टोखा–स्याफ्रुबेसी सुरुङ सडक

काठमाडौं । चीनसँग भएका १८ वटा समझदारीमध्ये एक प्रमुख हो, चीनसँग काठमाडौं जोड्ने सडकमार्ग निर्माण । हाल रहेको अरनिको राजमार्ग भूकम्पपछि अधिकाशं समय बन्द जस्तै अवस्थामा रहेको छ । जसका कारण चीनसँग नाका जोडिएका सडकको अवस्था एकदमै कमजोर रहेको छ ।

राष्ट्रपति सीसँगको समझदारी कार्यान्वय भए उत्तरतर्फको सडक सम्बन्ध नेपालको निकै बलियो बन्ने

भारतले नेपालमा लगाएको नाकाबन्दीपछि नेपालीले चीनसँग नाकाहरू जोड्नुपर्छ भनेर आवाज उठेको थियो । सोही आवाजलाई प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक चीन जाँदा उठाएका थिए । चिनले सकारात्मक जवाफ दिए पनि सो कार्यन्वयनमा आउन ढिलाइ भइरहेको थियो । सोही क्रममा चीनका राष्ट्रपति सी चिनफिङ नेपाल आए । दुई दिने राजकीय भ्रमणमा नेपाल आउने सी तेस्रो राष्ट्रपति हुन् । २३ वर्षपछि चीनको राष्ट्रप्रमुखले सफलतापूर्वक नेपालको भ्रमण गरेर जानु नेपालीका लागि ऐतिहासिक क्षण हो ।

तर, यो सँगसँगै नेपालले पनि सुरुवाती चरणमा निकै ठूलो उपलब्धि हासिल गरिसकेको छ । राष्ट्रपति सी ले नै सार्वजनिक मञ्चबाट नेपाललाई भूपरिवेष्टित देशबाट भू–जडित देश बनाउन सहयोग गर्ने घोषणा गरे । चीनको सबैभन्दा माथिल्लो निकायबाटै यस्तो भनाइ आएपछि चीनसँगका थप नाका खुल्ने भएकाले नेपालीमा हौसला बढेको छ । तर, चीनसँगको भौगोलिक बनावटका कारण यो अवस्था सहज भने छैन ।

चीनका राष्ट्रपति सी को भ्रमणपछि जारी भएको सयुक्त वक्तव्यको पाँचौँ बुँदामा भू–जडित विषय उल्लेख छ । जुन बुँदामा रेल ल्याउनेदेखि सुरुङ मार्ग बनाउने सम्मका विषय अटाएका छन् । यो बुँदामा पश्चिम सेती जलविद्युत् परियोजना, अरनिको राजमार्गको धुलिखेल—बाह्रबिसे—कोदारी खण्डको स्तरोन्नति, भूकम्पबाट क्षतिग्रस्त केरुङ सीमा नाकाको पुनर्निर्माण, काठमाडौं चक्रपथको स्तरोन्नति (दोस्रो चरण), धनकुटा—खाँदबारी—किमाथांका सडकलगायतका छन् ।

रसुवागढी—काठमाडौं र काठमाडौं—पोखरा—लुम्बिनी रेल विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने, ४३४ मेगावाटको अरुण—किमाथांका जलविद्युत् परियोजना, रसुवागढी—केरुङ ४०० केभी क्रसबोर्डर ट्रान्समिसन लाइन विस्तार गर्ने, चिनियाँ सहयोगमा काठमाडौंमा निर्मित सिभिल अस्पताललाई ५०० शय्या क्षमताको बनाउने, नेपालका तीन ठाउँमा पेट्रोलियम भण्डारणस्थल निर्माण, कृषि प्रविधि परियोजना र उत्तरी सीमा क्षेत्रमा १० वटा स्कुल निर्माणमा पनि चिनियाँ सहयोग आउने टुंगो लागिसकेको छ । यी सबै परियोजनाहरू बिआरआईअन्तर्गत नै रहेका छन् ।

जुन कुरा लागू भएमा नेपालले हिमालपारीको देश चीनसँग भू–जडित रूपमा राम्रो सम्बन्ध राख्नेछ । नेपालमा रेल्वे लाइन आउनुभन्दा पहिला सुरुङमार्गबाट सडक बनाउने तयारी भएको छ । यद्यपि, कति समयमा थाल्ने र कहिले पूरा हुने भनेर अहिले नै खुलाइएको छैन । तर, सबै काम अनुदानमा हुने सरकारले स्पष्ट पारेको छ ।

