वर पूरा गराउने थार्प मष्टा (फाेटाे फिचर)

कर्णाली प्रदेशका जिल्लामा कुलदेवताको रूपमा मस्टोलाई पूजा गर्ने चलन छ । कर्णाली प्रदेशका सबै जिल्लामा मस्टोको मन्दिर (थान) छन् । तर, सबैभन्दा जेठो भाइ मुगुको छायानाथ रारा नगरपालीका–१३ थार्प गाउँमा रहेको मस्टोलाई मानिँदै आएको जानकारहरू बताउँछन् ।

 

नौ पुस्ताअगाडि १३ सय सालमा भारतको पिथौरागडबाट मस्टो देवता आई थार्प गाउँको रुखमुनि बसेको वृद्धहरूको भनाइ छ । थार्प मस्टाको मेला वैशाख पूर्णिमा, साउने पूर्णिमा, जुहारे पूर्णिमा, कात्तिक पूर्णिमा, माघ पूर्णिमा र भैल्या पूर्णिमा गरी वर्षमा ६ पटक भब्य रूपमा मेला लाग्ने गर्दछ ।

मेला हेर्न तथा थार्प मस्टोको दर्शन गर्नका लागि कर्णाली प्रदेशका मुगु, जुम्ला, हुम्ला, दैलेख, सुर्खेत, जाजरकोट, कालिकोट लगायतका जिल्ला र सुदूरपश्चिम प्रदेशका बाजुरा अछाम, डोटी डडेलधुरा, दार्चुला, बैतडी, बझाङ लगायतका जिल्लाबाट धार्मिक पर्यटकसमेत थार्प मस्टाको मेला हेर्न र दर्शन गर्न आउने गरेको छायानाथ रारा नगरपालिका–१३ का स्थानीय सज्जने बोहोरा बताउँछन् ।

थार्प मस्टोको दर्शन गरेमा आपूmले चाहेको वर पूरा हुने भएकाले धार्मिक विश्वासका कारण प्रत्येक वर्ष तीर्थालु भक्तजन थार्प आउने गर्दछन् । कुलदेवताका रूपमा मस्टोलाई कर्णालीमा पूजाआजा गर्ने गरेको भए पनि थार्प मस्टाको महत्व फरक छ । अन्य मस्टोले खासै सतभित गर्न नसकेका वेला थार्प मस्टाले भविष्यमा हुने नहुने के छ सबै ठोकुवाका साथ भन्ने गरेको र भने बमोजिम लागू पनि हुँदै आएको छ ।

छोरा नभएका मान्छेलाई छोरा दिने, चुनावमा विजय प्राप्त हुने नहुने अग्रिम जानकारी दिने, पत्नी नपाएकालाई पत्नी ल्याउन सहयोग गर्नेजस्ता विशेष महत्वका भविष्यवाणी गर्ने भएकाले पनि थार्प मस्टोको विशेष महत्व हुनुका साथै बाहिरी जिल्लाका तीर्थालु भक्तजन दर्शन गर्न आउने स्थानीय दलसिंह बोहोराले बताए । उनी भन्छन्, ‘थार्प मस्टोको दर्शन गरेर माग गरे पूरा हुने गर्दछ । छोरा नभएका मान्छे छोराको वर माग्न आउँछन् । चुनाव हुनुपूर्व आप्नो विजयको अवस्था थाहापाउन थार्प मस्टोको दर्शन गर्न आउँछन् ।’

पत्नी नपाएकाहरू आफ्नो दुःख प्रकट गर्दछन् र त्यसैअनुसार अदालतले गर्न नसकेको काम पनि थार्प मस्टाले टुग्यांउनेजस्ता महत्वपूर्ण काम गर्ने भएकाले अन्य देवीदेवताभन्दा थार्प मस्टोलाई विशेष महत्वका साथ पुज्ने र पूर्णिमाका अवसरमा दर्शन गर्नेहरूको भिड हुने बोहोराको भनाइ छ । थार्प मस्टाकोे देवता भएमा (धामी) भएपछि त्यो मान्छेले घरभन्दा बाहिर जान नपाउने हुन्छ । गाउँ वरपर घुमे पनि खोला कटाएर जान मिल्दैन ।

धामी भएपछि खाली खुट्टा हिँड्नुपर्ने हुन्छ । खोला कटाएर गएमा धामीलाई बिरामी हुने स्थानीय बताउँछन् । साउन शुक्ल पूर्णिमामा अन्य देवता दर्शन गर्न नुहाउन प्रवित्र धाम छायानाथ धाममा जाने गरेका भए पनि थार्प मस्टा नजाने र थार्प मस्टा नजिकै रहेको काउलापानीमा नुहाउने स्थानीयको भनाइ छ । अन्य देवताभन्दा ठूलो देवता हुँ भन्ने मान्यताका साथ आप्mनै अडानमा काम गर्ने र सुहाउँदो माग गरे माग पूरा गरिदिने विश्वाससमेत रहेको छ ।

प्रतिक्रिया