‘ऋणमा रेल भन्दा १२ महिनै चल्ने सडक सञ्जाल उपयुक्त’

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले चिनियां राष्ट्रपतिको यही असोज २५ र २६ गते हुने दुई दिने राजकीय भ्रमणको आफ्नो पार्टीले स्वागत गर्ने बताएका छन् । उनले भने,‘चिनियां राष्ट्रपतिको नेपाल आउनु खुशीको कुरा हो । हामी उहांलाई स्वागत गर्न चाहन्छौं ।’ बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता महतले आफू परराष्ट्रमन्त्री भएकै बेला नेपाल भ्रमणको लागि निमन्त्रणा गरिएको सुनाउंदै ढिलै भएपनि नेपाल आउनु खुशीको कुरा भएको बताए । उनले चीन नेपालको छिमेकी मित्रराष्ट्र मात्रै नभएर एउटा नजिकको मित्र भएको सुनाए । उनले भने, ‘चीनको समृद्धि अहिले दिनानुदिन बढिरहेको छ । विश्वमै चीन शक्तिशाली देशको रुपमा स्थापित भैसकेको छ । हामीले चीनसँग राम्रो सम्बन्ध राख्नुपर्छ ।’

चीनसंग पनि सुमधुर सम्बन्ध राख्दै अघि बढ्नुपर्ने बताउंदै महतले एक–अर्काको जायज चासो र चिन्ताप्रति गम्भिर हुनुपर्ने बताए । नेपालले आफ्नो राष्ट्रिय आवश्यकत्ता प्राप्त गर्ने केही अधिकार क्षेत्र रहेको सुनाउंदै सोहीअनुसार सम्बन्ध अघि बढाउनुपर्नेमा महतले जोड दिए । आफू नै परराष्ट्रमन्त्री हुंदा बिआरआई परियोजनाबारे सम्झौता भएको सुनाउंदै अहिलेको सरकारले त्यसलाई कुशलतापूर्वक कार्यान्वयनमा ध्यान दिनुपर्ने महतको भनाई छ । उनले चिनियां लगानी नेपालमा आमन्त्रण गर्नुपर्ने पनि सुझाए । त्यस्तै, उनले नेपालले चीनसंगको सम्बन्धमा सडक सञ्जाल अघि बढाउनेबारे ध्यान दिनुपर्ने पनि सरकारलाई सुझाव दिए । उनले भने, ‘चीनसंग हामीले १२ महिनै चल्ने सडक सञ्जाल बनाउनुपर्छ । त्यस्तै, अरु नाकाहरुपनि खोल्नुपर्छ ।’ पछिल्लो समय नेपालमा रेलवेबारे धेरै बहस भएको सुनाउंदै महतले रेलमा लगानी गर्दा समयमै प्रतिफल नआउनेतर्फ सरकारको ध्यानाकार्षण गराए ।

भारत र चीनबीच जबसम्म नेपाल भएर व्यापार हुंदैन्, तबसम्म रेलमा लगानी गर्नु नेपालको लागि घाटा हुनेपनि उनको भनाई छ । उनले भने,‘ऋण लिएर रेलवेमा लगानी गर्दा यसले प्रतिफल दिंदैन् । हामीले लगानी मुल्य त परै जाओस, सञ्चालन मूल्यपनि उठाउन सक्दैनौं ।’ महतले नेपालले आन्तरिक सडक सञ्जालको विकासमा नै बढि जोड दिनुपर्ने सुझाव पेश गरे । तर, ऋणमा नभई अनुदानमा रेल बनाउने कुरा भए त्यो भने स्विकार्य हुने उनको तर्क छ । चीनबाट काठमाडौं आउने रेलमात्रै नभएर भारतबाट काठमाडौं आउने रेलपनि अनुदानमा नै बनाउनुपर्ने उनको धारणा छ । उनले भने,‘हामीले आफैं बनाउन सक्ने अवस्था छैन् । त्यसैले ऋणमा पनि बनाउनुहुंदैन् । बरु, अनुदानमा नै बनाउनुपर्छ ।’ नेपालको आफ्नो साधन र स्रोतलाई ध्यान दिएर अघि बढ्नु नै आजको आवश्यकत्ता रहेको महतको भनाई छ । ऋणको बोझमा बस्नुभन्दा पहिले यसको आर्थिक प्रतिफल के आउँछ रु र कहिलेसम्म आउँछ भन्ने कुरामा बढि ध्यान दिनुपर्ने पनि उनको भनाई छ । उनले भने,‘रेलको कुरा गरेर बढि सेन्टिमेन्टल हुन जरुरी छैन् ।’

प्रतिक्रिया