जोर्डनविरुद्ध विगत बदल्ने अवसर

काठमाडौं । ठिक ८ वर्षअघि सन् २०११ अक्टोबर २८ मा नेपालले दशरथ रंगशालामा जोर्डनलाई १–१ को बराबरीमा रोकेको थियो । ५ दिनअघि मात्र जोर्डनको मैदानमा नेपालले ९–० को लज्जास्पद हार व्यहोरेको थियो । घरेलु मैदानमा निकालेको १–१ को नतिजाले नेपाली फुटबललाई तत्काल केही राहत भने दिएको थियो ।

त्यो समय नेपालले सन् २०१४ मा ब्राजिलमा हुन गइरहेको विश्वकपको छनोट खेलिरहेको थियो । समयले दुवै देशको पुन एक भिडन्तको पटकथा तयार गरेको छ । यसको अर्थ भनेको फेरि एक पटक जोर्डन र नेपाल आमने सामने हुँदैछन् । सन् २०२२ मा कतारमा हुने विश्वकप छनोटको दोस्रो चरणमा दुवै टिम भोलि (मंगलबार) भिड्न लागेका हुन् ।

संयोगवस नेपाली टिमले पहिलो खेल जोर्डनकै घरेलु मैदानमा खेल्दैछ । मैदान उत्रँदै गर्दा नेपालले ८ वर्षअघि जोर्डनसँग व्यहोरेको ९–० को नतिजालाई कम्तीमा सुधार गर्ने कोसिस गर्नेछ । जोर्डनको अम्मान अन्तर्राष्ट्रिय रंगशालामा उत्रँदै गर्दा दुवै टिम दोस्रो जितको खोजीमा हुनेछन् । फिफा वरीयतामा नेपालभन्दा ६३ स्थान माथि रहेको जोर्डनले घरेलु मैदानमा नेपाललाई पक्कै दबाबमा राख्न प्रयास गर्नेछ । नेपाली टिम कम्तीमा बलियो टिम जोर्डनविरुद्ध अंक खोस्ने दाउमा हुनेछ ।

एसियाली छनोटको समूह डीमा रहेको जोर्डनले दुई खेलबाट ४ अंक जोड्दै तेस्रो स्थानमा छ । उसले पहिलो खेलमा चाईनिज ताईपेइलाई २–१ ले हराएको थियो । दोस्रो खेलमा कुवेतसँग १–१ गोलको बराबरी खेलेको थियो । यता, नेपालले पहिलो खेलमा कुवेतसँग ७–० को लज्जास्पद हार ब्यहोरेको थियो । दोस्रो खेलमा भने चाईनिज ताईपेइलाई २–० ले हराएको थियो । दुवै गोल अन्जन विष्टले गरेका थिए ।

गत सातामात्र अस्ट्रेलियामा भएको खेलमा नेपाल ५–० ले पराजित रह्यो । नेपालले तीन खेलबाट ३ अंक जोड्दै तालिकाको पुछारदेखि दोस्रोमा छ । अस्ट्रेलियाको दुई खेलबाट ६ अंक सहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको कुवेतको तीन खेलबाट ४ अंक र अंक विहीन ताईपेइ तालिकाको पुछारमा छ । नेपाली टिमका मुख्य प्रशिक्षक योहान कालिनले कुवेतसँग धेरै गोल ब्यहोरेपछि डिफेन्समा बढी ध्यान दिएका छन् । अग्ला कदका जोर्डनका खेलाडीलाई रोक्न नेपाली डिफेन्सले थप मेहनत गर्नुपर्नेछ ।

नेपाल र जोर्डन अहिलेसम्म मात्र दुई पटक आमने सामने भएका छन् । एक खेलमा जोर्डन विजयी बनेको छ भने अर्को बराबरीमा टुंगिएको छ । सन् २०११ मा जोर्डनविरुद्व खेलेका तीन खेलाडी नेपालको टिममा छन् । गोलरक्षक किरण चेम्जोङ नेपाली टिमको नेतृत्वमा छन् । रोहित चन्द र सुजल श्रेष्ठ नियमित सदस्यको रूपमा रहेका छन् । बाँकी सबै नयाँ अनुहारले जोर्डनको चुनौतीको सामना गर्नेछन् । जोर्डनविरुद्ध बराबरी गोल गरेका भरत खवास भने विभागीय ट्रेनिङमा व्यस्त रहेकाले टिममा छैनन् ।

प्रतिक्रिया