सुपर ओभरको नियम परिवर्तन

एजेन्सी, लन्डन । इंग्ल्यान्डमा सम्पन्न एक दिवसिय विश्वकप फाइनलमा सुपर ओभर बाउन्ड्री काउन्ट विवादको तीन महिनापछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) ले नियम परिवर्तन गरेको छ । गत असारमा विश्वकप फाइनलमा इंग्ल्यान्ड र न्युजिल्यान्डबीचको फाइनल खेल टाई भएको थियो ।

सुपर ओभर पनि टाइ भएपछि इंग्ल्यान्डले बाउन्ड्री काउन्ट अर्थात् चौका छक्का बढी प्रहार गरेको आधारमा विश्वकप जितेको थियो । जसको विश्वभर आलोचना भएको थियो । धेरै क्रिकेट विश्लेषकले संयुक्त रुपमा विजेता घोषणा गर्नु पर्ने धारणा राखेका थिए ।

आइसिसीले बाउन्ड्री काउन्टको नियम परिवर्तन गरेको सोमबार प्रेस विज्ञप्तीमार्फत जानकारी दिएका छ । आइसिसीले आयोजना गरेको कुनै पनि प्रतियोगिताको सेमिफाइनल र फाइनल खेलको सुपर ओभर टाई भए पुनः अर्को सुपर ओभर हुने छ । अब बाउन्ड्रीको प्रहारको आधारमा कुनै पनि टोली च्याम्पियन वा फाइनलमा पुग्न छैन । सुपर ओभर टाई भए एक टोलीले बढी रन नबनाएसम्म सुपर ओभर चलिरहने छ ।

प्रतिक्रिया