डेरीबाट स्वरोजगार बन्दै युवा

इलाम नगरपालिका–१२ का राजिन राई १८ वर्ष मै खाडी मुलुक हानिए । घरको आर्थिक समस्या गहिरिएपछि उनले विदेशिनुको विकल्प देखेनन् । दुई लाख खर्च गरेर राजिन मलेसिया त हानिए तर विदेशमा पैसा कमाउनुको पीडा उनलाई मलेसिया पुगेपछि मात्र थाहा भयो । दुःख गरेर मलेसिया पुगे पनि कमाइ नभए पछि छ महिना नबित्दै उनी नेपाल फर्किन बाध्य भए । केही कमाइ होला र घरको ऋण तिर्न सकिएला भन्ने सोचले विदेसिएका राजिन उल्टै घरबाटै पठाइदिएको पैसाले काठमाडौं उत्रिए ।

जेनतेन राजिन घर त फर्किए तर, साहुको ऋण र घरायसी समस्याले एकै चोटि च्याप्यो । के गर्ने ? कसरी सम्पत्ति कमाउने ? उनी अन्योलमा थिए । त्यतिकैमा आफ्नै मामाबाट डेरी खोल्न सुझाब पाएपछि उनले डेरीमा लगानी गर्न लागे । साथीभाइको सर–सहयोगबाट सामान्य छाप्रो बनाएर डेरी सुरु गरेका राजिनले अहिले दैनिक दुई सय लिटर दूध पेल्छन् । आफ्नो गोठको दूधबाहेक अन्य किसानको दूधसमेत जम्मा पारेर घ्यु र छुर्पी बनाउँछन् । डेरीको कमाइले राजिनले अहिले लगानी उठाएका छन् भने पुराना ऋण पनि धेरै घटाइसके ।

‘अहिले त व्यवहार धेरै बनिसक्यो, डेरीमा लगानी गरेर राम्रै भएछ,’ राजिन भन्छन्, ‘अरू काम गर्ने सोच बुनेको छैन । यसैबाट कमाइ भएकाले अझै लगानी बढाउने सोचमा छु ।’

हरेक दिन बिहान ५ बजे उठेर डेरीमा काम सुरु गर्ने गरेका राजिनले सबै काम ११ बजे सकेर दिउँसो अरू कामसमेत भ्याउँछन् । धेरै समय खर्चिनु नपर्नाले उनलाई यही पेसा ठीक लाग्न थालेको छ । सुरुमा आफ्नै चारवटा गाईको दूध मात्र पेल्ने सुरमा थिएँ तर, पछि बढाउने सोच आयो,’ उनले भने, ‘सुरुमा धेरै दुःख भयो । गाउँघरको दूध माग्दा पनि पाइँदैनथ्यो । यसले कति दिन डेरी चलाउला र भनेर दूध दिँदैनथे तर, अहिले प्रशस्त दूध आउँछ ।’ राजिनले अहिले डेरीबाटै महिनामा २५ हजार रुपैयाँसम्म नाफा कमाउँछन् । उनी डेरी विस्तार गर्ने सोचमा छन् । डेरी पाँच सय लिटर क्षमताको बनाएर गाउँघरको दूध प्रशोधन गर्ने सोच उनको छ ।

यस्तै, इलाम माइजोगमाईस्थित नामसालिङका मिलन खत्रीले पनि केही रकम खर्चेर इलाम नगरपालिकाको कुलधारामा डेरी उद्योग सुरु गरे । पुरानो घरमा सामान्य डेरी चलाएका मिलनले सुरुमा थोरै लगानी गरेर डेरी चलाउन थाले । आफूसँगै अरू साथीलाई पनि रोजगार बन्नुपर्छ भन्ने मिलनलाई डेरीमा ठूलै लगानी गरेर धेरै दूध पेल्न मन भयो ।

उनले आफ्नो घरमा भएका केही सामान बेचे र केही रकम आफन्तबाट जोहो गरे । त्यति गर्दा पनि रकम अपुग भएपछि बैंकबाट ३८ लाख रुपैयाँ ऋण लिएर नयाँ डेरी सुरु गरे । सुरुका दिन नयाँ ठाउँ र नयाँ ग्राहकको समस्या त पर्ने नै भयो । तर, पनि मिलनले हिम्मत हारेनन् । उनले आफूसहित केही साथीसँगसमेत सल्लाह गरेर बिहान–बिहान डेरीमा काम गर्न आग्रह गरे । धेरै समय खर्च पनि नहुने र काम गरेबापत पैसा पनि हुने बुझेपछि साथीभाइ पनि काममा लागे । यसरी सञ्चालन गरेको डेरीले मिलनलाई एक कुशल उद्यमीका रूपमा स्थापित ग¥यो । अहिले डेरीमा तीन गाउँको एक हजार ७०० लिटर दूध दैनिक जम्मा हुन्छ । उनको डेरीमा अन्य १८ जनाले काम पाएका छन् ।

तीस प्रतिशत आफ्नै दाजुको सेयर र बाँकी आफ्नै लगानी रहेको यो डेरीमा बन्ने छुर्पी अमेरिका र जापानमा निर्यात हुन्छ भने घ्यु स्थानीय बजारमा बिक्छ । कारोबार बढेकाले उनले बजार हेर्ने एउटा इकाइ कुलधाराकै अर्को घरमा राखेका छन् । ‘ठूलो परिमाणमा कारोबार भएपछि बजार हेर्न एक्लैले सकिँदैन,’ मिलनले भने, ‘मैले छुट्टै कार्यालय खोलेर ११ जनालाई मार्केटिङमा खटाएको छुँ ।’ प्रशोधनमा ८ जना कर्मचारी रहेका उनको डेरीमा अहिले मासिक ३५ लाख रुपैयाँको कारोबार हुन्छ । नामसालिङ, गोदक र सोयाङबाट दूध संकलन गरेर घ्यु र छुर्पी बनाइन्छ । उनी भन्छन्, ‘बैंकको ऋण तिर्दैछु । आम्दानी राम्रै छ । वार्षिक तीन लाख रुपैयाँ सरदर बचत हुन्छ ।’

