महिला भलिबल टिमको प्रशिक्षण थाइल्यान्डमा

काठमाडौं । आसन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग) र पहिलो एभिसी एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको तयारीमा रहेको नेपाली महिला भलिबल टोलीको बन्द प्रशिक्षण थाइल्यान्डमा हुने भएको छ ।  संघले मंगलबार बिहान टोलीको बिदाइ कार्यक्रम राखेको छ । प्रथम एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिप कातिक २२ देखि २७ गतेसम्म बंगलादेशमा आयोजना हुँदैछ । १३औँ साग काठमाडौं र पोखरामा मंसिर १५ देखि २४ गतेसम्म आयोजना हुँदैछ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोग र नेपाल भलिबल संघको समन्वयमा नेपालले करिब २६ दिन थाइल्यान्डमा प्रशिक्षणका साथै केही अभ्यास खेल खेल्ने मौका पाएको हो । १८ खेलाडी, तीन प्रशिक्षक र एक व्यवस्थापक गरी २२ सदस्यीय नेपाली टोली बुधबार त्यसतर्फ प्रस्थान गर्ने तालिका रहेको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक जगदिस भट्टले थाइल्यान्डको प्रशिक्षण र केही अभ्यास खेल नयाँ खेलाडीहरूको लागि म्याच एक्सपोजरका साथै अनुभव बटुल्ने अवसर हुने बताएका छन् । ‘हामीसँग धेरै नयाँ खेलाडीहरू रहेका छन् । थाइल्यान्डको प्रशिक्षण र अभ्यास खेल नयाँ खेलाडीका लागि म्याच एक्सपोजर हुनेछ ।’ प्रशिक्षक भट्टले हाम्रो खेलकुदलाई भने, ‘हामी २६ दिनसम्म थाइल्यान्डमा रहनेछौँ । यसबीचमा हामीले प्रशिक्षणका साथै आफ्नो स्तरको टिम हेरेर दुईदेखि तीन दिनको ग्यापमा बढीभन्दा बढी अभ्यास खेल खेल्ने योजना बनाएका छौँ । जुन नयाँ खेलाडीहरूको लागि आफ्नो प्रतिभा देखाउने अवसर हुनेछ ।’

प्रशिक्षक भट्टले अहिले टोलीमा रहेका खेलाडीहरूमा (घरेलु प्रतियोतिा) बाहेर अन्तर्राष्ट्रिय खेलहरूको कमी रहेको र थाइल्यान्डको अभ्यास खेलले उनीहरूको स्तर मापन गर्न सकिने बताएका छन् ।

२२ सदस्यीय टोली
प्रतिभा माली – प्रदेश ३
सरस्वती चौधरी – एपीएफ
निरुता ठगुन्ना –
अरुणा शाही – गण्डकी प्रदेश
कमला पुन – पुलिस
रेश्मा भण्डारी – एपीएफ
जानकी भण्डारी – आर्मी
उषा भण्डारी – पुलिस
लक्ष्मी पुन – आर्मी
हिरा केसी – एपीएफ
उषा विष्ट – एपीएफ
संगम महतो – आर्मी
शान्ति थारु – आर्मी
सुनिता खड्का – आर्मी
पुनम चन्द – गण्डकी प्रदेश
शान्ति तामाङ – पुलिस
सलिना श्रेष्ठ – प्रदेश ३
आरती सुवेदी – प्रदेश ३
जगदिश भट्ट – मुख्य प्रशिक्षक
सलिना श्रेष्ठ – प्रशिक्षक
भरत यादव– प्रशिक्षक
रीता कोइराला – टिम व्यवस्थापक

प्रतिक्रिया