नेपाल र म्यान्माबीच पर्यटन तथा संस्कृतिसम्बन्धी समझदारी

म्यान्मा । म्यान्माको राजकीय भ्रमणमा रहकी राष्ट्रपति विद्यादेवी भण्डारी र म्यान्माका स्टेट काउन्सिलर आङ सान सु चीको उपस्थितिमा आज दुईपक्षीय वार्ता भई पर्यटन र संस्कृतिका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

म्यान्माको राजधानी नेपिटस्थित प्रेसिडेन्सियल हाउसमा भएको वार्तापछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यान्मा सरकारका अन्तरराष्ट्रिय सहयोगमन्त्री क्य तीनबीच ती दुई समझदारीपत्रमा हस्ताक्षर भई आदानप्रदान भएको हो ।

राष्ट्रपति भण्डारी म्यान्मा गणतन्त्र संघका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा बुधबार साँझ म्यान्माको राजधानी नेपित आइपुगेका थिए । राष्ट्रपति भण्डारी र स्टेट काउन्सिलर सु चीबीच उपहार आदानप्रदानसमेत गरिएको थियो ।

दुई राष्ट्रपतिबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र राष्ट्रपति विनबीच आजै प्रेसिडेन्सियल हाउसमा भेटवार्ता सम्पन्न भएको छ । राष्ट्रपति भण्डारीले सो हाउसमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेकी थिइन् । त्यसअघि आज बिहान सो हाउसको परिसरमा राष्ट्रपति भण्डारीलाई म्यान्माको सेनाले सम्मान गारद ‘गार्ड अफ अनर’ दिएको थियो ।

राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री ज्ञवाली, परराष्ट्र सचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीलगायत छन् । राष्ट्रपति भण्डारी कात्तिक ३ गतेसम्म म्यान्माको राजकीय भ्रमणमा रहनेछन् ।

प्रतिक्रिया