मेस्सीबिनै अर्जेन्टिनाको आधा दर्जन गोल

एजेन्सी, पेरिस । नियमित कप्तान लिओनेल मेस्सी प्रतिबन्धमा रहेको अवस्थामा अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इक्वेडरलाई ६–१ को फराकिलो अन्तरले पराजित गरेको छ । अर्जेन्टिनाले दुवै हाफमा ३–३ गोल गरेको थियो । खेलको २० औँ मिनेटमा लुकास अलारियोको गोलमा अर्जेन्टिनाले अग्रता लिएको थियो । जोन एस्पिनोजाले २७ औँ मिनेटमा आफ्नै पोस्टमा गोल गरेपछि अर्जेन्टिनाले अग्रता दोब्बर पा¥यो । तेस्रो गोलमा भने खेलाडीबीच केही विवाद भयो । अर्जेन्टिनाले पेनाल्टी पाएपछि लौटारो मार्टिनेजले पेनाल्टी प्रहार गर्न खोजे पनि लियान्ड्रो पारेडेसले बल लिँदै ३२ औँ मिनेटमा गोलमा परिणत गरे ।

दोस्रो हाफमा इक्वेडरले सुरुआती समयमा गोल गर्दै खेलमा फर्कने संकेत देखाए । एन्जल मीनाले ४९ औँ मिनेटमा गोल फर्काए पनि उक्त गोल सान्तवनामा सिमित भयो । जर्मन पेजेलाले ६६ औँ मिनेटमा गोल गर्दै ३ गोलको अग्रता पुनस्थापना गरे । त्यसपछि निकोलस डोमिन्ग्वेज र लुकास ओकाम्पसले ४ मिनेटको अन्तरमा गोल गर्दै अर्जेन्टिनाको फराकिलो जित पक्का गरे ।

कप्तान मेस्सी कोपा अमेरिका दौरान पाएको तीन महिने प्रतिबन्धका कारण राष्ट्रिय टोलीबाट खेलिरहेका छैनन् । यसपटक अर्जेन्टिनी टोलीमा रिभर प्लेट र बोका जुनियर्सका खेलाडी समावेश थिएनन् । कोपा लिबेर्टा डोरेसको सेमिफाइनलमा यी दुई टोली आमने–सामने हुँदैछन् ।

प्रतिक्रिया