रारादेखि छायानाथ धामसम्म हेलिकोप्टर सेवा

मुगु । दुई महिनाअघि सुरु गरिने भनिएको रारादेखि छायानाथ धाम हवाई प्याकेजको मंगलबार परीक्षण उडान गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी मंगलवार सदरमुकाम गमगढीदेखि छायानाथसम्म सिम्रिक एयरको नाईन एन एएलपी कल साइन हेलिकोप्टरबाट परीक्षण उडान सम्पन्न गरिएको हो ।

परीक्षण उडानका क्रममा संघीय संसद्का सदस्य गोपालबहादुर बम, कर्णाली प्रदेश पर्यटन प्रर्वद्धन समितिका संयोजक राजु कार्की, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, नेपाल पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्रबहादुर मल्लको टोली रारा छायानाथ प्याकेजको परीक्षण उडानमा सहभागी भएका थिए । परीक्षण उडानपछि गमगढीमा संक्षिप्त प्रतिक्रिया दिँदै संघीय संसद्का सदस्य गोपालबहादुर बमले अब मुगुको पर्यटकीयस्थल रारा मात्रै नभएर धार्मिक स्थल छायानाथ माथिल्लो मुगु पनि पर्यटकीय गन्तव्यका रूपमा सूचीकृत हुनसक्ने बताए ।

रारा घुम्न आउने पर्यटकले रारामा स्नान गरी पवित्र तीर्थस्थल छायानाथ घुम्न चाहेमा हेलिकोप्टर प्याकेज सञ्चालन गरिनु पर्यटन प्रर्वद्धनमा निकै सहयोग मिल्ने बमको भनाइ छ । विशेषगरी छायानाथ धाम बौद्ध धर्मावलम्वी र हिन्दू धर्मावलम्वीहरूले आआफ्नै शैलीमा पुज्ने भएकाले पनि धार्मिक पर्यटनको निकै सम्भावना भएको सांसद बमले बताए ।

नेपाल भ्रमण वर्षमा रारा–छायानाथ प्याकेज मात्रै नभई से–फोक्सुण्डो–रारा, रिभर टु रिभर, कान्जिरोवा–सैपाल माउन्टेन फ्लाइट, रारा–सिमिकोट–हिल्सा टुर्स लगायतका कर्णाली प्रदेशका धार्मिक तथा पर्यटकीय स्थलमा विभिन्न कार्यक्रम सञ्चालन गरिने कर्णाली प्रदेश पर्यटन प्रर्बद्धन समितिका संयोजक राजु कार्कीले बताए ।

दुई महिनाअघि साउनबाट प्याकेज सञ्चालन गर्ने भनिए पनि प्रतिकूल मौसमका कारण प्याकेज सञ्चालन हुन नसकेको उपयुक्त मौसम असोजदेखि जेठसम्म हवाई प्याकेज उपयुक्त देखिएको कार्कीको भनाइ छ । राराबाट छायानाथ पुगेर पुन रारा फर्किन एक पटकमा चारदेखि पाँच जना हेलिकोप्टरमा जान सक्ने देखिएको सिम्रिक एयरका चालक हरेराम थापाले बताए ।

राराबाट छायानाथ र छायानाथबाट रारा पुग्न ३० मिनेटको समय लाग्दछ भने प्याकेजका लागि २५ देखि ३५ हजार खर्च लाग्ने जनाइएको छ । छायानाथ पुग्दा मुगुकमारोङ गाउँपालिका र छायानाथ रारा नगरपालिकाका मनोरम रमणीय स्थलकोे पनि अवालेकन गर्न सकिने बताइएको छ ।

कर्णाली अञ्चलको मुगु जिल्लाको पूर्वी क्षेत्र डोल्फु गाविसमा पर्ने छायानाथ धाम पुस्तौदेखि नै दुई धर्मावलम्बीको संगमस्थल बनेको छ । छायानाथको स्थापना, त्यसको धार्मिक तथा पौराणिक महत्वका विषयमा बौद्ध धर्म र हिन्दू धर्मका धर्मावलम्वीले आआफनै विश्लेषण र तर्क गरिरहेका छन् । मुगु जिल्लाको सदरमुकाम गमगढीदेखि तीन दिनको पैदल यात्रापछि पुगिने छायानाथ धाम समुन्द्री सतहदेखि पाँच हजार मिटर माथिको उचाइमा अवस्थित छ । केदारनाथ, बद्रिनाथ, पशुपतिनाथभन्दा छायानाथलाई जेठो धामका रूपमा मानिन्छ भने यसको अर्को स्वरूप मानसरोवर पनि हो ।

छायानाथबाट रारा ताल हेर्न सकिन्छ भने कान्जिरोवा लगायतका हिमालहरूको समेत दृश्यावलोकन गर्न सकिन्छ । महादेवले शतिदेवीको शव बोकेर राराको बाटो हुँदै छायानाथ गएकाले छायानाथ धाम र हिमालको प्रतिविम्व रारामा पर्ने भएकाले कतिपयले रारालाई समेत तीर्थस्थलका रूपमा मान्ने गर्दछन् । हरेक १२ वर्षमा बाँदर वर्षका रूपमा बौद्ध धर्मालम्वीले छायानाथको जन्म वर्ष मनाउने गर्दछन् । यो वेला परम्परागत पहिरन लगाएर बुढापाकादेखि बालबच्चा सबै छायानाथ जाने गर्दछन् । छायानाथमा पुगेर नाचगान पूजापाठ गर्ने पनि गर्दछन् ।

यता हिन्दू धर्मावलम्बीले पनि जनैपूर्णिमाका वेला नै छायानाथमा पुगेर, शिवको रूप मानेर पूजापाठ गर्ने, आआफ्ना कुलदेवताका मूर्तिहरू नुहाएर शुद्ध पार्ने कामसमेत गर्दछन् । छायानाथको पानीलाई शुद्ध तथा जल मानेर ल्याउने र फलफूलका रुखमा छर्ने, छायानाथ पुग्न नसकेककाहरूलाई जल दिने गर्दछन् ।

देवीदेवताका मूर्तिहरू छायानाथबाट शुद्ध पारेर ल्याएपछि जनै पूर्णिमाको बिहान आफ्नो गाउँमा पुगेर देवीदेवताको पूजापाठ र धामी नाच्ने वैदिक परम्परा छ । धार्मिक ग्रन्थ किंवदन्तीअनुसार महादेवले शतिदेवीको मृत शरीरलाई बोकेर डुल्दै जाने क्रममा शतिदेवीको अन्तिम शेष पतन भएको स्थान नै छायानाथ धाम हुन पुगेकाले हिन्दूको पवित्र धाम मानिएको विश्वास गरिँदै आएको छ । छायानाथ दर्शन गर्दा मनले सोचेको कुरा पूरा हुने, देवीदेवता पाइने र पूण्य कमाउने भन्दै हजारौं तीर्थयात्री छायानाथ पुग्ने गर्दछन् ।

भारतको काशी जानु पहिले छायानाथको दर्शन गर्नुपर्ने हिन्दूहरूको मान्यता छ । कासी दर्शन गर्न जाँदा त्यहाका पण्डितले छायानाथ गएको छ कि छैन भनेर सोध्ने र नगएको भए बालुवाको थुप्रोले छायानाथको प्रतिक बनाएर दर्शन गराएपछि मात्र कासीको दर्शन गराउने गरेको ब्राह्मणको भनाइ छ ।

प्रतिक्रिया