चाडपर्वमा मात्र अनुगमन

कालिकोट । चाडपर्व नजिकिएको छ । बजारभाउ आकासिएको छ । होटल व्यवसायले लुट मच्चाइरहेका छन् । दैनिक उपभोग्य सामानको मूल्यले उपभोक्ताको ढाड सेकाइरहेको छ । खाद्यान्नमा मिसावट र उपभोक्ता ठगी हुने गुनासो बारम्बार आइरहेका छन् । तैपनि अनुगमन र कारबाहीको जिम्मेवारी बोकेको सरोकारवाला एवं सरकारी निकाय दसैँतिहार नजिकिन थाल्दा मात्रै बजार अनुगमनमा सक्रिय देखिन थालेका छन् । कालोबजारी तथा उपभोक्ता ठगी उन्मूलन गर्ने निहुँमा मन्त्रीदेखि तल्लो निकायका कर्मचारीको गोजी भर्ने काम गरेको आरोप लाग्ने गरेको छ ।

कालिकोटमा पनि त्यही क्रम दोहोरिएको छ । विगतमा जस्तै चाडपर्वको मुखमा आएर बजार अनुगमन हुने परम्पराले यसपटक पनि निरन्तरता पाएको छ । विशेषगरी दसैँ, तिहार, छठजस्ता ठूला चाडपर्वको समयमा मात्र अनुगमन हुने र त्यसपछिको समयमा खासै अनुगमन नहुने क्रम दोहोरिएको छ । बजार अनुगमनको बाहानामा सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपालीले सदरमुकाम मान्मका विभिन्न पसलमा पुगेर अनुगमन गरे । मासु पसल, तरकारी पसल, पेट्रोल पम्प, कस्मेटिक पसल तथा राजमार्ग क्षेत्रमा सञ्चालनमा रहेको होटलहरूको अनुगमन गरे । तर, गाउँका स्थानीय हाट बजारमा भने, बाह्रै महिना मनपरि तरिकाले, सामान बेचिरहेका हुन्छन् ।

अनुगमनको क्रममा उनले भने, ‘चाडपर्वको समयमा उपभोक्ताहरूले दैनिक उपभोग्य सामान किन्दा कोही पनि नठगिउन भन्ने उद्देश्यले अनुगमनलाई तीव्रता पारिएको हो ।’ अनुगमनको बाटोलाई मौसमी अनुगमन मात्र नभई सधैँभरी यसलाई निरन्तरता दिने नेपालीले बताए । मासु पसल तथा होटेलमा फोहोर तथा गुणस्तर कम भएको भन्दै यसलाई कडाइका साथ अनुगमन गरी ब्यापारीलाई करको दायरामा ल्याउनुपर्ने बताए ।

अनुगमनका क्रममा सदरमुकाम क्षेत्रमा सञ्चालित व्यापारीले मूल्य बढी लिएको, कर छली गरेको पाइएको छ । उनीहरूलाई कानुनको दायरामा ल्याएर कारबाही गरिने उनले बताएका छन् । तर, अघिल्ला वर्षहरूमा पनि उस्तै समस्या आउने र कारबाही गरिने भनेर छोडिने गरेको उदाहरणहरू पनि प्रशस्त मात्रामा छन् । नीतिनियम तथा कार्यान्वयनको पाटो यति फितलो छ कि फेला परेका व्यापारीलाई सामान्य रूपमा सचेत तथा जरिवाना गराई छाडिनेसमेत गरेको पाइएको छ ।

चाडपर्वको मौका छोपेर विशेष गरी कर्णाली राजमार्ग र कर्णाली करिडोर अन्तर्गत सञ्चालित होटलहरूले खाना, खाजाको मूल्य बढी लिने गरेको गुनासो यात्रुहरूले गर्दै आइरहेका छन् । बढी नै मूल्य तिरे पनि स्वच्छ, ताजा र गुणस्तरको वस्तु तथा चिजहरू खान पाएका छैनन् । होटल व्यवसायीको मनपरी बढ्दै गएको आवाज गुन्जिरहेका छन् । ‘राजमार्गको होटलमा गाडी रोक्छन् । प्यास लाग्छ पानी खानै प¥यो २० रुपैयाँको पानीलाई ४० रुपैयाँ लिन्छन् । ८० रुपैयाको रेड बुललाई १ सय ५० लिन्छन्, खाना, खाजाको पनि उस्तै महँगी छ’, यात्रु प्रमोद उपाध्यायले बताए । उनले भने, ‘होटलवालाको मनपरी छ, हामी उपभोक्ताले भनेजति तिर्नुपरेको छ ।’

