रूपन्देही पल्टन बिजयी

बुटवल । रूपन्देहीको तिलोत्तमामा जारी तिलोत्तमा प्रिमियर लिगको सोमबारको खेलमा रूपन्देही पल्टन विजयी भएको छ । रूपन्देही पल्टनले लुम्बिनी शाक्यानलाई ५६ रनको फराकिलो अन्तरले पराजित गरेको हो । टस जितेर ब्याटिङ रोजेको रूपन्देही पल्टनले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ९६ रन जोडेको थियो । पल्टनका लागि विराट भण्डारीले ६२ बलमा ६४ रनको विशाल पारी खेल्ने क्रममा ८ चौका र ४ छक्काको प्रहार गरेका थिए । यसैगरी नेपाली राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरीले अविजित ४९ रनको योगदान गरे । उनले ४ चौका ६ छक्का प्रहार गरेका थिए ।

जितका लागि १ सय ९७ रनको लक्ष्य सहित जवाफि ब्याटिङ गरेको लुम्बिनी शाक्यानले १८ दशमलव १ ओभर खेल्दै अलआउट हँुदा १ सय ४० रनमा समेटियो । शाक्यानका लागि राष्ट्रिय खेलाडी समेत रहेका शरद भेष्वाकारले ३२ बलमा ६० रनको योगदान गरे पनि अन्य ब्याट्सम्यानहरू खासै चल्न नसक्दा उनको योगदान असफल सावित भयो ।

प्रतियोगितामा रूपन्देही पल्टनका विराट भण्डारी म्यान अफ द म्याच घोषित भएभने पल्टनकै दिपेन्द्र सिंह ऐरी मोस्ट भ्यालुएवल खेलाडी घोषित भए । १० टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद चार लाख प्राप्त गर्नेछ भने उप विजेता हुने टिमले नगद दुईलाख प्राप्त गर्नेछ । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा भएको प्रतियोगिताको फाइनल कातिक ९ गते हुनेछ ।

प्रतिक्रिया