चिनियाँ राष्ट्रपतिको भ्रमण

छिमेकी मुलुक चीनका राष्ट्रपतिलाई नेपाल भ्रमण गराउने लक्ष्य विगत दुई दशक यताका हरेक सरकारहरूले राखेका थिए । हरेक सरकारका पालामा निमन्त्रणा पठाइए पनि चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्ने अनुकूल समय मिलिरहेको थिएन, तर यस पटक प्रधानमन्त्री केपी शर्मा ओली सफल भए । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणा स्वीकार गर्दै चीनका राष्ट्रपति सि चिनफिङले नेपालको दुई दिने राजकीय भ्रमण गरे । गत शनिबार आएर आइतबार स्वदेश फर्केका चिनियाँ राष्ट्रपति सी को स्वागत तथा बिदाइ समारोहलाई नेपाल सरकारका तर्फबाट सकेसम्म भव्य बनाइयो । चीनका राष्ट्रपतिको भ्रमणलाई विश्वका हरेक मुलुकले ठूलो उपलव्धिका रूपमा लिने गर्छन् । चाहे विश्वको महाशक्ति राष्ट्र अमेरिका होस्, चाहे विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भएको मुलुक भारत होस् पछिल्ला वर्षहरूमा चीनका राष्ट्रपतिको भ्रमणलाई गर्वको रूपमा लिने गरेको देखिएको छ । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने चीनका राष्ट्रपतिको भ्रमण हरेक दृष्टिकोणले उपलब्धि मुलुक हुन्छ । भ्रमणका क्रममा के के सहयोग प्रदान भयो ? भन्ने कुरा गौण हुन्छ, अर्थात् भ्रमण मात्र नै नेपालका लागि धेरै ठूलो उपलब्धि हो ।

विश्वका करिब दुई सय मुलुकहरूमध्ये पछिल्ला दिनमा अकल्पनीय रूपमा आर्थिक समृद्धि तथा विकास हासिल गरेको मुलुक चीन हो । विकास तथा आर्थिक समृद्धिको गतिलाई चीनले निकै नै तीव्र बनाइरहेको छ । यसबाट छिमेकी मुलुक नेपालले पनि लाभ हासिल गरोस् भन्ने चाहना चीनले पटक पटक प्रकट गर्दै आएको छ । नेपाल भ्रमणका क्रममा राष्ट्रपति सिले पटक–पटक दोहोर्याएका छन्, ‘भूपरिवेष्टित राष्ट्र हुनुको पीडाबाट छिमेकी मित्रराष्ट्र नेपाललाई मुक्त गर्न आवश्यक सबै प्रकारका सहयोगका लागि चीन तत्पर छ ।’ राष्ट्रपतिले नै उद्घोष गरेको यो भनाइ व्यवहारमा कार्यन्वयन हुने कुरामा कुनै शंका छैन । विगत हेर्ने हो भने पनि चिनिया“ राष्ट्रपतिले नेपालका सन्दर्भमा जे बोलेका थिए त्यो निर्धारित समयभित्रै पूरा हुने गरेको थियो । तर सन् १९८८ मा भारतका तत्कालीन प्रधानमन्त्री राजिव गान्धीको चीन भ्रमण पछिको यो ३० वर्षको अवधीमा नेपालको पूर्वाधार विकासका लागि चिनिया“ सहयोग घटेको थियो । अर्थात् सन् १९८८ अघिका ३० वर्षमा चीनले नेपालको पूर्वाधार विकासका लागि जुन प्रकारका सहयोग गरेको थियो, त्यसपछिका ३० वर्षमा त्यति सहयोग गरेको थिएन । अब फेरि विगतको जस्तै सहयोग गर्न चीन तत्पर छ भन्ने संकेत देखिएको छ ।

सी चिनफिङ चीनका राष्ट्रपति मात्रै होइनन् , माओत्सेतुङ र देङ सियाओ पिङ सरहको उचाइ भएका महान नेतासमेत हुन् । इच्छा भएसम्म राष्ट्रपति पदमा रहन सक्ने गरी चिनियाँ संविधानले सि चिनफिङलाई अधिकार दिएको छ । उनी ६६ वर्षका भए । अझै २०–२५ वर्ष राष्ट्रपति पदमा रहने सम्भावना छ । त्यस कारण पनि उनको यो भ्रमणले नेपालमा उत्साह ल्याउनु स्वभाविकै हो । तर, सिमाना जोडिएको भए पनि नेपाल र चीन बीचको भौगोलिक विकटता आवागमनका लागि निकै ठूलो तगारोको रूपमा रहेको छ । हिमाल तथा पहाडहरू छेडेर सुरुङ मार्ग बनाउनुपर्ने अवस्था छ । एक किलोमिटर सुरुङ मार्ग निर्माण गर्न ५–६ अर्ब रूपैयाँ खर्च लाग्छ । त्यसैले यी दुई मुलुकलाई रेल तथा सडक सञ्जालले जोड्न निकै धेरै खर्च लाग्ने अवस्था छ । नेपालको बुताभित्र यो छैन । चिनियाँ सहयोग अपरिहार्य छ । राष्ट्रपति सी को नेपाल भ्रमणका क्रममा चिनियाँ भूभाग केरुङबाट रसुवागढी हुँदै काठमाडौंसम्म सडक यातायात जोड्नका लागि दुईओटा सुरुङ मार्ग निर्माण गर्ने सहमति भएको छ । सुरुङ मार्ग निर्माण भएमा केरुङबाट काठमाडौंसम्मको दुरी करिब ७० किलोमिटर अर्थात् १ घण्टा मात्रै हुनेछ । यी दुईवटा सुरुङ मार्ग अनुदानमा ८–१० वर्षभित्र निर्माण सम्पन्न गर्ने प्रतिबद्धता चीनले जनाएको छ । त्यसपछि मात्रै नेपालले भारतवेष्ठित हुनुको पीडाबाट मुक्ति पाउनेछ ।

प्रतिक्रिया