंकरनाथ रिमाल, टार्जन साङपाङ, चिनीकाजी ताम्राकारका कलाकृति राखिएको छ । त्यस्तै, इन्द्रजीत नारायन, अफतर अलि, अनुपमकान्ती चन्द्र, अनसौ चक्रवर्ती, बेनोय दुलाउ, अपूर्व बनर्जी, बेनी माधव सरकार, अरुनव भट्टाचार्य, भारती नाथ, देवासिस पाउल, देवासिस बोस, दीपक बर्मन, दिपंकर समदार, गौतम चक्रवर्ती गौतम साह, इन्द्रजीत पन्जा, इन्द्रनील घोष, जीत अधिकारी, जोयदेव देय, कन्चन मिस्त्री, ज्योतिरुपा शर्मा, मन्दिरा वसु, मधुमिता दास, कृष्ण दिया, मानस चक्रवर्ती, नवज्योति कलिता, पम्पा नन्दी, पवक कुमार देवनाथ, पंकज मण्डल, मनिषा हजारा, रामानुज विश्वास, रेश्मा खातुन, सागरिका मण्डललगायतका भारतीय कलाकारका कलाकृति प्रदर्शनीमा राखिएको छ । बंगलादेशका समिना यसमिन शाम्पा, रेहजौर रहमान, मुस्ताक अहमेद प्रदर्शनीमा सहभागी छन् ।

प्रदर्शनीमा चित्र, ग्राफिक प्रिन्ट, ग्राफिक डिजाइनका साथै फोटोग्राफीसमेत राखिएको छ । प्रदर्शनीमा राखिएका कलाले विश्वमा चलेका कलाका समकालीन अवधारणालाई बुझ्न र नियाल्न सकिने सहभागी नेपाली कलाकार जीवन राजोपाध्यायले बताए । उनले भने, ‘अन्तर्राष्ट्रियस्तरका कला प्रदर्शनीले कलाकारबीच मात्र नभई फरक देशका कला ट्रेनलाई बुझ्न सकिन्छ ।’  नेपालबाट सोसाइटी अफ मोर्डन आर्ट (सोमा) का कलाकारको सहभागिता रहेको कलाकार नरेशसुन्दर सैंजुले बताए । उनले भने, ‘प्रदर्शनी विविध शैली र माध्यमका कलाकृति राखिएको छ । यसबाट नेपाल, भारत तथा बंगलादेशमा चलेका कलाका चिन्तन र शैलीलाई बुझ्न सकिन्छ ।’ प्रदर्शनी आइतबारसम्म चल्नेछ ।

प्रतिक्रिया