सांसद नै धमाधम खोरमा

काठमाडौं । राजनीतिक आडमा हुने अपराध अब धमाधम प्रहरीको अनुसन्धान दायरामा पर्न थालेका छन् । विगतमा आक्कल झुक्कल मात्र राजनीतिक कर्मीहरू आपराधिक पृष्ठभूमिमा पक्राउ पर्ने गरेका थिए । तर, पछिल्लो समय अब अपराध गरेपछि जो सुकै भए पनि कानुनको कठघरामा उभिनुपर्ने सन्देश प्रवाह हुन थालेको छ । प्रहरीले एकपछि अर्को गर्दै उच्चपदस्थ व्यक्तिलाई नै पक्राउ गर्न थालेपछि विधिको शासन बस्न थालेको आभास हुन थालेको हो ।

पछिल्लो समय सभामुख समेत गरी तीन सांसद बेग्लाबेग्लै कसुरमा प्रहरी हिरासतमा पुगेका छन् । तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुव्र्यवहारमा, त्यसैगरी हत्या अभियोगमा नेपाली कांग्रेसका सांसद मोहम्मद् अफताब आलम अनि राष्ट्रिय जनता पार्टीका सांसद प्रमोदकुमार साह बुद्ध एयरको काउन्टर तोडफोडमा पक्राउ परेका हुन् । तीनै जनालाई अदालतको अनुमति लिएर प्रहरीले पक्राउ गरेको हो ।

उच्चपदस्थ व्यक्ति पक्राउ पर्नेमा भने महरा नै पहिलो हुन् । अहिलेसम्म प्रहरीले बहाल रहेका उच्चपदस्थ अधिकारी समात्न सकेको थिएन । मर्यादाक्रममा पाँचाैँ नम्बरमा पर्ने सभामुख नै पक्राउ परेपछि कानुनभन्दा माथि कोही नहँुदो रहेछ भन्ने देखिन थालेको छ । विगतमा राजनीतिक आडमा जस्तो सुकै अपराध गर्न पनि छुट रहेको आम नागरिकले बुझ्ने गर्दथे । तर, अहिले अवस्था फेरिन थालेको छ ।

घटनामा मुछिएपछि अनुसन्धानको दायरा प्रहरीबाट सुरु हुने गर्दछ । तर, प्रहरी नै राजनीतिक प्रभावमा परेपछि घटना अदालतसम्म पुग्ने गरेकै थिएन । अदालत पुग्नु अगावै प्रहरीमै गुपचुप राख्ने गरिएको थियो । तर, अहिले प्रहरीले धमाधम अदालतबाट म्याद थप गर्दै अन्तिम फैसलाका लागि मुद्दा दायर गर्न सुरु गरेको छ । प्रहरीले पक्राउ गरे पनि आरोपीहरूले अपराधअनुसारको सजाय पाउछन् वा पाउँदैनन् भन्ने निक्र्यौल भने अदालतले गर्नेछ । निर्दोष भए रिहा र दोषी भए अदालतले अन्तिम सजाय सुनाउने छ ।

महरालाई १३ दिन म्याद थप
निवर्तमान सभामुख महरालाई जिल्ला अदालत काठमाडौंले १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । पक्राउ परेबाट १३ दिन म्याद थप गरेकाले प्रहरीले कातिक १ गतेसम्म मात्र थुनामा राख्न पाउनेछ । प्रहरीले महरालाई असोज १९ गते सभामुख निवासबाटै पक्राउ गरेको थियो ।

दसैंको लामो विदापछि अदालत खुलेको पहिलो दिन मंगलबार अदालतमा पेश गरेको थियो । स्वास्थ्यमा समस्या देखिएपछि अस्पालमा रहेका उनलाई मंगलबार बिहान जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएको थियो । त्यहाँ केही समय बयान लिएपछि महरालाई अदालतमा पेश गरिएको थियो । न्यायाधीश दीपककुमार दाहालको एकल इजलासले महरालाई शुक्रबारसम्म हिरासतमा राख्न अनुमति दिएको हो ।

सरकारी वकिलका तर्फबाट बहस गर्दै अधिवक्ता उमाकान्त पौडेलले महरालाई १३ दिन हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थप गर्न माग गरेका थिए । महराका तर्फबाट पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ र अधिवक्ता मुरारी सापकोटाले बहस गरेका थिए । महरामाथि संघीय संसद् सचिवालयमा कार्यरत महिलाले यौन दुव्र्यवहारको आरोप लगाएकी थिइन् ।

