सीको नेपाल भ्रमण ऐतिहासिक हुने

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिन पिङले गर्न लागेको नेपाल भ्रमणले नेपाल–चीनबीचको ऐतिहासिक समस्यारहित सम्बन्ध अझैं उचाईमा पुग्ने विशवास गरिएको छ । सन १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि दुई मुलुकबीच असंख्य राजनीतिक परिवर्तन र रूपान्तरण भए पनि सम्बन्ध एकनासले विकसित हुँदै आएको छ । चीनले नेपालसहित छिमेकी मुलुकसँगको सम्बन्धलाई आफ्नो विदेश नीतिको प्राथमिकतामा राखेको छ । चीनको शान्तिपूर्ण विकास दूरदर्शी र प्रतिबद्ध नेतृत्व एवं मिहिनेती जनताको लगावबाट सम्भव भएकोले नेपालले पनि केहि सिक्नु पर्ने बिज्ञहरु बताउछन । चीनको अभूतपूर्व विकास रूपान्तरण विश्वका विकासशील धेरै मुलुकका लागि प्रेरणादायी बनेको छ । जुनकुरा नेपाका लागि पनि निकै प्रेरणादायी हुने छ । दुई देशबीचको व्यापारलाई सहज गराउन सन १९५६ मा नेपाल–चीनबीच पहिलो व्यापार तथा पारबाहन सम्झौता सम्पन्न भएको थियो ।

यसैक्रममा चिनियाँ राष्ट्रपति सी जिन पिङले नेपाल आउन आफू आतुर रहेको बताएका छन । भारत तथा नेपालको भ्रमणमा निस्कनुपूर्व चिनियाँ राष्ट्रपति सीले आलेख जारी गर्दै नेपालसँगको पुरानो सम्बन्धलाई नवीकरण गर्न आतुर रहेको बताएका हुन । विशेष आलेखमा चिनियाँ राष्ट्रपति सीले चीन र नेपाल एक अर्कालाई सहयोग गर्ने असल दाजुभाइ भएको समेत बताएका छन ।

रणनीतिक सञ्चारलाई प्रगाढ बनाउनु, व्यावहारिक सहयोग विस्तार गर्नु, जनस्तरीय आदान–प्रदानलाई व्यापक पार्नु र सुरक्षासम्बन्धी सहयोग सुदृढ पार्नु मुख्य उद्देश्य भएको आलेखमा उल्लेख गरिएको छ । चीनले कानूनको कार्यान्वयन गर्ने क्षमताको निर्माणका लागि नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सीमा वारपारका आपराधिक गतिविधिलाई प्रभावकारी रुपमा नियन्त्रण गर्नेमा जोड दिने आलेखमा उल्लेख गरिएको छ । यस्तै, दुवै पक्षले हिमालय वारिपारिको बहुआयामिक कनेक्टिभीटी सञ्जालको निर्माणलाई सक्रिय रुपमा अगाडि बढाउनेमा नेपालको सहयोग अपरिहार्य रहेको आलेखमा उल्लेख गरिएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा बहुचर्चित केरुङ–काठमाडौं रेलमार्गको डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) निर्माणसहित पूर्वाधार निर्माणसम्बन्धी आयोजनाहरूको सम्झौता मुख्य प्राथमिकतामा पर्ने भएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले करिब एक दर्जन आयोजना चिनियाँ साझेदारीमा बनाउन सम्झौता गर्ने निर्णय गरेको छ । निर्माण मोडालिटी, लगानी, अनुदान वा ऋणलगायतका विषय आयोजनापिच्छे फरक–फरक हुनेछन् ।

रेलमार्गको डीपीआर बनाउने समझदारी पत्रमा हस्ताक्षर हुने लगभग पक्का छ । काठमाडौंको टोखादेखि नुवाकोटको छहरेसम्मको ६ किलोमिटर सुरुङमार्ग र त्यही बाटो हुँदै रसुवाको स्याफ्रुबेसीसम्म पुग्ने सडक निर्माणका लागि पनि सम्झौता गर्ने बताइएको छ । त्यसैगरि, कोसी,कर्णाली र गण्डकी सडक करिडोरको स्तरोन्नति तथा निर्माणको पनि सम्झौता गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।

