‘मखमली मखमली’ को फस्ट लुक

काठमाडौं । राजु गिरीले निर्देशन गरेको चलचित्र ‘मखमली मखमली’ को फस्टलुक सार्वजनिक गरिएको छ । आगामी १३ मंसिरबाट देशव्यापी प्रदर्शनमा आउने यस चलचित्रका फस्टलुकको रूपमा दुईओटा पोस्टर सार्वजनिक गरिएको हो ।

यसअघि बनेको ‘मखमली’ चलचित्रको सिक्वेलका रूपमा बनेको यस चलचित्रको निर्माण सावित्रा चिलुवालले गरेकी हुन् । मखमलीको सिक्वेलको रूपमा अभिनेत्री तथा निर्माता शुभेच्छा थापाले ‘मखमली मखमली’ निर्माण घोषणा गरे पनि समयमै छायांकन हुन सकेको थिएन । यस चलचित्रमा निर्माताको रूपमा सावित्रा आबद्ध भएपछि यसको छायांकनको काम अघि बढेको हो ।

प्रदर्शनको मिति तयसँगै रिलिज गरिएका दुईओटा पोस्टरमा अभिनेता जयकिशन बस्नेत र अभिनेत्री शुभेच्छा थापालाई महत्व दिइएको छ । दुवै पोस्टरमा जयकिशन हास्य रूपमा प्रस्तुत भएका छन् । एउटा पोस्टरमा उनी ढकियामाथि बसेर बियर पिउँदै गरेको र उनलाई शुभेच्छाले बोकेको देखाइएको छ । यस्तै अर्को पोस्टरमा जयकिशन तिलहरीयुक्त पोते र मंगलसुत्रमा सजिएको देखाइएको छ ।

मखमली मखमलीको कथासँगै गीत पनि निर्मात्री चिलुवालले नै लेखेकी हुन् । यो चलचित्रमा जयकिशन र शुभेच्छासँगै शारदा गिरी (कालीबुढी), परी तामाङ, माया तामाङ, सावित्रा चिलुवाल, सविन बाँस्तोला लगायतका कलाकारको अभिनय छ । चलचित्रमा बसन्त सापकोटा, बाबुल गिरी र सावित्रा चिलुवालको संगीत रहेको छ । त्यस्तै, रामजी लामिछाने र अनिल राईको नृत्य निर्देशन, विनोद बमको सम्पादन र रामेश्वर हुमागाईंको छायांकन रहेको छ ।

प्रतिक्रिया