सकियो कप्तानी पारी

काठमाडौं । नेपाली क्रिकेटलाई विश्वको सर्वोच्च मञ्चसम्म पुर्याउन सफल पारस खड्काले कप्तानबाट राजीनामा दिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले साढे तीन वर्षे लामो प्रतिबन्ध हटाएको भोलिपल्टै पारसले कप्तानी पारी समाप्त गरेको घोषणा गरेका हुन् ।

उनले आफू पहिलेबाटै नै कप्तानीबाट हट्नुपर्छ भन्ने मानसिकता बनाइसकेको र उपयुक्त अवसरको पर्खाइमा रहेको बताएका छन् । मंगलबार बिहान सामाजिक सञ्जालबाट ‘अप्रत्यासित’ रूपमा राजीनामाको घोषणा गरेका ३१ वर्षीय पारसले दिउँसो अनौपचारिक पत्रकार सम्मेलन गरेका थिए ।

१० वर्ष नेपाली टोलीको नेतृत्व गरेका पारसले नेपाल क्रिकेट संघको नयाँ नेतृत्व आएको र आइसीसीको निलम्बन फुकुवा भएको अवस्थामा भविष्यमा नेपाली क्रिकेटलाई नयाँ उचाइबाट अगाडि बढाउन मार्ग प्रशस्त गरेको जानकारी गराए । ‘मलाई जहिले पनि उच्च स्थानमा हुँदा नै छोड्न मन थियो, मलाई लाग्यो नयाँ नेतृत्व आएको वेला यो सही समय हो’, उनले भने, ‘क्रिकेट छोडिहाल्ने होइन, म खेलाडीको रूपमा अझै योगदान गर्न सक्छु ।’

उनले यो राजीनामा अप्रत्यासित नभएको बताएका छन् । नेपाली क्रिकेटलाई अब नयाँ तरिकाबाट अगाडि लैजानुपर्नेमा आफ्नो मत रहेको पनि सञ्चारकर्मीलाई बताए । ‘साढे ३ वर्षदेखिको आइसीसीको निलम्बन फुकुवाको मिति कुरेको थिएँ, हिजो (सोमबार) फुकुवा भएसँगै मैले राजीनामा सार्वजनिक गरेको हुँ’, पारसको भनाइ थियो ।

सञ्चारकर्मीसँग प्रस्तुत हुँदा उनले व्यक्तिभन्दा पनि समग्र क्रिकेटको विकासमा बढी जोड दिएका थिए । क्रिकेट संघले पारसलाई २००९ मा कप्तानीको जिम्मेवारी दिएको थियो । ‘अब कप्तान को बन्नुपर्छ भन्ने कुरा क्रिकेट संघका पदाधिकारीहरु, प्रशिक्षक र छनोटकर्ताले लिनुपर्छ । जो बने पनि नेपाल क्रिकेटको जित हुनुपर्छ’, उनले भने, ‘म कप्तान भएर नेपाली क्रिकेट यहाँ आइपुगेको होइन । म कप्तानीबाट हट्दैमा नेपाली क्रिकेट खत्तम हुन्छ भन्ने पनि छैन । क्रिकेट भनेको हामी सबैको हो ।’

नेपाल क्रिकेट संघको नवनिर्वाचित कार्यसमितिसँगको असहमतिका कारण राजीनामा दिएको आरोपलाई पारसले अस्वीकार गरेका छन् । ‘उहाँहरुले गर्ने र मैले गर्ने जिम्मेवारी फरक छ । तर, दुईबीच समन्वय हुनुपर्छ । उहाँहरु क्रिकेटको विकासका लागि आउनुभएको छ भने मेरो के आपत्ति रहन्छ र ?’ उनले प्रतिप्रश्न गरे ।

नेपाल क्रिकेट संघ (क्यान)ले पारसको राजीनामाका विषयमा आधिकारिक रूपमा केही बताएको छैन । यद्यपि उनले अब कप्तानका रूपमा भने टोलीमा नफर्किने घोषणा गरे । तर, खेलाडीका रूपमा अझै पनि टोलीलाई केही योगदान गर्ने चाहाना रहेको बताएका छन् । पारसकै नेतृत्वमा नेपाली टोलीले बंगलादेशमा सन् २०१४ मा भएको टि–ट्वान्टी विश्वकप क्रिकेट खेलेको थियो । पारस कप्तान हुँदा नै नेपालले एकदिवसीय र टि–ट्वान्टी राष्ट्रको मान्यता प्राप्त गरेको थियो । पारसले पनि यी दुई क्षण आफ्ना लागि अविस्मरणीय रहेको प्रतिक्रिया दिएका छन् ।

एकदिवसीय मान्यता पाएपछि गत जनवरीमा पहिलो श्रृंखला उनकै नेतृत्वमा जितेको थियो । युएईविरुद्ध उसैको भूमिमा नेपालले हराएको थियो । जहाँ पारसले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शतक बनाएका थिए । यस्तै उनले अन्तर्राष्ट्रिय टि–ट्वान्टी क्रिकेटमा पनि सिंगापुरविरुद्ध पहिलो शतकको कीर्तिमान बनाएका थिए । सन् २००२ मा यु–१५ टोलीबाट क्रिकेट खेल्न थालेका उनले सन् २००९ देखि नेपाली राष्ट्रिय टोलीको नेतृत्व गर्दै आएका थिए ।

पारस खड्काले नेपालको तर्फबाट ६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय एवं २७ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । उनले नेपालको राष्ट्रिय टोलीबाट ४० वटा अन्य एकदिवसीय खेल र ५० वटा टी–२० खेल खेलेका छन् । उनले नेपालको यु–१५ र यु–१७ टोलीहरूमा खेल्नुको साथै तीन पटक यु–१९ विश्वकप खेलेका छन् ।

प्रतिक्रिया