नेपाल–चीनबीच गत वर्ष हस्ताक्षर भएको पारवहन तथा यातायात सम्झौताको प्रोटोकलअनुसार नेपालले चीनका चार सामुद्रिक र तीन सुक्खा बन्दरगाह प्रयोग गर्न पाउनेछ । सामुद्रिक र सुक्खा बन्दरगाहसम्म आवतजावत गर्ने आफ्नोतर्फका नाकाको पूर्वाधार कमजोर भएकाले नेपालले उक्त सुविधा उपयोग गर्न सकेको छैन । चीनतर्फको बन्दरगाह जोड्न नेपालतर्फ सिन्धुपाल्चोकको तातोपानी, रसुवाको रसुवागढी, हुम्लाको यारी, मुस्ताङको कोरला, संखुवासभाको किमाथांका र ताप्लेजुङको ओलाङचुङगोला सीमानाका प्रयोग गर्न सकिन्छ । यसमध्ये अहिले रसुवागढी र तातोपानी नाका मात्रै प्रयोगमा छ । तर सडक र अन्य पूर्वाधार नहुँदा स–साना सवारी साधन तथा ट्रकहरूबाट मात्रै सामान आयातनिर्यात भइरहेको छ । कन्टेनर तथा ठूला सवारीसाधन आवतजावत गर्ने गरी कुनै पनि नाकामा पूर्वाधार बन्न नसक्दा चीनसँगको पारवहन तथा यातायात सम्झौताले पूर्ण रूप लिन सकेको छैन ।

सडक र रेलबाहेक अन्य केही आयोजनाका लागि पनि सम्झौता हुने बताईएको छ  । यसैगरी मकवानपुरको चित्लाङमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनामा आर्थिक सहयोग गर्नेसम्बन्धी सम्झौता हुनेछ । मन्त्रिपरिषद्ले केही जलविद्युत् आयोजनाको निर्माणमा चीनले सघाउने गरी सम्झौता गर्न निर्णय पनि गरेको छ । ती आयोजनाहरू भने खुलाइएका छैनन् । ४ सय २६ मेगावाटको फुटकोट कर्णाली जलविद्युत् आयोजना, गल्छी–रसुवागढी केरुङ ४ सय केभी प्रसारण लाइनलगायत आयोजना निर्माणको चर्चा छ ।

दुई देशका उच्च अधिकारीको प्राथमिकतामा रहेको केरुङ–काठमाडौं रेलमार्गको पूर्वसम्भाव्यता अध्ययनपछिका काम अगाडि बढ्न सकेको छैन । राष्ट्रपति सीको भ्रमणपछि रेलमार्गसम्बन्धी अर्को तहको कार्यारम्भ हुने अनुमान गरिएको छ । प्रधानमन्त्री ओलीको २०७५ असार पहिलो साता भएको चीन भ्रमणमा रेलमार्गसहित करिब दर्जन एजेन्डामा समझदारी तथा सम्झौता भएका थिए । त्यसपछि रेलमार्ग विकास गर्न विभिन्न तहमा कार्यान्वयन र अनुगमन गर्ने संयन्त्रहरू पनि दुवै देशका अधिकारीहरूबीच छन् । चीन सरकारले गत डिसेम्बरमा पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई जिम्मा लगाइसकेको छ । यो प्रतिवेदन बुझाएको नौ महिना बितिसके पनि थप प्रक्रिया अघि बढ्न सकेको थिएन । ७२ किलोमिटरको यो रेलमार्ग करिब ३ खर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार ७२ किलोमिटरमध्ये करिब ९७ प्रतिशत भागमा सुरुङमार्ग र पुलहरू रहनेछन् । उक्त लागत चिनियाँ ऋण, अनुदान वा कुन स्रोतबाट जुटाउने भन्ने तय भइसकेको छैन ।