गाउँघरमै बसेर केही गर्न सकिन्छ भन्ने सन्देश दिन डेरी खोलेको उनी बताउँछन् । सेतो पहाड डेरी उद्योगका सञ्चालक मिलनले भने, ‘हामी सबै पशुपालनबाटै बाँचेका छौँ । हाम्रो धेरैको आम्दानीको स्रोत दूध नै हो । त्यसैले डेरीको नाम पनि सेतो पहाड राखेको छुँ ।’

सन्दकपुर गाउँपालिकास्थित जमुनाका वडा सदस्य केवल राईले पनि केही वर्ष अघिदेखि आफ्नै घरमा डेरी चलाएका छन् । उनी गाउँका दुईजनासँग मिलेर बिहान गाउँभरिको दूध संकलन गर्ने र दिउँसो घरमै दूध पेलेर घ्यु र छुर्पी बनाउने गर्छन् । उनी एक दिनमा २ सय ५० लिटर दूध पेल्छन् र त्यसबाट बनेको छुर्पी र घ्यु बेच्छन् । केवलले डेरी मात्र नभई ‘होलिस्टेन’ जातका चारवटा गाईसमेत पालेका छन् । गाउँमै गाई फार्म र डेरी चलाएका केवल अहिले यसैमा सन्तुष्ट छन् ।

लामो समय विदेश बसेर गाउँ फर्केका केवलको फेरि विदेसिने मन छैन । राम्रो आम्दानी गरेर गाउँमै केही गर्ने सोच पालेका केवल गाउँका अन्य युवालाई पनि विदेश नजान सल्लाह दिन्छन् ।

राजिन, मिलन र केवल मात्र होइन जिल्लाका धेरै युवाले स्वरोजगार बन्न गाउँमै लगानी गरिरहेका छन् । कसैले डेरी चलाएका छन् भने कसैले किवी खेती गरेका छन् । विदेसिएका व्यक्तिसमेत फर्केपछि गाउँघरमै उद्यम गर्न लागेका छन् । स्थानीय सरकार, संघ÷संस्थाबाट सहुलियत ऋण र अनुदान पाउन थालेपछि युवा गाउँमै रोजगारीमा लाग्न थालेका हुन् । युवामाझ उत्प्रेरणाका कार्यक्रम चलाइएपछि उनीहरू स्वरोजगार बन्न थालेको जिल्ला युवा समिति इलामका अध्यक्ष नवराज शंकरको भनाइ छ । वैदेशिक रोजगारीमा कमाएको रकम लगानी गर्ने कृषि र पशुपालन उपयुक्त क्षेत्र भएका उनी ठान्छन् ।

‘हाम्रोमा लगानीयोग्य क्षेत्र भनेको कृषि र पशुपालन नै हो, यसका लागि सरकारले र सम्बन्धित संस्थाहरूले सहुलियत ऋण र प्रोत्साहन कार्यक्रम बढाएकाले युवाले लगानी गर्न थालेका हुन्, शंकरले भने, ‘लगानी गर्ने हो भने ५ प्रतिशत दरमा ऋण भेटिन्छ । धेरै जोखिम मोल्नु नपर्नाले युवा वर्गले सहज गन्तव्यका रूपमा डेरी रोजेका हुन् ।’

शंकरले भने, ‘अहिले हाम्रै युवा समितिले पनि ‘रिटर्न नेपाली’ कार्यक्रम चलाइरहेको छ । यो सातै प्रदेशमा सुरु भइसकेको छ ।’ शंकरका अनुसार यो कार्यक्रममार्फत विदेशिएका युवालाई एक ठाउँमा उभ्याउने र लगानीयोग्य क्षेत्र खोज्न प्रोत्साहन गर्ने लक्ष्य उनीहरूको छ ।

युवा व्यवसायीलाई प्रोत्साहन दिन विभिन्न कार्यक्रम राखेपछि धेरै फार्म र डेरी उद्योग सुरु भएको घरेलु तथा साना उद्योग विकास कार्यालयका उद्यम विकास सहजकर्ता निरोज राई बताउँछन् । अनुदान सँगसगै उद्यमशीलतासम्बन्धी तालिम पनि दिइने भएकाले त्यसप्रति आकर्षण बढेको राईको भनाइ छ । यसै आर्थिक वर्षमा मात्रै घरेलुबाट १२ वटा तालिम सञ्चालन भइसकेको छ ।

कार्यालयले वैदेशिक रोजगारीबाट आएका युवालाई विशेष प्राथमिकतामा राख्दै आएको छ । तालिम मात्र नभई प्रविधि किन्न पनि कार्यालयले रकम दिँदै आएको छ । इलाममा अहिलेसम्म दुई सयवटा डेरी उद्योग दर्ता भइसकेको घरेलु तथा साना उद्योग विकास समिति इलामले जनाएको छ । गएको आर्थिक वर्ष २४ वटा र चालू आवमा २२ वटा नयाँ उद्योग दर्ता भएका छन् ।

प्रतिक्रिया