‘सावाको सुसेली’ सार्वजनिक

काठमाडौं । देश–विदेशमा रहेका खोटाङका आठ गजलकारको संयुक्त गजलसंग्रह ‘सावाको सुसेली’ बजारमा आएको छ । जापानमा कार्यरत् गजलकार रवीन्द्र दिखुक्पाद्वारा सम्पादित संग्रह नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख प्राज्ञ प्रा.डा. हेमनाथ पौडेल, वरिष्ठ कवि जसराज किराँती, प्राज्ञ शशी लुमुम्बू, गजलकार ललिजन रावल, कवि तथा गीतकार रमेश पौडले, गैरआवासीय नेपाली संघ जापानकी वरिष्ठ उपाध्यक्ष अनिता गुरुङ लगायतले संयुक्तरूपमा विमोचन गरे ।

रावासावा प्राज्ञिक समाज र सावा कला साहित्य मञ्चद्वारा आयोजित उक्त कार्यक्रममा प्राज्ञ प्रा.डा. पौडेलले संग्रहभित्र समाविष्ट गजल पढ्दा गजलकारमा प्रचुर सम्भावना रहेको आफूले पाएको बताए । उनले स्वदेश र प्रवासमा रहेका गजलकारको संयुक्त संग्रह स्वागतयोग्य रहेको विचार व्यक्त गरे ।

गजलकार रावलले संग्रहमाथि समीक्षात्मक टिप्पणी गर्दै गजलकारबाट अरू परिष्कारको अपेक्षा गरेको बताए । उनले गजल लेख्दा यसको नियमलाई गजलकारले कठोरतापूर्वक पालना गर्नुपर्नेमा जोड दिए । प्राज्ञ शशी लुमुम्बूले समय र समाजका विविध सन्दर्भ समेटिएका गजलले नेपाली सुगन्धलाई समेटेको बताए । उनले स्रष्टाले देश र समाजका लागि सिर्जनामार्फत योगदान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा जसराज किराँती, रमेश पौडेलले नेपाली साहित्यको समृद्धिमा प्रवासी स्रष्टाको योगदानको चर्चा गरे । रावासावाका अध्यक्ष गीतकार टीका चाम्लिङ, महासचिव कवि चन्द्र रानाहँछा, सदस्य आनन्द भट्टराईले संस्थाको उद्देश्य र गतिविधिमाथि प्रकाश पारेका थिए ।

संग्रहमा अशोक थुलुङ राई, असीम विश्वकर्मा, अरुण बान्तावा राई, दीप मुस्कान (जेबी राई), धनु विष्ट, रविन दावा राई, रवीन्द्र दिखुक्पा र सुगम साकुराका बीस बीसओटा गजल संग्रहित छन् ।

प्रतिक्रिया