पर्यटन क्षेत्रमा ऊर्जा र उत्साह थपियो
विश्व अर्थतन्त्रमा बलियो पक्कड जमाएको उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणले नेपालको पर्यटन क्षेत्रमा थप ऊर्जा र उत्साह थपिएको छ । राष्ट्रपति सीको भ्रमणले चीनबाट मात्र नभई विश्वका विभिन्न मुलुकबाट समेत नेपालमा पर्यटकको आगमनमा बढोत्तरी हुने देखिएको छ । चीन असल छिमेकी मित्रराष्ट्र मात्र हैन, आर्थिक सहायता, पर्यटन, व्यापार प्रवद्र्धन, पूर्वाधार विकास, सांस्कृतिक सम्बन्धको अटुट आयाम भएको साझेदार मुलुक पनि हो । राष्ट्रपति सीको नेपाल भ्रमणको सन्देश विश्वभर पुग्ने भएकाले विभिन्न मुलुकबाट पनि नेपाल आउने पर्यटक बढ्ने अनुमान गरिएको छ । महाशक्ति राष्ट्रका रुपमा उदाएको छिमेकी मुलुक चीनले विश्व पर्यटनमा सबैभन्दा बढी योगदान गरिरहेको छ, अर्थात् चीन विश्वभर धेरै पर्यटक पठाउने मुलुकमा पर्छ । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०१८ मा १४९ मिलियन चिनियाँ पर्यटक विश्व भ्रमणमा निस्किएका छन् ।

संयुक्त राष्ट्र सङ्घीय विश्व पर्यटन सङ्घको सन् २०१९ को अन्तर्राष्ट्रिय पर्यटनसम्बन्धी महत्वपूर्ण टिप्पणीको संस्करण ‘इन्टरनेशनल टुरिज्म हाइलाइट्स इडिसन’ का अनुसार सन् २०१८ को अवधिमा विश्व भ्रमण गर्ने पर्यटकको सङ्ख्या एक अर्ब ४० करोड पुगेको छ । यो सङ्ख्या हरेक वर्ष पाँच प्रतिशतले बढिरहेको छ भने चीनबाट मात्रै विश्व भ्रमणमा निस्कने पर्यटकको सङ्ख्या वार्षिक १५ प्रतिशतले बढेको छ ।

विश्व अर्थतन्त्रको दोस्रो ठूलो छिमेकी मुलुक चीन र अर्थतन्त्रमा उदीयमान मुलुक भारत नेपालको पर्यटन बजारका मुख्य स्रोत मानिन्छन् । यी मुलुकबाट हरेक वर्ष पर्यटक आगमनमा बढोत्तरी भइरहेको छ । पर्याप्त प्रचारप्रसारको अभावमा पनि चीनबाट पर्यटक बढिरहेका छन् । नेपालमा सर्वाधिक पर्यटक आउने मुलुकमा चीन भारतपछि दोस्रो स्थानमा पर्छ । पछिल्लो पाँच वर्षको आँकडालाई हेर्दा नेपालमा निरन्तररुपमा चिनियाँ पर्यटक बढेको देखिन्छ । बोर्डका अनुसार सन् २०१९ को आठ महीना (जनवरीदेखि अक्टोबरसम्म) को अवधिमा सात लाख ८२ हजार ६०० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

उक्त अवधिमा चीनबाट मात्रै एक लाख छ हजार ५० चिनियाँ नागरिक नेपाल आएका छन् । जुन सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९ दशमलव ८ प्रतिशतले बढी हो । सन् २०१८ मा इतिहासकै सबैभन्दा बढी १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । जसमा चीनबाट एक लाख ३४ हजार ३६२ पर्यटक नेपाल आए । त्यस्तै सन् २०१७ मा ९३ हजार ६५४ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१६ मा चीनबाट एक लाख चार हजार पाँच पर्यटक आएका छन् । गोरखा भूकम्प र नाकाबन्दीका बाबजुद पनि सन् २०१५ मा ६४ हजार ६७५ चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका थिए । सन् २०१४ मा एक लाख २३ हजार ८०५ चिनियाँले नेपाल भ्रमण गरेका थिए ।

तेइस वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने विज्ञहरु बताउँछन् । राष्ट्रपति सीको भ्रमणले नेपाललाई विश्व पर्यटनको थप आकर्षक गन्तव्यका रुपमा स्थापित गराउने उनीहरुको विश्वास छ । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले संसारभर नेपालको प्रवद्र्धन हुने र चीनबाट मात्र नभई विश्वका अन्य मुलुकबाट पनि चिनियाँ पर्यटक बढ्ने बताए ।

