सिरियाबाट सैनिक फिर्ता नगर्न अमेरिकाको आग्रह

वासिङटन । अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ ले बुधबार युद्धग्रस्त मुलुक सिरियाबाट अमेरिकी सैनिक फिर्ता गर्न नहुने प्रस्ताव पारित गरेको छ । संसदमा भएको मतदानमा सैनिक फिर्ता गर्न नहुने पक्षमा ३५४–६० ले पारित भएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुर्द–बहुल सिरियाली भूमिमा टर्कीले आक्रमण थालेसँगै केहीदिन अघि उत्तरपूर्वी सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णय गरेका थिए ।

संसदले पारित गरेको प्रस्तावमा अमेरिकी सरकारका विरोधी पक्षलाई लाभ पुग्ने गरी उत्तरपूर्वी सिरियाबाट अमेरिकी सेना फिर्ता हुनु ठीक होइन भन्दै राष्ट्रपतिको यस निर्णयबाट सिरिया, इरान र रुसलाई समेत असर पार्ने जनाइएको छ ।

साथै उत्तरपूर्वी सिरियामा रहेका सिरियाली कुर्दिस सैन्यबललाई अलपत्र छाड्नु सही नभएको भन्दै संसदले टर्कीले सिरियाभित्र जारी राखेको सैन्य कारबाही रोक्न पहल गर्नुपर्ने बताएको छ ।

संसदको प्रस्तावमा संसदमा डेमोक्राटिक र रिपब्लिकन दुबै पार्टीका ठूलो संख्याका सांसदहरुको समर्थन रहेको छ । संसदले पारित गरेको प्रस्तावमा कुर्दहरुलाई दिइरहेको सहयोग अमेरिकाले बन्द गर्न नहुनेमा जोड दिइएको छ ।अमेरिकी संसदले उत्तरपूर्वी सिरियामा जारी सैन्य कारबाही तत्काल रोक्न टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानलाई आग्रह गरिएको छ ।

राष्ट्रपति ट्रम्पको निर्णयका कारण टर्कीका सेनालाई सिरियाली भूमिभित्र कुर्द बहुल क्षेत्रमा आक्रमण गर्न सहज भएको आरोप लाग्दै आएको छ । इस्लामिक स्टेट्स विरुद्धको भिषण सैन्य कारबाहीका क्रममा कुर्द लडाकूहरुले अमेरिकी फौजलाई विगतमा ठूलो सहयोग गरेका थिए ।

प्रतिक्रिया