चिनियाँ राष्ट्रपतिको भ्रमणः ‘केरुङ–काठमाडौं रेलवेसम्बन्धी सम्झौता’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले २३ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण ऐतिहासिक भएकोले भव्य सफल हुने विश्वास व्यक्त गरेका छन् । उनले भने,‘ २३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपालमा राजकीय भ्रमण हुँदैछ, चिनियाँ राष्ट्रपतिको दुई दिने भ्रमण ऐतिहासिक हुनेछ ।’

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भ्रमणको क्रममा दुई देशबीच केरुङ–काठमाडौं रेलवेसम्बन्धी सम्झौता हुनेपनि स्पष्ट पारे । २३ वर्षअघिको चीन र २३ वर्षपछिको चीनमा धेरै परिवर्तन आएको सुनाउँदै भट्टराईले अहिले चीनको राष्ट्रिय, क्षेत्रिय र अन्तर्राष्ट्रिय रुपमा पनि भूमिका हिजोको भन्दा फरक रहेको बताए । उनले भने,‘विश्वकै दोस्रो शक्तिशाली राष्ट्र हो । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण लामो समयको प्रतिक्षा थियो ।

उनले वर्तमान सरकार निर्वाचित भएर आईसकेपछि विदेश सम्बन्ध र उच्चस्तरीय भ्रमण आदानप्रदानमा पनि निकै फड्को मारेको दाबी गरे । उनले भने,‘विगतमा हामीलाई छिमेकीसँगमात्रै भ्रमण केन्द्रित रहेको भनेर आरोप लगाउने गरिएको थियो, तर यो सरकार आईसकेपछि हामीले युरोपियन मुलुक, दक्षिण पूर्वी एशियाली मुलुकहरुमा पनि सक्रियताका साथ सम्बन्ध अघि बढायौं ।’ अहिले उच्चस्तरीय भ्रमण आदानप्रदानको क्रम बढिरहेको उनको भनाई छ ।

प्रतिक्रिया