भारतमा नेपाली स्रष्टा सम्मानित

काठमाडौं । लघुकथाका क्षेत्रमा योगदान दिएका नेपाली तथा भारतीय स्रष्टालाई सम्मान गरिएको छ । भारतको हरियाणा राज्यको नारनौलमा मनुमुक्त मेमोरियल ट्रस्टको आयोजनामा भएको ‘इन्डो नेपाल लघुकथा सम्मेलन’ को अवसर पारेर दुई दर्जन बढी स्रष्टालाई सम्मान गरिएको हो ।

दुई सत्रमा सम्पन्न उक्त सम्मेलन १३ अक्टोबरमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा भारतका दश प्रान्त र नेपालका गरेर तीन दर्जन लघुकथाकारले भाग लिएका थिए । डा. पंकज गौडले सञ्चालनमा गरेको उक्त सम्मेलनमा हरियाणा कला परिषद्का निर्देशक अनिल कौशिकको अध्यक्षतामा सम्पन्न भएको थियो । सम्मेलनमा चौधरी वंशीलाल विश्वविद्यालय, भिवानीका रजिस्ट्रार डा. जीतेन्द्र्र भारद्वाज प्रमुख अतिथि रहेका थिए ।

पहिलो सत्रमा लघुकथाकार परिचयसहितको शुभकामना मन्तव्य संस्थाका प्रमुख अध्यक्ष डा. रामनिवास मानवले गरेका थिए भने डा. जीतेन्द्र भारद्वाजले प्रार्थना गीत प्रस्तुत वाचन गरे । समारोहमा भारतीय लघुकथा लेखनमा केन्द्र्रित रहेर डा. सतीशराज पुष्करणा, डा. सत्यवीर मानव र पुरुषोत्तम दुबेले भारतीय लघुकथाको विकासक्रम, इतिहास र सम्भावनाका बारेमा चर्चा गरे । उक्त अवसरमा भारतीय लघुकथा समीक्षा र सिर्जनासँग सम्बन्धित पुस्तकका साथै नेपाली साहित्यिक पत्रिका नवप्रज्ञापनको नवीनतम अंकको समेत विमोचन गरिएको थियो ।

सम्मेलनमा यसपटकदेखि प्र्रारम्भ गरिएको ‘मनुमुक्त मानव अन्तर्राष्ट्रिय लघुकथा पुरस्कार २०१९’ बाट डा. पुष्करराज भट्टलाई सम्मान गरियो । नेपाली लघुकथामा प्रथम विद्यावारिधि गरेका डा. भट्ट गोरखापत्र दैनिकअन्र्तगत नयाँ नेपाल डोटेली भाषाका पृष्ठ संयोजक एवं नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित हुने समकालीन साहित्य पत्रिकाका कार्यकारी सम्पादकका रूपमा कार्यरत् छन् ।

सो पुरस्कारमा सम्मानपत्र, दोसल्ला, अंगवस्त्र, मायाको चिनो र ११ हजार नगद रहेको छ । यस सम्मेलनमा गोरखापत्र दैनिकका प्र्रधानसम्पादक श्रीओम श्रेष्ठ रोदनका साथै नेपाली लघुकथाकार नवराज रिजाल, हरिप्रसाद भण्डारी, ध्रुव मधिकर्मीलगायत भारतका परिचित दुई दर्जनभन्दा बढी लघुकथाकारलाई ‘मनुमुक्त मानव लघुकथा गौरव सम्मान’ प्रदान गरियो ।

त्यस्तै, सम्मेलनको दोस्रो सत्रमा लघुकथा वाचन गरिएको थियो । उक्त सत्रको सञ्चालन कान्ता राय, सभाध्यक्ष अशोक जैन एवं प्रमुख अतिथि नेपाली लघुकथाकर, पूर्वप्रमुख जिल्ला अधिकारी हरिप्रसाद भण्डारी रहेका थिए ।

प्रतिक्रिया