गाडिएकी शिशु ४८ घण्टासम्म जीवितै !

एजेन्सी । माटाकोे भाँडोमा ३ फिट जमिनमुनि पुरिएकी नवजात शिशुलाई ४८ घण्टापछि जीवितै उद्धार गरिएको घटनाले सबै आश्चार्यचकित भएका छन् । मसानघाटमा कसैले गाडेर छोडेको ती शिशु ४८ घण्टासम्म कसरी जीवित रहन सकिन् भन्ने चिकित्सा विज्ञानकै लागि अनुसन्धानको विषय भएको छ ।

भारतको उत्तर प्रदेश राज्यको बरेलीब जिल्लाको एउटा निजी अस्पतालमा हाल उनको उपचार भइरहेको र उनको स्वास्थ्यमा क्रमिक सुधार पनि देखिन थालेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । शिशु जमिनमुनि पुरिएको यतिका समयसम्म कसरी जीवित रहिन् भन्ने कुरामा चिकित्सकहरू पनि आश्चार्यमा परेको नवभारत टाइम्सको समाचारमा उल्लेख छ ।

घटना गत बिहीबारको हो । एउटा परिवार आफ्नो मृत छोरीको अन्त्येष्टि गर्ने क्रममा मसानघाटमा खाल्डो खन्नेक्रममा ती शिशु भेटिएकी हुन् । बरेलीको सिविगञ्ज इलाकाका हितेशकुमारले आफ्नी मृत छोरीको दाहसस्कार गर्नका लागि खाडल खन्दा ती शिशु भेटिएकी बताए ।

आफ्नी मृत छोरीको अन्त्येष्टि गर्न खाडल खन्नेक्रममा बच्ची रोएको आवाज हितेशले सुने । त्यसपछि उनले आवाज आएकै स्थानमा खन्न सुरु गरे । करिब तीन फिट खनेपछि एउटा माटोको भाडाबाट त्यो आवाज आएको पाएपछि शिशुलाई उद्धार गरी अस्पताल पु¥याएका थिए ।

शिशुको उपचारमा संलग्न चिकित्सकका अनुसार शिशुलाई ट्युबमार्फत खाना दिइएको छ । सुधारको संकेत देखिए पनि अहिले नै यकिन गर्न सकिन्न । ‘४८ घण्टाभन्दा बढी पुरिएर ज्यँुदै रहेका कारण शिशुको शरीरको खैरो बोसोसमेत जलिसकेको छ । खैरो बोसो, एसिड र ग्लुकोजले शरीरलाई जस्तै चिसोमा पनि जोगाएर राख्न मद्दत गर्छ’ उपचारमा संलग्न डा. खन्नाले भने ‘यी प्रिमेच्योर शिशु हुन् । जसको गर्भनाल पहिल्यै झरीसकेको छ । जसको प्लेटनेट संख्या सामान्य ढेडलाखभन्दा तल झरेर १० हजारमा पुगेको छ , तर पनि शिशु बाच्ने संकेत देखिएको छ ।’

सुरुमा सरकारी अस्पतालमा भर्ना गरिएकी ती शिशुलाई बाल कल्याण समितिको अनुमतिमा सुविधा सम्पन्न निजी अस्पतामा सारिएको हो । शिशुको उपचारका लागि त्यहाँका विधेयक राजेश मिश्राले पहल थालेका छन् । मिश्राले उपचारका लागि सहयोग गर्न सार्वजनिक अपील गरेका छन् ।

यस घटनाको प्रहरीले अनुसन्धान थालेको र अज्ञात अभिभावकविरुद्ध शिशु हत्याको मुद्दा दर्ता गरेको छ । हालसम्म अभिभावकको पत्ता नलागेको बरेली प्रहरी प्रमुख एसएसपी शैलेश पाण्डेले बताएका छन् ।

प्रतिक्रिया