व्यापारीका सुन विभागबाटै गायब

काठमाडौं । व्यापारीबाट नमुनाका लागि संकलन गरेको सुन तत्कालीन वाणिज्य तथा आपूर्ति विभागबाट गायब भएको तथ्य बाहिर आएको छ । गुणस्तर चेकजाँचका लागि भन्दै ल्याएको सुन गायब बनाएको तथ्य बाहिर आएको हो ।

विभागले करिब एक सय व्यापारीसँग प्रति व्यापारी एकदेखि दुई तोला सुन परीक्षणका लागि ल्याउने गरेको व्यवसायीहरूले बताएका छन् । तर, परीक्षण गरेर रिपोर्ट आए पनि सुन भने फिर्ता नगरेको नेपाल सुन चाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले बताए । यता, विभागले पनि सुन फिर्ता नगरेको स्वीकार गरेको छ । २०६९ सालदेखि परीक्षणका लागि ल्याइएका करिब सयवटा सुन पसलका सुन गायब पारिएको हो । महासंघका अनुसार उपत्यकाका ४० र उपत्यका बाहिरका करिब ६० वटा सुनचाँदी पसलबाट परीक्षणका लागि नमुना संकलन गरिएको थियो ।

एउटा पसलबाट १ देखि २ तोलासम्म सुन नमुनाका लागि भनेर अनुगमनमा खटिएका विभागका कर्मचारीले लगेका थिए । विभागको तत्कालीन नेतृत्वले सुन गायब बनाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले बताए । उनले व्यापारीबाट ल्याएको सुन फिर्ता नगरिएको विभागको तथ्यांकबाट देखिएको जानकारी दिएका छन् । उनले त्यस विषयमा विभागले छानबिन गर्ने र दोषीलाई कारबाही गरिने प्रतिवद्धता व्यक्त गरेका छन् । अनुगमनमा गएका कर्मचारीले सुन ल्याएका हुन् । फिर्ता गरेका छैनन् भन्ने सही हो । अहिले म आएपछि त्यस्तो भएको छैन । कसकसको पालामा त्यस्तो भएको रहेछ म छानबिन गर्छु’, महानिर्देशक गौचनको भनाइ छ ।

तत्कालीन वाणिज्य तथा आपूर्ति विभागमा सुन उठाइएको समयमा गोकुलप्रसाद धिताल, कुमार दाहाल र नारायणप्रसाद विडारी महानिर्देशक थिए । यस्तै अनुगमन शाखामा निर्देशक लक्ष्मण श्रेष्ठ र हरिनारायण बेल्वासे थिए । दुई वर्षअघि वाणिज्य तथा आपूर्ति विभागको नाम परिवर्तन गरेर वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग बनाइएको थियो ।

प्रतिक्रिया