प्युठानमा सरायँ नाँचको आक्रषण बढ्दो

प्युठान । आईतबार दशैँको पाँचौ दिन प्युठानका विभिन्न ठाउँमा सरायँ नाच सम्पन्न भएका छन् । जुम्री, पुण्यखोला, मल्लरानीको चौरपानी, ऐरावतीको जाबुने कोट लगाएतका जिल्लाका विभिन्न स्थानमा दशैको अवसरमा परापूर्वकाल देखि मेला लाग्दै आएका छन् । मेलाका अवसरमा सरायँ नाँच मुख्य आकर्षण रहने गर्दछ ।

मेलामा सरायँ हेर्नका लागि घुईचो नै लाग्ने गर्दछ । किवदन्ती उल्लेख गर्दै पत्रकार महासंघ प्यूठानका पूर्व अध्यक्ष सुशील पोखरेलले करिब ६ सय वर्ष अर्थात १२औँ शताब्दीतिर प्युठानको भित्रीकोट राज्यमा एउटा राक्षसी प्रवृतिको जाड राजाले जनतालाई निकै दुःख दिएको र जाडको आंतकबाट जनताहरुले त्रसित जीवन बिताउन परेको बताए । त्यसैले जाडको विनास गर्ने योजना बनाउदै जनताहरु एकबद्ध भई जाडलाई मान्न खुडा, खुकुरी लिएर लड्न थाले जाडलाई भित्रीकोटबाट लखेट्दै पुण्यखोला स्थित क्षेत्रपालसम्म ल्याएका थिए ।

त्यस ठाउँबाट लखेट्दै विजुवारको डल्लेमा ल्याई जाडको अन्त्य भएको भन्ने छ । यसैको खुशीयालीबाट बिकास भएको सरायँ मेला बिभिन्न अवसरमा लाग्ने गरेको छ । यस अनुसार आईतबार कोजागत पूर्णिमाको दिन बिभिन्न स्थानमा मेला सम्पन्न भएका हुन् । सरायँ प्युठान जिल्लासँगै छिकेकी जिल्लाहरु अर्घाखाँची, गुल्मी, दाङलगायतका क्षेत्रहरुमा पनि खेलेको पाईन्छ । बडादशैँ र तिहारको अवसरमा प्युठानका धेरै ठाउँमा सरायँ मेला लाग्ने गरेको पाईन्छ । प्युठानका गाउँगाउँमा पनि सराँयका समूहहरु गठन भएको छ । जिल्लामा डल्लेबाट आरम्भ भएको सरायँ मेला विभिन्न स्थानमा पनि लाग्ने गर्दछ ।

आईतबार जुम्री परिवर्तनशील यूवा समुह प्युठान नगरपालिका– ३ को आयोजनामा भएको कार्यक्रममा सरायँ नाँच हेर्नेको घुईचो देखिन्थ्यो । वडा नंम्बर ३ कै युवाहरुको सक्रियतामा सरायँ नाँच गरिएको हो । पहिलेदेखी नाँच्दै आएको सरायँ नाँचलाई निरन्तरता दिनुपर्ने दल बहादुर केसीको भनाइ छ । यसै गरी आईतबारनै पुण्यखोलामा पनि भब्यताका साथ सराय नाँच सम्पन्न भएको छ । पहिलो पटक सरायँ खेलेका सापडाँडाका अशोक हमालले सरायँ नाँच रमाईलो लागेको बताए । ‘पहिलो पटक सरायँ खेलेँ’, उनले भने, ‘यसलाई निरन्तरता दिनुपर्छ ।’ यूवाहरुको पहलमा यसलाई निरन्तरता दिन सकिने उनले बताए।

सराय नाचसँगै सांस्कृतिक कार्यक्रम

जुम्री परिवर्तनशील यूवा समूहको आयोजनामा सांस्कृतिक कार्यक्रम समेत सम्पन्न भएको छ । ०७४ साल देखी संस्थाले सांस्कृतिक मेलाको आयोजना गर्दै आएको संस्थाका अध्यक्ष हेमन्त पाठकले जानकारी दिए । मेला व्यवस्थित तवरले अगाडि वढाउँने र पुरानो संस्कृतिलाई जोगाउने उदेश्यले मेलाको आयोजना गरेको उनले बताए ।

सांस्कृतिक कार्यक्रममा समिक्षा ओली, विजय पुन मगर, मुना केसी, गनबहादुर पेस्तोल, झलक बुढा, सर्मीला पुन, ज्ञानी थापा लगाएतका कलाकारले प्रस्तुती राखेका थिए । मेलाको प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतिले उद्घाटन गरेका थिए । मेलालाई वडा नंम्बर ३ को कार्यालय, जुम्री बसपार्क व्यवस्थापन समिति र विभिन्न संस्था तथा व्यक्तिको सहयोग गरेको अध्यक्ष पाठकले जानकारी दिए ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया