चिनियाँ राष्ट्रपति सी काठमाडौंमा

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा दुई दिने राजकीय भ्रमणका लागि शनिबार दिउँसो  नेपाल ओर्लिएका छन् । यो सँगै चिनियाँ राष्ट्रपतिको स्वागतका लागि नेपालीहरुले गरिरहेको व्यग्र प्रतिक्षा अब समाप्त भएको छ । उनलाई  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरिन्  ।  यस्तै सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु विमानस्थल पुगेका थिए । राष्ट्रपति सी भारतको चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली समयाअनुसार २ः०३ मिनेटमा नेपाल प्रस्थान गरेका थिए ।

स्वागत सँगै राष्ट्रपति सी सोल्टी होटल जानेछन। सी आजै ६ः३० बजे राष्ट्रपति भवन शीतलनिवास जाने कार्यतालिका छ । करिब ४५ मिनेट दुई पक्षीय छलफल पछि उनी सोल्टी होटल फिर्ता हुनेछन् र सवा सात देखि साढे सात बजेसम्म विपक्षी दलका नेता पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको आयोजनामा हुने राजकीय भोजमा उनी ७ः३० देखि सहभागी हुने छन् । यसका साथै सुरसुधा ब्याण्डद्वारा सांगीतिक प्रस्तुति गर्ने कार्यक्रम रहेको छ । शनिबार मुख्यगरी राष्ट्रपतिसँग भेट र राष्ट्रपतिको रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको छ।

चीनबाट २३ वर्षपछि यो स्तरको भ्रमण हुन लागेको हो । सन् १९९६ मा जियाङ जेमिनले नेपालको भ्रमण गरेका थिए । यद्यपि चीनबाट प्रधानमन्त्री र विदेशमन्त्री स्तरमा भने नेपालमा भ्रमण भइरहेका छन् ।

 

यस्तो छ राष्ट्रपति सीको कार्यतालिका

शनिबार
५ः०० बजे
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा स्वागत
विमानस्थलमै सैनिक सलामी अर्पण
सोल्टी होटल प्रस्थान

६ बजे
राष्ट्रपति भवन शीतलनिवास प्रस्थान ।

६ः३० बजे
राष्ट्रपतिद्वयबीच भेट र भेटपछि सोल्टी होटल फिर्ता ।

७ः१५ बजे
प्रमुख विपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट

७ः३० बजे
राजकीय भोजमा सहभागी, सुरसुधा ब्याण्डद्वारा साङ्गीतिक प्रस्तुति ।

आइतबार
१०ः३० बजे
नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता

११ः३० बजे
प्रधानमन्त्री केपी ओलीसँग भेट र द्विपक्षीय सम्झौता ।

१ः०० बजे
स्वदेश फिर्ता

प्रतिक्रिया