राष्ट्रपति सीको नेपालमा १९ घण्टा

निकै चासो र चर्चामा रहेको चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण शानिबारबाट हुँदैछ । चिनियाँ राष्ट्रप्रमूखको भ्रमणका बिषयमा लामोसमय देखि निकै उत्सुकताका साथ हेरिएको थियो । उक्त उत्सुकता शनिबार पूरा हुँदै छ ।

चीनका राष्ट्रपति सी जिनपिङ राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा दुई दिने राजकीय भ्रमणका लागि शनिबार नेपाल आउँदैछन् । यस अघि सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपाल भ्रमण गरेका थिए । त्यसको २३ वर्षपछि चिनियाँ राष्ट्र प्रमुखका रुपमा सीले नेपालको भ्रमण गर्न लागेका हुन् ।

सीको भ्रमण तालिकाः चिनियाँ राष्ट्रपति सी शनिबार अपरान्ह ४ः३० बजेदेखि ५ः३० बजेको बीचमा विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने छन् । त्यसपछि उनले आफ्ना नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग शीतलविनासमा कारिब ६ः३० बजे भेटवार्ता गर्ने छन् । सो अवसरमा दुई देशीबीचको सम्बन्ध विस्तार लगायतका विषयमा विचार विमर्श हुनेछ ।

त्यस लगतै करिब ७ः३० बजे राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्या भण्डारीले सोल्टी होटलमा आयोजना गर्ने रात्रिभोजमा उनी सहभागी हुनेछन् । रात्रिभोज पछि उनको शनिबारको कार्यक्रम सकिनेछ ।

भ्रमणको दोस्रो दिन आइतबार बिहान नेपाल–चीनबीच औपचारिक वार्ता हुनेछ । यस वर्तामा पर्यटन, प्रविधि, कृषि र बीआरआईका विविध पक्षमा छलफल हुने र बिहानको १०ः३० बजे द्विपक्षीय सम्झौतामा हस्तार हुने प्रारम्भिक कार्यक्रम तय भएको छ ।

यही बीचमा चिनियाँ राष्ट्रपतिसँग सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेतासहित राजनीतिक दलका नेताहरुले भेटवार्ता गर्नेछन् । राष्ट्रपति सी नेपाली समयअनुसार आइतबार १२ः३० बजे नेपालको दुई दिने नेपाल भ्रमण सकाएर स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

सीको भ्रमणका एजेण्डाः राष्ट्रपति सीको नेपाल भ्रमणका अवसरमा नेपालले ठूला भौतिक पूर्वाधारको सहयोगको प्रस्ताव गर्ने र चिनियाँ पक्षले सुरक्षा चासोका विषयलाई विशेष प्राथमिकता दिएको बुझिएको छ ।

यस भ्रमणका अवसरमा नेपालले बहुचर्चित केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणसहित एक दर्जन आयोजनामा सम्झौता गर्ने तयारी गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्ले रेलमार्गको मोडालिटी एवं लगानीका विषयमा टुंगो लगाउने गरी सम्झौताको मस्यौदा तयार गरेको छ ।

यस्तैगरी राष्ट्रपति सीको भ्रमणको अवसरमा काठमाडौँको टोखादेखि नुवाकोटको छहरेसम्म सुरुङमार्ग हुँदै रसुवाको स्याप्रुवेसीसम्म पुग्ने सडक पूर्वाधार निर्माणको प्रस्तावलाई पनि सम्झौता गर्ने गरी तयारी गरिएको छ । यो नेपाल र चीन जोड्ने दोस्रो राजमार्गको हो । नेपाल–चीन जोड्ने पहिलो नाका सिन्धुपाल्चोकको तातोपानी सीमा नाका (मितेरी पुल) देखि धुलिखेलसम्म सडक विस्तार गरेर डबल लेन बनाउने सम्झौतामा पनि समझदारी गर्ने नेपाल सरकारले तयारी गरेको छ ।

चीनसँग जोडिने कोशी, कर्णाली र गण्डकी सडक करीडोरको स्तरोन्नति तथा निर्माणमा चिनियाँ पक्षसँग सम्झौता गर्ने सरकारले तयारी गरेको छ । नेपाल–चीनबीच गत वर्ष भएको पारवाहन तथा यातायात सम्झौताको प्रोटोकलअनुसार नेपालले चीनका चार सामुन्द्रीक र तीन सुक्खा बन्दरगाह प्रयोग गर्न पाउने छ । सोही सम्झौतालाई कार्यान्वनयका लागि पनि दुई देशबीचको पूर्वाधार सञ्जालमा नेपाल सरकारले विशेष जोड दिएर यस भ्रमणको सदुपयोग गर्न लागेको देखिएको छ ।

चीनसँगको बन्दरगाह जोड्नका लागि सिन्धुपाल्चोकको तातोपानी, रसुवाको रसुवागढी, हुम्लाको यारी, मुस्ताङको कोरला, संखुवासभाको किामाथांका र ताप्लेजुङको ओलाङचुङगोला सीमानामा पूर्वाधार विकास र त्यससँग सम्बन्धित लिंक रोड निर्माण एवं विस्तार जरुरी देखिएको छ । यसै विषयलाई ध्यानमा राखेर सरकारले सम्झौताको तयारी गरेको छ ।

त्यस्तै चिनियाँ पक्षले पनि बेल्ट एन्ड रोड (बीआरआई) जस्तो महत्तवकांक्षी परियोजना लिएर आगडि बढिरहेको अवस्थामा सडक, रेलमार्ग, विमानस्थल, विद्युतीय प्रशारणलाई जस्ता अन्तरदेशीय सञ्जाल विस्तार र विकासमा विशेष प्राथमिकता दिँदै आएको छ । अन्तरदेशीय सञ्जालको विस्तार र विकासमार्फत कूटनीतिक एवम् आर्थिक सञ्जाल बढाउने चीनको विशेष चासो हुनेछ । यसै सिलसिलामा नेपाल पनि बीआरआई पक्ष राष्ट्र भएको सुरक्षा र यातायातको बहुआयामिक सञ्जाल विस्तारका लागि चिनियाँ पक्ष उत्सुक देखिएको छ ।

प्रतिक्रिया