टेम्पो दुर्घटनामा बालीकाको मृत्यु, ४ घाइते

भोजपुर । हतुवागढी गाउँपालिकामा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । आज अपराह्न १ बजे हतुवागढी गाउँपालिका वडा नम्बर– ५ होम्ताङको भित्री सडकमा दुर्घटना भएको हो ।

दुर्घटना सोही गाउँपालिका वडा नम्बर– ४ खैराङका मिलन राईकी ८ वर्षीया छोरी गुराँसको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र घोरेटारमा मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले जानकारी दिए ।

घोडेटारबाट होम्ताङतर्फ जाँदै गरेको को २ ह ७६८६ नम्बरको टेम्पो अनियन्त्रित भई सडकदेखि अन्दाजी ६० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मिलनकै ४ वर्षीया छोरी रितु, २१ वर्षीया रिका, १२ वर्षीय अनिम राई र चालक २४ वर्षीय विजय राई घाइते भएका छन् ।

घाइतेमध्ये चालक विजय राई र ४ वर्षीया बालिका रितुको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइतेलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया