दसैँमा पनि पाएनन शिक्षकले तलब

दार्चुला । जिल्लाका विद्यालय स्थानीय तहका शिक्षक, विद्यालय कर्मचारीहरूले तलबभत्ता पाउन सकिरहेका छैनन् । चालु आर्थिक वर्षको साउन महिनादेखिको तलबभत्ता नपाएको मालिकार्जुन मावि मडका प्रधानाध्यापक भुवन डाँगाले बताए ।

मालिकार्जुन गाउँपालिकामा रहेका ४४ विद्यालयमा कार्यरत स्थायी तथा अस्थायी शिक्षकहरूले तलब भत्ता नपाएको गुनासो प्रधानाध्यापक डाँगाको छ । ‘साउन महिनादेखि तलबभत्ता पाएनौँ, यो वर्षको दसैं खल्लो भयो’ प्रधानाध्यापक डाँगाले भन्नुभयो । विगतका वर्षहरूमा दशैँतिहारका बेला पेश्कीसहित तलबभत्ता प्राप्त गर्दै आएकोमा यो वर्ष भने मालिकार्जुनका झण्डै अढाई सय शिक्षक, विद्यालय कर्मचारीहरूले तलब नपाएको प्रअ डाँगाले गुनासो गरेका छन् ।

विगतमा नेपाल सरकारले शिक्षकहरूलाई चौमासिक रूपमा तलबभत्ता निकासा गर्ने गरेकोमा पछिल्लो समय मासिक रूपमै तलबभत्ता बैंकमार्फत भुक्तानी गर्ने गरेको थियो । पछिल्लो सयम माध्यमिक तहसम्मको विद्यालय सञ्चालनका लागि स्थानीय सरकारलाई नै अधिकार प्रत्यायोजन गरिएको थियो । यसले गर्दा संघीयताको सुरुको वर्ष स्थानीय सरकार तथा शिक्षकहरूलाई अलमल हुँदा शिक्षा क्षेत्र नै प्रभावित बनेका थिए ।

यस्तै अहिले शिक्षक, विद्यालय कर्मचारीहरूले तलब भत्ता पाउन सकिरहेका छैनन् । ‘जागिरे जीवनको यो यात्रासम्म तलब नपाएको यो पहिलो घट्ना हो, दसैँतिहारमा परिवार तथा आफन्तजनसँग रमाईलो गर्न पनि पाइएन, दसँै खल्लो भयो’, प्रअ डाँगाले भने । हुनैनाथ आधारभूत विद्यालय औतालेकका प्रधानाध्यापक ईन्द्रसिंह धामीले गाउँमा सिंँहदरबार आएदेखि खाइपाई आएको तलब भत्ता तथा पेश्कीसमेत समयमै नपाइएकोे गुनासो गरेका छन् । विगतमा दसैँतिहारका वेला पेश्कीसहित तलबभत्ता पाउने गरेको र संघीयता आए पनि दसैँमा तलबभत्तासमेत नपाएको उनले बताएका छन् । दसैँ सकिएपछिको पेस्कीको अर्थ नरहने उनको भनाइ छ ।

मालिकार्जुन गाउँपालिकाका शिक्षकहरूले मात्र नभई गाउँपालिकाका कर्मचारीहरूले पनि तलब भत्ता नपाएको मालिकार्जुन गाउँपालिका उपाध्यक्ष पुष्पा अवस्थी मेनुकाले बताइन् । गाउँपालिका लेखा शाखाका कर्मचारीहरूबाट बुझ्दा अनलाईन सिस्टम सूत्रमा राख्नुपर्ने भएकाले ढिलाई भएको बताउने गरेको उनले बताइन् ।

गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामीले पनि गाउँपालिकाका कर्मचारीहरूको ढिलाइका कारण शिक्षक तथा विद्यालय कर्मचारीहरूले तलब पाउन नसकेको बताए । ‘गाउँपालिकाका कर्मचारीहरूको ढिलाइका कारण शिक्षकहरूले तलब नपाएका हुन्, मैले त समयमै तलब हाल्न कर्मचारीहरूलाई भनेको हो’, अध्यक्ष धामीले भने । कर्मचारीहरूबाट ढिलाइ हुँदा शिक्षकहरूले साउनदेखिको तलब भत्ता पाउन नसकेका हुन् । अनलाइन सूत्र प्रणालीबाट तलबभत्ता दिनुपर्ने भएकाले अनलाइन सिस्टमका कारण ढिलाइ भएको अध्यक्ष धामीले बताए । गाउँपालिका कर्मचारीहरूले तलब भत्ता तत्काल हाल्न निर्देशन गरेको उनको भनाइ छ ।

यस्तै शैल्यशिखर नगरपालिकाका शिक्षक तथा विद्यालय कर्मचारीहरूले तलबभत्ता पाएका छैनन् । दसैँतिहारमा हरेक वर्ष पेस्कीसहित तलब भत्ता पाउने गरेकोमा यो वर्ष भने तलबभत्ता नपाएको मालिकार्जुन मावि मिलमिलका शिक्षक भोजसिंह धामीले बताएका छन् । शिक्षक भोजसिंह धामीले सामाजिक सञ्जालमार्फत् तलब नपाएको गुनासो व्यंग्यात्मक शैलीमा व्यक्त गरेका छन् ।

कैलाकुट आधारभूत विद्यालय ओखडानीका शिक्षक राजेन्द्र सिँह साउँदका अनुसार शैल्यशिखरका शिक्षकहरूले पनि साउनदेखि तलबभत्ता पाएका छैनन् । विगतमा दसैँतिहारका वेला पेश्कीसहित तलबभत्ता पाउने शिक्षक तथा विद्यालय कर्मचारीहरूले यो वर्षको तलबभत्ता तथा पेश्की नपाउँदा बडा दसैमा खल्लो भएको छ ।

प्रतिक्रिया