अर्थतन्त्रका सकारात्मक लक्षण

चालु आर्थिक वर्षको प्रारम्भसँगै मुलुकको अर्थतन्त्रमा सकारात्मक लक्षण देखिएका छन् । गत आर्थिक वर्षको सुरुका दुई महिना (साउन र भदौ) मा भन्दा चालु आर्थिक वर्षको सुरुका दुई महिनामा वस्तु आयात घटेको छ भने निर्यात बढेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको सुरुका दुई महिनाको तुलनामा चालु आर्थिक वर्षको सुरुका दुई महिनामा कुल निर्यात व्यापार सात दशमलव पाँच प्रतिशत वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको सुरुका दुई महिनामा १४ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा चालु आर्थिक वर्षको सुरुका दुई महिना १८ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यसैगरी गत आर्थिक वर्षको सुरुका दुई महिनामा दुई सय ३२ अर्ब ३४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । भने चालु आर्थिक वर्षको सुरुका दुई महिनामा दुई सय २९ अर्ब ५० करोड रुपैयाँ बराबरको आयात भएको छ । यस हिसाबले अघिल्लो आवको दुई महिनामा यस आवको दुई महिनामा ६ अर्ब बराबरको व्यापार घाटा कम छ ।

आयात घट्नु र निर्यात बढ्नु भनेको अर्थतन्त्रको सकरात्मक लक्षण हो । तर, यो लक्षण कत्तिको स्थायी हुन्छ ? भन्ने यकिन भइसकेको छैन । कुन कुन वस्तुको आयात घटेको हो र कुन कुन वस्तुको निर्यात बढेको हो ? भन्ने यकिन तथ्यांकको विश्लेषण नगरेसम्म उत्साहित हुने अवस्था छैन । गत आर्थिक वर्षको सुरुका दुई महिनामा विमान तथा गाडी खरिदमा मोटो रकम खर्च भएको थियो । यसैगरी भूकम्पले भत्केका संरचना पुननिर्माणमा पनि उल्लेख्य रकम खर्च भएको थियो । चालु आर्थिक वर्षको सुरुका दुई महिनामा सरकारीस्तरमा त्यति ठूलो खरिद नगरिएका कारण आयात घटेको हो । यसैगरी निर्यातका सन्दर्भमा स्वदेशी कच्चा पदार्थ प्रयोग गरी उत्पादित वस्तुका तुलनामा विदेशी कच्चा पदार्थ प्रयोग गरी उत्पादन गरिएका वस्तु निर्यात भएका छन् । छिमेकी मुलुक भारतले केही खुकुलो गरिदिएका कारण विदेशी कच्चा पदार्थ प्रयोग गरेर उत्पादन भएका वस्तुको निर्यात बढेको हो । त्यसैले यस्तो निर्यातले स्थायित्व ग्रहण गर्न सक्ने सम्भावना कम छ ।

स्वदेशमै उत्पादन हुन सक्ने वस्तुको आयातलाई निरुत्साहित गर्ने र स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर उत्पादन हुने वस्तुको निर्यातलाई प्रोत्साहन गर्ने रणनीति सरकारले अवलम्बन गरेको थियो । यसको नतिजा बिस्तारै देखिन थालेको छ । उदाहरणका लागि गत वर्षको दशै“मा भारत बाट करिब १० अर्ब रुपैयाँ बराबरका खसी बोका आयात भएको थियो । तर, सरकारले खसी बोका आयातमा कडाई गरेसँगै स्वदेशी उत्पादन बढ्यो । फलस्वरूप यस वर्षको दशैँमा भारतबाट खसी बोका खासै आयात भएन । माछाको आयात पनि त्यसरी नै घटेको छ । तरकारी आयातमा गरिएको कडाई धेरै दिन टिक्न सकेन , तरपनि यो कडाइपछि भारतबाट तरकारी आयात हुने क्रम केही घटेको छ । धुलो दूध आयातमा पनि सरकारले कडाइ गरेको छ । यसैगरी विद्युत् आयात पनि घटेको छ । पेट्रोलियम पदार्थको आयात जुन अनुपातमा बढ्ने गरेको थियो , त्यो पनि रोकिएको छ । स्वदेशी सिमेन्ट बजारमा भारतीय सिमेन्टको दबदबा करिब ५० प्रतिशत थियो । तर, अहिले १० प्रतिशतभन्दा तल झरेको छ । विदेशी पर्यटकहरूको संख्या उल्लेख्य बढेको छ । वैदेशिक रोजगारीमा जानेहरूको वृद्धिदर घटे पनि डलरको मूल्य बढेका कारण रेमिट्यान्सको वृद्धिदर बढेको छ । वैदेशिक रोजागरीमा जानेहरूको संख्या घट्नुको अर्थ हो स्वदेशमा रोजगारीका थप अवसर सिर्जना भएको छ । चालु आर्थिक वर्षभित्र मेलम्ची खानेपानी आयोजना , माथिल्लो तामाकोसी जलविद्युत् आयोजना,गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगायतका केही ठूला आयोजनाहरू निर्माण सम्पन्न हुँदैछन् । यी आयोजनाहरूले प्रतिफल दिन सुरु गर्नासाथ मुलुकको आर्थिक वृद्धिदर सात प्रतिशतभन्दा माथि उक्लिने प्रक्षेपण गरिएको छ । अब यो सकारात्मक गतिलाई कम हुन नदिन सरकार गम्भीरतापूर्वक लाग्नु जरुरी छ ।

प्रतिक्रिया