चिनियाँ राष्ट्रपति जुन मुलुकमा जानुहुन्छ त्यहाँ चिनियाँ पर्यटक बढेको उदाहरण दिँदै उनले नेपालको पर्यटनका लागि राष्ट्रपति सीको भ्रमण महत्वपूर्ण अवसर भएको उल्लेख गरे । स्वार्थरहीत सम्बन्ध स्थापना गर्ने चीनले आर्थिक सहायता, पूर्वाधार विकास आदिमा जति साझेदारिता बढाएको छ, मुलुकको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको समग्र पर्यटन क्षेत्रमा पनि चीनको उत्तिकै योगदान छ ।

लुम्बिनी विकास कोषका सद्भावना राजदूत विक्रम पाडेकाजीले चिनियाँ राष्ट्रपतिको भ्रमण नेपालको पर्यटन प्रवद्र्धनका निम्ति ठूलो अवसर भएको र यसले चिनियाँ पर्यटकको बढोत्तरीमा अग्रगामी छलाङ मार्ने विश्वास व्यक्त गरे । उनले भने, ‘विश्वको शक्तिशाली मुलुक चीनका राष्ट्र प्रमुखको नेपाल भ्रमणले नेपालको गरिमा बढाउँछ नै यसले विश्व पर्यटनमा नेपालको सकारात्मक सन्देश पनि जान्छ । नेपाल भ्रमणमा जानैपर्ने देश रहेछ भन्ने धारणा पर्यटकमा पैदा गराउने भएकाले पनि यो भ्रमणको ऐतिहासिक हुन्छ ।’

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल (नाट्टा) का अध्यक्ष सिएन पाण्डेले नेपालको पर्यटनको राम्रो स्रोत बजारबाट राष्ट्र प्रमुखको भ्रमणले नेपालको पर्यटनमा सकारात्मक प्रभाव पार्ने बताए । ट्रेकिङ एजेञ्सिज एशोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष नवराज दाहाल पनि विश्वकै शक्तिशाली छिमेकी मुलुक चीनका राष्ट्रपतिको नेपाल भ्रमण नेपालको पर्यटन प्रवद्र्धनका लागि ठूलो अवसर भएको उल्लेख गर्नुभयो ।

नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा हुन लागेको चिनियाँ राष्ट्रपति सीको भ्रमणले पर्यटन क्षेत्रमा उल्लासको वातावरण सिर्जना भएको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सोहीअनुरुप राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा प्रवद्र्धनको कामलाई प्रभावकारीरुपमा अघि बढाएको छ ।

चीनसँग व्यापारः बङ्गुरको मासु चीनतर्फ निर्यात गर्न नेपाल इच्छुक
बङ्गुरको मासु चीनतर्फ निर्यात गरी नेपालले ठूलो फाइदा लिन सकिन्छ । यसका लागि पोखरामा पिग औद्योगिक पार्क निर्माण भएको छ । विश्व अर्थतन्त्रको आकर्षण कृषिमा भन्दा औद्योगिकीकरणतर्फउन्मुख छ । नेपाल जस्ता विकासोन्मुख राष्ट्र भने कृषिमा निर्भर छन् । तीव्र औद्योगिकीकरणतर्फ लम्किरहेका चीन जस्ता राष्ट्रमा कृषि उत्पादन निर्यात गरी लाभ बटुल्ने अवसरलाई नेपालले केन्द्रबिन्दुमा राखेर योजना तर्जुमा गर्न थालेको छ ।

पछिल्लोपटक चीनमा बङ्गुरको मासुको खपतलाई ध्यानमा राख्दै पोखरामा पिग औद्योगिक पार्क निर्माण भएको छ । बङ्गुरको मासु निर्यात हुनसक्ने प्रचुर सम्भावनालाई महसुस गर्दै सरकारको ७० प्रतिशत र किसानको ३० प्रतिशत लगानीमा हाल १० हजारको सङ्ख्यामा बङ्गुर उत्पादन गरिएको बङ्गुर ब्रिडर कृषक सहकारी संस्थाका अध्यक्ष तथा पूर्वसांसद कृष्णबहादुर गुरुङले जानकारी दिए ।

कृषि तथा पशुपक्षी विभागका सूचना अधिकृत डा चन्द्र ढकालले जनताको खाद्य अधिकारलाई सुरक्षित गर्नु अपरिहार्य भएको बर्ता । उनले भूमिहीन, सुकुम्बासी तथा आर्थिकरुपले पछाडि परेका समुदायको आर्थिक अवस्थालाई माथि उठाउन सरकारले लक्षित वर्गले उत्पादन गरेका गुणस्तरीय बङ्गुर सङ्ग्रह गरी बधशालाबाट तयार पारिएको मासु चीनमा निर्यात गर्ने उद्देश्यले पोर्क पार्क स्थापना गरिएको बताए ।

त्यसो त चीन सरकारले मित्रराष्ट्र भएका हैसियतले नेपालको कृषि क्षेत्रको अनुसन्धान र प्रविधिको विस्तारमा सहयोग पु¥याउने बताइसकेको छ । नेपालको रसुवा, नुवाकोट र सिन्धुपाल्चोकमा सञ्चालन गरिने आलुबाली, घाँस, ब्रोइलर तथा लेयर्स कुखुरा, च्याउ, तरकारी र रेन्बोट्राउट माछा उत्पादन लगायतको परियोजनामा अत्याधुनिक प्रविधिको अनुसन्धान तथा विस्तार गर्न सहमति गरेको छ ।
परियोजना १९ डिसेम्बर २०१८ देखि १८ डिसेम्बर २०२१ सम्म सञ्चालन हुनेछ । परियोजनाका लागि चीन सरकारले २७ मिलियन चाइनिज युआन सहयोग गर्ने घोषणा गरेको छ । उक्त परियोजनामा नेपालका किसान र प्राविधिक कर्मचारीका लागि ६० जनालाई चीनमा लगेर र अन्य २४० जना किसानलाई नेपालमा नै तालीम दिने भएको कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले जानकारी दिए ।

चीन सरकारको उक्त सहयोगपछि नेपालका १३ हजार बङ्गुर व्यवसायीमा उत्साह जागेको छ । चीन सरकारबाट उच्च तथा दक्ष प्रविधियुक्त जनशक्ति उपलब्ध हुनसक्दा नेपाली व्यवसायीले गुणस्तरीय बङ्गुरको मासु उत्पादन गरी निर्यात गर्नसक्ने ढोका खुल्ने सम्भावना रहेको बङ्गुर व्यवसायी सङ्घ नेपालका अध्यक्ष उमेशकुमार राईले राससलाई बर्ता ।

विश्व खाद्य सङ्गठनका अनुसार विश्वमा सबैभन्दा धेरै बङ्गुरको मासु उत्पादन तथा खपत गर्ने देश चीन हो । विश्वमा झण्डै १२ करोड मेट्रिकटन बङ्गुरको मासु उत्पादन हुन्छ । कूल मासुको उत्पादन ३१ करोड मेट्रिकटन छ । प्रतिव्यक्ति कूल मासुको खपत ४२ दशमलव शून्य पाँच प्रतिशतमध्ये प्रतिव्यक्ति प्रतिवर्ष ३७ किलो बङ्गुरको मासु खपत हुन्छ । विश्वमा स्थानीय तथा विदेशी गरी करीव ९ जात (ब्रिड) र २९ भन्दाबढी उपजात (भेराइटी) का बङ्गुर पालिन्छन् । कृषि तथा खाद्य सङ्गठनका अनुसार विश्वमा करीब दुई अर्बको सङ्ख्यामा सुँगुर तथा बङ्गुरको सङ्ख्या रहेको छ भने नेपालमा झण्डै १६ लाख वटा बङ्गुर रहेको अनुमान छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार नेपालमा झण्डै १७ लाख मेट्रिकटन बङ्गुरको मासु खपत हुने गरेको छ । जसमध्ये झण्डै १० लाख मेट्रिकटन मासु नेपालको होटल व्यवसायमा खपत हुने गर्छ । नेपाल बङ्गुरको मासुमा पूर्ण आत्मनिर्भर भने छैन । तर उत्पादनको प्रचुर सम्भावना र निर्यातको सुनिश्चितता भएमा यहाँका लाखौँ सिमान्तकृत समुदाय बङ्गुरपालन व्यवसायबाट लाभान्वित हुने विषयमा दुई मत छैन । बङ्गुरको मासुमा ३७ देखि ३९ प्रतिशतसम्म (लिन कटस) रातो मासुको मात्रा र १७ देखि २१ प्रतिशतमा बोसो पाइन्छ । उच्चकोटीको प्रोटिन, भिटामिन, खनिज, फ्याट, मेटावेलिनक र इनर्जीको मात्रा धेरै भएकाले बङ्गुरको मासु स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।

प्रतिक्रिया