एम्बुलेन्स खरिदका लागि सांस्कृतिक कार्यक्रम

बुटवल । रोटरी क्लब अफ सेन्ट्रल बुटवलको आयोजनामा बुटवलमा साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

क्लबले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी आइसियू, सिसियू सहितको एम्बुलेन्स खरिदका लागि सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको जानकारी गराएको हो । क्लबका अध्यक्ष राजेन्द्र कार्कीले प्रदेशमा पहिलोपटक आइसियू, सिसियूको एम्बुलेन्स सेवाका लागि २३ कात्तिकमा सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको बताए ।

बुटवल मण्डपमा हुने सांस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने बताइएको छ । कुल १० लाख रुपैयाँ खर्च अनुमान गरिएको कार्यक्रमबाट ६० लाखभन्दा बढी रकम संकलन हुने अपेक्षा गरिएको सांस्कृतिक कार्यक्रमका संयोजक दिनेशराज रेग्मीले बताए ।

रोटरी क्लब अफ भैरहवा, रोटरी क्लब अफ तिनाउ, बुटवल रोटरी क्लब अफ लुम्बिनी स्टार्स, रोट्¥याक्ट क्लब अफ सेन्ट्रल बुटवल, रोट्¥याक्ट क्लब अफ सेन्ट्रल रूपन्देही, रोट्¥याक्ट क्लब अफ जिबिसी बुटवल, रोट्¥याक्ट क्लब अफ तिनाउ बुटवल, रोट्¥याक्ट क्लब अफ भैरहवा र इन्ट्¥याक्ट क्लब अफ जनता माविको सहआयोजनामा सांस्कृतिक कार्यक्रम हुन लागेको हो । प्रदेशका कुनै पनि अस्पतालमा समेत आइसियू र सिसियू सहितको एम्बुलेन्स सेवा नभएकाले अत्याधुनिक सेवा सुविधा सहितको एम्बुलेन्स खरिदका लागि सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको रोटरी डिस्ट्रिक ३२९२ का एजी एजाज आलमले बताए ।

उक्त एम्बुलेन्समा भेन्टिलेटर, डिफिबेलेटर, मोनिटर, सक्सन सिरिन्ज पम्प लगायतका उपकरण जडान हुनेछन् । करिब ६० लाखको लागतमा उक्त एम्बुलेन्स खरिद गर्ने बताइएको छ । उक्त कार्यक्रमका लागि १० हजार, ५ हजार र ३ हजारका टिकटहरू बिक्रि गरिने आयोजनाको भनाइ छ ।

प्रतिक्रिया