राजधानी काठमाडौं र रसुवागढी जोड्ने सडक निर्माण तथा स्तरोन्नति गर्ने सहमति अहिलेका लागि प्रमुख विषय बनेको छ । काठमाडौं टोखा–छहरे नुवाकोटको सदरमुकाम विदुर हुँदै बेत्रावती र स्याफ्रुबेसीसम्म सुरुङसहितको सडक निर्माण गरिदिन सहमत भएपछि काठमाडौंवासी खुसी छन् । तर, यो सडक निर्माण गर्न सोचे जति सजिलो भने छैन । समझदारी अनुसार पहिलो चरणमा चीनले टोखादेखि नुवाकोट सदरमुकामसम्म सुरुङ सहितको ३२ किमि सडक मार्ग अनुदानमा निर्माण गरिदिने भएको हो । काठमाडौं रसुवागढी जोड्ने सुरुङमार्ग दुई खण्डमा निर्माण हुनेछ । काठमाडौंको टोखा र नुवाकोटको छहरे तथा रसुवाको बेत्रावती र स्याफ्रुवेंसीमा सडक सुरुङमार्ग निर्माण गरिनेछ ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले टोखा छहरे सुरुङ निर्माणको सम्भाव्यता अध्ययन गर्न छिट्टै चिनियाँ टोली नेपाल आउने जानकारी दिए । टोखा छहरे सुरुङ निर्माण लगत्तै बेत्रावती स्याफ्रुबेसी सुरुङ निर्माणको विषय अगाडि बढ्ने छ । ‘चीनको नेपालसँगको गेट वे केरुङ हुने भयो’, ज्ञवालीले भने, ‘चीनले अन्तर्राष्ट्रिय पोर्टका रूपमा विकास गरेकाले त्यहाँबाट यातायात विश्वासिलो बनाउने हाम्रो कुरा हो ।’ उनले सुरुङ मार्गमा ठूलो चिनियाँ अनुदान रहने समेत जानकारी दिए । ‘तुरुन्तै प्राविधिक टोली आउने छ । दुवैको संयुक्त प्राविधिक टोलीले थप अध्ययन अगाडि बढ्छ । निकै छिटो निर्माणको तहमा पुर्याउन सकिन्छ’, ज्ञवालीले भने, ’तीन वर्षभित्र सक्छौँ भन्ने छ ।’ उनले रेल आउनुभन्दा अगाडि सुरुङ मार्ग निर्माण सकिने पनि बताए ।

हाल सञ्चालनमा रहेको प्रमुख मार्ग काठमाडौं–गल्छी–स्याफ्रुबेसी र रसुवागडी पुग्न १२८ किलोमिटर लाग्छ । काठमाडौंको बाइपास, नुवाकोटको विदुर, रसुवाको धुन्चे र स्याफ्रुबेसी हुँदै रसुवागडीको दुरी १५२ किमि छ । टोखा–छहरे गँगटे ४४ किलोमिटर छ । टोखा–छहरेमा निर्माण गर्दा यो खण्ड १२ किमि घट्छ । गँगटे–वेत्रावती १७ किमि, वेत्रावती–मैलुङ १० किमि, मैलुङ–स्याफ्रुवेंसी १९ किमि, स्याफ्रुबेसी–रसुवागढी १६ किमि छ । दोस्रो चरणमा निर्माण हुने भनिएको मैलुङ–स्याफ्रुबेसी सुरुङमार्गले मूलखर्क र राम्चेको पहिरो छल्न उपयुक्त हुने बताइएको छ । सुरुङमार्ग निर्माण भए ४० किलोमिटर दूरी छोटिने भएको छ ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माका अनुसार काठमाडौंबाट केरुङ जान अहिले १ सय २० किलोमिटर दूरी पार गर्नुपर्छ । ‘अहिले चर्चा भएको सुरुङ निर्माण भए बढीमा ८० किलोमिटरमा पुगिने छ,’ शर्माले भने, ‘सामान बोकेर आवतजावत गर्ने कन्टेनरलाई ८÷१० घण्टा लाग्नेमा त्यसपछि बढीमा २÷४ घण्टामै ओहोरदोहोर गर्न सक्ने अनुमान छ ।’ टोखा–छहरे सुरुङमार्ग निर्माण गर्ने सम्भावना रहेको निष्कर्ष सडक विभागले यसअघि नै निकालिसकेको छ । यो करिब ६ किलोमिटरसम्मको हुने जनाइएको छ ।

मैलुङ–स्याफ्रुबेसी नेपाली सेनाले ट्र्याक खोलेर ०७५ जेठ ६ गते हस्तान्तरण गरिसकेको छ । अहिले यो खण्डसहित धादिङको गल्छीदेखि रसुवागडीसम्म सडक निमाधीन अवस्थामा छ । चीन सरकारले स्याफ्रवेंसी–रसुवागडी १६ किमि सडक विस्तार गर्दैछ । मुस्किले एक लेनको सडक दुई लेनमा विस्तार हुँदैछ । लगानीबोर्डले पनि टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि प्रस्ताव पेस गरेको थियो । लगानी बोर्डले पेस गरेको प्रस्तावमा सुरुङमार्गको लम्बाइ ४.१७५ किलोमिटर हुने उल्लेख छ । ०७१ सालमा गरिएको अध्ययन अनुसार बोर्डले सुरुङमार्ग निर्माण गर्न २६ अर्ब ५० करोड रुपैयाँ लाग्ने अनुमान गरेको थियो ।

सानो सुरुङमार्ग निर्माण गर्दा धेरै घुम्ती हुने र सडकको लम्बाइ पनि बढ्छ । सडकको लम्बाई घटाउन सुरुङ बढाउन खोजिएको हो । सात किलोमिटर सुरुङमार्ग निर्माण गर्दा टोखाबाट विदुरको गँगटेको ३२ किमि हुनेछ । बेत्रावती–मैलुङ खण्डको कुन स्थानबाट सुरुङमार्ग निर्माण गर्ने भन्ने टुंगो लागेको छैन । यस्तै अहिले नै लगानी र मोडल तथा कहिले सुरु गर्ने भन्ने निर्णय भएको छैन । तर, सरकारले भने यो सहमति तत्कालै लागू हुने बताएको छ ।

प्रतिक्रिया