प्रहरीले घटनास्थल पीडित महिलाको कोठाको भिडियो खिचेर भिडियो फुटेजलाई पनि आवश्यक प्रमाणका रूपमा पेश गर्ने जनाएको छ । कोठामा भेटिएका सामानको जाँच, ब्लड स्याम्पल लिएर डीएनएलगायतका फरेन्सिक परीक्षणको कार्य सकिएको प्रहरीले जनाएको छ । प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा परीक्षण गरेर रिपोर्ट समेत आइसकेको प्रहरी स्रोतले जानकारी दिएको छ । बयान सकेर चाँडै मुद्दा दर्ता गर्ने तयारीमा प्रहरी जुटेको छ ।

आलाम सात दिन थुनामा
रौतहटको राजपुर बम विस्फोट घटनाको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद मोहमद अफताब आलमलाई सात दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत रौतहटले मंगलबार अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिदिएको हो । जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङले हत्या जस्तो जघन्य अपराधको अभियोग लागेका सांसद आलमलाई ७ दिनको म्याद थपको आदेश गरेका हुन् ।

सांसद आलमले घटनाको १२ वर्ष पछि बिना प्रमाण आफूलाई पक्राउ गरेको न्यायाधीश सामु दाबी गरेका थिए । तर, अदालतले उनको बयानलाई इन्कार गरेको थियो । उनलाई अदालत पेश गर्नेक्रममा प्रहरीले गौरको सुरक्षा व्यवस्था निकै कडा बनाएको थियो । २०६४ चैत २७ गते राति अहिलेको राजपुर नगरपालिकाको फरदवा गाउँमा भएको बम विस्फोट र त्यसका घाइतेलाई इँटा भट्टामा जलाएर मारको आरोपमा अनुसन्धानका लागि असोज २६ गते आइतबार पक्राउ गरेको थियो । उनी नेपाली कांग्रेसका नेता तथा रौतहट क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभाका सांसद हुन् ।

२०६४ सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनलाई लक्षित गरेर बम बनाउँदै गर्दा बम विस्फोट हुँदा त्यहाँ केही मानिसको मृत्यु भएको थियो भने २३ जना बढी घाइते भएका थिए । प्रमाण नष्ट गर्नका लागि घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा किटानी जाहेरी परेपछि उनलाई प्रहरीले खोजी गरेको थियो ।

तोडफोड गर्ने सांसद पनि पक्राउ
बुद्ध एयरको टिकट काउन्टर तोडफोड गरेको भन्दै प्रतिनिधिसभाका सांसद प्रमोद साहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गर्न पत्र काटेको केही घण्टामै सांसद साह काठमाडौंबाट पक्राउ परेका हुन् ।

काठमाडौं बाहिर जान लागेका सांसद साहलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान भवनबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई मंगलबार नै जनकपुर पु¥याइएको छ । जनकपुर पु¥याउन ढिला भएपछि बुधबारमात्र अदालतमा म्याद थपका लागि लगिने जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

जहाज डिले भएको झोकमा जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गर्ने सांसदसाहलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय धनुषाले मंगलबार नै पत्र काटेको थियो । काठमाडौंमा रहेका सांसद साहलाई पक्राउ गरेर बुझाउन जिल्ला प्रहरी कार्यालय धनुषाले महानगरीय प्रहरी कार्यालयलाई मंगलबार पत्र लेखेको केही घण्टामै पक्राउ परेका हुन् ।

गैरसैनिक हवाई उडान ऐनमा विमानस्थल क्षेत्रभित्र यस्ता कुनै पनि गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ । ऐनको दफा ९ (च) मा ‘विमानस्थल तथा विमानस्थल क्षेत्रभित्र वा बाहिर’ रहेका उपकरणहरू र मालसामान तोडफोड गरे ‘विमानस्थल सुरक्षाविरुद्धको अपराध गरेको मानिने’ उल्लेख छ । उक्त दफाअनुसार त्यस क्षेत्रका कुनै उपकरण वा मालसामानलाई ‘कुनै पनि प्रकारले पूर्ण वा आंशिक रूपमा बिगारे, भत्काए, क्षति पु¥याए वा नष्ट गरेमा’ अपराध मानिने लेखिएको छ । यस्तो कार्य गर्नेलाई ‘नोक्सानी बिगो भराई निजलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद हुने’ ऐनमा व्यवस्था छ ।

प्रतिक्रिया