शान्ति समाजद्वारा दुई पुरस्कार स्थापना

काठमाडौं । साहित्यका क्षेत्रमा योगदान दिने स्रष्टालाई सम्मान गर्ने लक्ष्य राखेर मानव अधिकार तथा शान्ति समाजले दुई पुरस्कारको स्थापना गरेको छ । समाजले स्व. कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान र स्व. राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान गरी दुई पुरस्कार स्थापना गरेको हो ।

स्रष्टा सम्मान पुरस्कारअन्तर्गत प्रत्येक वर्ष साहित्यका विभिन्न विधामा योगदान गरेका एक महिला र एक पुरुष गरी दुई जनालाई जनही २० हजार नगद र सम्मानपत्र प्रदान गरिने समाजका सभापति उत्तम पुडासैनीले जानकारी दिए । पुरस्कार स्थापना गर्न अक्षय कोषका लागि स्व. दाहालद्वयका पनातिनी तथा नातिनी अनुजा थापा, अनुपमा पाण्डे र अपूर्वा शर्माले तीन लाख समाजलाई प्रदान गरेका छन् ।

कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान र राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान हरेक वर्ष महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा प्रदान गरिने समाजले जनाएको छ ।

पुरस्कृत व्यक्तित्व छनोटका लागि समाजका केन्द्रीय कार्य समितिका सभापति पुडासैनीको संयोजकत्वमा सल्लाहकारहरू होमकान्त चौलागाईं, डा. गंगाधर अधिकारी, वरिष्ठ उपसभापति गोविन्द खनाल, उपसभापतिद्वय विष्णुप्रसाद चापागाईं, रेनुका पौडेल र महासचिव सुशील बस्नेत सम्मिलित छनोट समिति समेत गठन गरिएको छ ।

प्रतिक्रिया