अनुगमन गर्ने क्रममा टोलीले अनुगमन गर्ने प्रविधि तथा मापनयन्त्रसमेत ल्याउने गरेको हुँदैन । भने एक व्यापारीले अर्को व्यापारीलाई अनुगमन गर्न टोली आउँदै छ भन्ने सन्देश प्रवाह गर्दा अनुगमन कार्य फितलो भएको देखिन्छ । अनुगमन टोली आउँदै छन् भन्ने सुइको पाउनासाथ व्यापारीहरू पनि ढोका थुनेर बस्ने गर्छन् । स्थानीय प्रशासन तथा केन्द्रीय टोलीले हरेक वर्ष राजमार्ग क्षेत्रका होटलमा अनुगमन गर्ने गरेको छ तर त्यसको प्रगति शून्य देखिएको छ । राजमार्ग हुँदै मन्त्री, नेता, जनता हरेक व्यक्ति हिँड्छन् तर त्यसको प्रवाह कसैलाई पनि परेको छैन ।

यस्तै नागरिक समाज कालिकोटका पूर्वसंयोजक दमनबहादुर वमले, चाडपर्वमा विशेष गरेर महँगी ह्वात्त बढ्ने गरेको छ, जसको सिकार आमउपभोक्ता नै हुने गरेका छन् । प्रत्येक वर्ष चाडपर्वमा व्यापारीहरूले चौथी हान्ने गर्दछन् । सडकदेखि सदनसम्म, खेतको आलीदेखि थालीसम्म, नुनदेखि सुनसम्म, अचारदेखि घिउसम्म, पानीदेखि तेलसम्म कुनै वस्तु तथा ठाउँ चोखो छैनन् । अरू महिना त्यसको मूल्य कमै हुन्छ । तर, चाडवाडको बेला भने मूल्य एकाएक आकासिन्छ । प्रत्येक वर्ष उपभोक्ता ठगिने, लुटिने क्रम बढ्दो भए तापनि उचित अनुगमन र कारबाहीमा प्रभावकारिता नहुँदा ठगिने पक्षमा सुधार आउन नसकेको बताए । मिसावट गर्ने, गुणस्तरहीन बेच्नेलाई जेलसजाय सम्मको कानुनी व्यवस्था भए पनि व्यवहारमा लागू हुन नसक्दा यो केवल देखाउने दाँत मात्र भएको छ ।

स्थानीय हाट बजारमा हुँदैन अनुगमन
कालीकोटका स्थानीय हाट बजारमा अनुगमन शून्य देखिएको छ । जति हुन्छन् सदरमुकाम मान्म बजारमा हुन्छन् । तर, स्थानीय हाट बजारमा वर्षांैदेखिका म्याद गुर्जेका वस्तुहरू बिक्री गर्ने गरेका छन् । यति मात्र होइन चाडवाडको वेला, महँगीको साथसाथै खाद्य वस्तुमा वर्षांैदेखि म्याद गएका वस्तुहरू बिक्री हुने गरेका छन् । साथै स्थानीयवासीले जिल्ला सदरमुकाममा गरिने बजार अनुगमन, स्थानीय तहमा लैजान नागरिक समाज तथा सरोकारावालाले आग्रह गरेका छन् ।

अखाद्य वस्तु नष्ट
यसैगरी जिल्ला प्रशासन कार्यालय बैतडीको नेतृत्वमा सदरमुकाममा दोस्रोपटक बजार अनुगमन गरिएको छ । दसैँ तिहारलाई मध्यनजर राख्दै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा संयुक्त बजार अनुगमन गरिएको छ । अनुगमन टोलीले गडी, गोठालापानीका ५९ पसलमा अनुमगन गर्दा म्याद नाघेका खाद्यबस्तु बरामद गरी नष्ट गरेको छ ।

अनुगमनबाट ६० हजार बराबरको अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको छ । उपभोक्ताको हितलाई ध्यानमा राखी यस्ता म्याद सकिएका र अखाद्य वस्तु बिक्री नगर्न र सबैले देखिने ठाउँमा मूल्य सूची राख्न व्यापारीलाई प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले सुझाव दिएका छन् ।

अनुमगनमा जिल्ला प्रशासन कार्यालय, दशरथचन्द नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, जिल्ला स्वास्थ्य कार्यालय, उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समिति, भेटनरी तथा पशु सेवा विज्ञ केन्द्र, पत्रकार महासंघ लगायतको संयुक्त बजार अनुमगन समितिले अनुगमन गरेको हो । यसैगरी पाटन, खोडपे र देहिमाण्डौमा बजार अनुगमन गरी अखाद्य वस्तु नष्ट गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया