कलामा नेपालको विविधता

काठमाडौं । गैरआवासीय नेपालीहरूको सम्मेलनको अवसर पारेर राजधानीमा पहिलो एनआरएनए कला प्रदर्शनी सुरु गरिएको छ । क्यानभास आर्ट ग्यालरी ठमेलले आयोजना गरेको प्रदर्शनीमा ३८ जना कलाकारका पाँच दर्जनभन्दा बढी चित्र तथा मूर्ति राखिएको छ ।

प्रदर्शनीको उद्घाटन गर्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले गर्दै कला र संस्कृतिले मानव समुदायलाई विश्वसँग जोड्ने बताए । उनले पहिलो एनआरएनए कला प्रदर्शनीले नेपाली कलालाई अन्तर्राष्ट्रियकरण गर्न विशेष महत्व राख्ने धारणा व्यक्त गरे ।

उनले भने, ‘गैरआवासीय नेपालीले नेपाली कलालाई अन्तर्राष्ट्रिय क्षेत्रमा लैजान महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले यो प्रदर्शनीको विशिष्ट महत्व रहेको छ । नेपाली कलाको प्रवद्र्धनमा एनआरएनएको साथ र सहयोग महत्वपूर्ण हुने भएकाले आगामी दिनमा प्रतिष्ठानले मिलेर काम गर्ने विश्वास व्यक्त गर्दछु ।’

त्यस्तै, प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले नेपाली कलालाई विश्वमाझ लैजान एनआरएनएको भूमिका महत्वपूर्ण रहने भएकाले यो प्रदर्शनीले सेतुको काम गर्ने धारणा राखे । प्रतिष्ठानका सदस्य सचिव विपिनकुमार घिमिरेले नेपाली कलाको विशिष्टतालाई अन्तर्राष्ट्रियकरण गर्न यो प्रदर्शनी महत्वपूर्ण हुने बताए । उनले भने, ‘कला र संस्कृतिलाई नेपालबाट विश्वका विभिन्न स्थानमा पुगेका नेपालीले प्रचार प्रसार गर्ने र चिनाउने काममा विशिष्ट भूमिका निर्वाह गर्नसक्ने भएकाले आगामी दिनमा यस्ता प्रदर्शनीको महत्व झनै बढेर गएको छ ।’

पछिल्लो समय एनआरएनएको कलाप्रतिको लगाव बढेकाले नेपाली कला र संस्कृतिको प्रवद्र्धनमा निकै सहयोग मिल्ने प्राज्ञ एवं क्यानभास आर्ट ग्यालरीका सञ्चालक लालकाजी लामाले बताए । उनले नेपाली कलाको विश्वव्यापीकरणमा एनआरएनएले अझै प्रभावकारी र विशिष्ट भूमिका खेल्न सक्ने भनाइ राखे । प्राज्ञ लामाले भने, ‘कला र संस्कृतिले नेपाल र नेपालीको पहिचानलाई विश्वव्यापी बनाउने भएकाले यस प्रदर्शनीको भूमिका विशेष रहेको छ ।’ उनले आगामी दिनमा एनआरएनएले विश्वका विभिन्न मुलुकमा नेपाली कलाको प्रदर्शनी गर्ने विश्वास व्यक्त गरे ।

त्यसैगरी प्राज्ञ रमेशनाथ खनालले प्रदर्शनीमा राखिएका कलाले नेपालको पहिचानलाई चिनाउन सकेको विचार व्यक्त गरे । कलाकार तथा कला लेखक केशव राज खनालले समीक्षात्मक मन्तव्य राख्दै प्रदर्शनीमा राखिएका कलाकृतिले समकालीन नेपाली परिवेशलाई उधिनेको जिकिर गरे । उनले प्रदर्शनीमा राखिएका चित्र तथा मूर्तिले नेपालीपन र पहिचानलाई शिल्पगत, शैलीगत तथा विचारगतरूपमा समेट्न सकेको बताए ।

उक्त अवसरमा नेपाली कला क्षेत्रमा विशिष्ट योगदान दिएका कलाकार तथा ललितकला केन्द्रीय विभागका उपप्राध्यापक उमाशंकर शाह र प्राध्यापक एवं एनआरएनए आसिसीका अध्यक्ष राजु मानन्धरलाई सम्मान गरिएको थियो ।

प्रदर्शनीमा प्रतिष्ठानका कुलपति केके कर्माचार्य, उपकुलपति गोपाल चित्रकार, सदस्य सचिव विपिनकुमार घिमिरे, प्राज्ञ लालकाजी लामा, सुषमा राजभण्डारी, बुद्धि गुरुङ, रमेश खनाल, मिथिलादेवी यादव, उमाशंकर साह, डा. सीमा शर्मा साह, नरेन्द्रबहादुर श्रेष्ठ, देवेन्द्र थुम्केली, केशवराज खनाल, सञ्जय बान्तवा, कृष्णप्रकाश शाह, राजु पिठाकोटे, राजु मानन्धर, भीमबहादुर श्रेष्ठ, एनबी गुरुङ, बाबु साइला, दामोदर बराल, तमबहादुर पुन, दिनेश्वर महतो, विक्रम प्रजापति, राजुमुनि ब्रज्राचार्य, नेमबहादुर गोले, हरिराम अधिकारी, अनमारी तामाङ, पुजन खतिवडा, मनबहादुर बल, प्रमिला परियार, किशोर नकर्मी, सुरेम देशार लगायतका कलाकृति राखिएको छ । एक हप्तासम्म चल्ने प्रदर्शनीको सहआयोजक एनआरएनए तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहयोग रहेको छ ।

प्रतिक्रिया