घरेलु मैदानमा पाकिस्तानलाई वान डे सिरिज

एजेन्सी, कराँची । घरेलु टोली पाकिस्तानले श्रीलंकासँगको तीन वान डे सिरिज जितेको छ । बुधबार राती तेस्रो तथा अन्तिम खेलमा ५ विकेटले जितेसँगै पाकिस्तानले सिरिज २–० ले आफ्नो पक्षमा पारेको हो ।  २ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ४८।२ ओभरमा ५ विकेट गुमाउँदै पूरा ग¥यो । पाकिस्तानको जितमा ओपनर फकार जमानले ९१ बलमा ७ चौका र १ छक्का सहित ७६ रनको योगदान दिए ।

त्यस्तै आबिद अलीले ६७ बलमा १० चौका सहित ७४ रन जोड्दै म्यान अफ द म्याच चुनिए । त्यस्तै प्रतियोगिताको म्यान अफ द सिरिज घोषित भएका बाबर आजमले ३१, कप्तान शरफराज अहमद २३, हरिस सोहेल ५६ र इफ्खितर अहमदले २८ रनको योगदान दिए । श्रीलंकाका लागि नुवान प्रदीपले २,लाहिरू कुमारा,वानिन्दु हरंरगा, शेहान जयसूर्याको नाममा समान १ विकेट रह्यो ।

त्यसअघि नेशनल स्टेडियम कराँचीमा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ९७ रन बनाएको थियो ।  श्रीलंकाका लागि ओपनर दनुष्का गुणतिलकले सर्वाधिक १ सय ३३ रनको योगदान दिए पनि टोलीको हार टर्न सकेन । ४५ औँ ओभरको तेस्रो बलमा मोहम्मद आमिरले बोल्ड आउट गर्नुअघि दनुष्काले १ सय ३४ बलमा १६ चौका र १ छक्का प्रहार गरे । उनको यो ओडीआई करिअरको दोस्रो शतक हो ।

त्यस्तै विकेटकिपर मिनोद भनुका र कप्तान लाहिरू थिरिमानेले समान ३६ रन जोडे । एन्जिलो परेरा १३, अभिष्का फ्रर्नान्डो ४, शेहान जयसूर्या ३ रनमा आउट भए । तल्लोक्रममा दासुन शनाकाले २४ बलमा ५ चौका र २ छक्का सहित ४३ रनमा क्याच आउट भए ।  पाकिस्तानका लागि तीब्र गतिका बलर मोहम्मद आमिरले १० ओभरमा ५० रन खर्चेर ३ विकेट लिए । उस्मान शिनवारी, सादब खान, वहाब रियाज र मोहम्मद नवाजको नाममा समान १ विकेट रह्यो ।

यसअघि पहिलो खेल वर्षाको कारण रद्द भएको थियो । दोस्रो खेलमा पाकिस्तान ६७ रनले विजयी भएको थियो । पाकिस्तान र श्रीलंकाबीच थप तीन टि–ट्वान्टी सिरिज हुने छ । पहिलो टि–ट्वीन्टी शनिबार हुने छ ।

प्रतिक्रिया