प्रहरी हिरासतमा रहेका महराको सांसद पद पनि निलम्बन

काठमाडौँ । बलत्कारको आरोपमा पक्राउ परेका पुर्व सभामुख कृष्णबहादुर महराको सांसद पद पनि निलम्बन भएको संघीय संसद सचिवालयले जानकारी दिएको छ । सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले बिहीबार एक सूचना जारी गर्दै पुर्व सभामुख महराको सांसद पद पनि निलम्बन भएको जानकारी दिए ।

महानगरीय प्रहरी वृत्त बानेश्वरले महरा पक्राउको जानकारी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई गराएको उल्लेख गर्दै महासचिव भट्टराईले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २४४ को उपनियम ३ बमोजिमको प्रयोजनका लागि पक्राउ गरिएको हुँदा उपनियम २ बमोजिम सूचना जारी गरिएको बताएका छन् ।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २४४ को उपनियम ३ मा संविधानको धारा १०३ को उपधारा (६) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम कुनै सदस्यलाई फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी प्राप्त भएमा त्यस्तो सदस्यलाई प्रहरी हिरासतमा रहेको अवस्थामा वा प्रचलित कानुन बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पूर्पक्षको लागि थुनामा रहेमा त्यस्तो थुनामा रहेको अवधिभर निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निजको पारिश्रमिक, सेवा र सुविधा स्थगित हुने व्यवस्था छ ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले पुर्व सभामुख महराले आफूमाथि बलात्कारको प्रयास गरेको भन्दै गत असोज १७ गते शुक्रबार उनिविरूद्ध प्रहरीमा उजुरी दिएकी थिइन् ।

प्रतिक्रिया