ललितपुर फाल्कोन्सको जर्सी सार्वजनिक

काठमाडौँ । वुमेन च्याम्पियन्स लिग (डब्लुसिएल) को फ्रेन्चाइज टिम ललितपुर फाल्कोन्सले जर्सी तथा ट्यालेन्ट हन्टबाट छानिएका खेलाडी सार्वजनिक गरेको छ । काठमाडौंमा आज (सोमबार) कार्यक्रमको आयोजना गरेर टिमले जर्सी, ट्यालेन्ट हन्टबाट छानिएका खेलाडी तथा प्रायोजक सार्वजनिक गरेको हो ।

ललितपुरले ट्यालेन्ट हन्टबाट आरती उपाध्याय र मनिषा चौधरी छनोट भएको जनाएको छ । पहिलो पटक आयोजना हुन लागेको डब्लुसीएलमा ललितपुरको जर्सी रातो रङको हुनेछ । टिम मालिक श्रृजना जोशी, प्रशिक्षक राजु बस्नेत र मार्की खेलाडी तथा कप्तान नेरी थापाले संयुक्त रूपमा जर्सी सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा बोल्दै ललितपुर फाल्कोन्सका प्रशिक्षक राजु बस्नेतले टिमको लक्ष्य उपाधि जित्नु रहेको बताए । ‘लक्ष्य उपाधि जित्नु हो । यसका लागि हामीले राम्रो तयारी गरेका छौँ ।’ प्रशिक्षक बस्नेतले भने, ‘अनुभबी र युवा जोशले भरिएयो टिम सन्तुलित छ ।’

कार्यक्रममा टिमले प्रायोजक समेत सार्वजनिक गरेको छ । टिमको मुख्य प्रायोजनमा साल्ट ट्रेडिङ कर्पोरेसन स्पोर्ट्स रहेको छ । टिमको सह–प्रायोजकमा कृषि विकास बैंक, एसोसियट पार्टनरमा एजुकेसन पार्क र भायोनेट, मेडिकल पार्टनर स्टार हस्पिटल, रणनीतिक पार्टनर ईन्डिया सप, र सहयोगीमा जिजीमञ्चन, ज्यापु समाज, ललितपुर च्याम्बर अफ कमर्स र ललितपुर माहानगरपालिका रहेका छन् ।

डब्लुसिएल असोज २९ देखि कातिक ७ गतेसम्म कीर्तिपुरस्तिथ त्रिवि क्रिकेट मैदानमा हुनेछ । पहिलो सस्ंकरणको लिगमा ललितपुर फाल्कोन्स, पोखरा पल्टन, किट क्याट काठमाडौं, चितवन राइनोज र विराटनगर टाइटन्सले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया