चुरे अतिक्रमणले विपद् निम्तियो

चुरे क्षेत्रको अन्धाधुन्द दोहनले कैलाली जिल्लामा विपद्को जोखिम बढ्दै गएको छ । वन विनाशका कारण चुरे क्षेत्रमा वातावरणीय सन्तुलन खल्बलिएर यहाँका बासिन्दा प्रभावित भएका छन्् । खेतीयोग्य जमीन पनि प्रत्येक वर्ष मासिने क्रम बढ्दै गएको छ । वर्षातका वेला चुरे क्षेत्र मुहान रहेका नदीहरूमा बाढी आउँदा कैलालीमा प्रत्येक वर्ष जनधनको ठूलो क्षति हुँदै आएको छ ।

विगतमा चुरे पहाड भएर बग्ने कैलालीको घोडाघोडी नगरपालिकास्थित कान्द्रा, बहुला र डोडा नदीमा खडेरीमा पनि भरिभराउ पानी हुन्थ्यो । अहिले ती खोला सुकेर गएका छन् । चुरे मुहान भएर बग्ने कैलालीका मोहना, कर्णाली, खुटिया, काँडा, कनरा, गुलरा, गोदावरी खोला सुकेर बर्खामा मात्र उर्लेर आउँछ र खोला आसपासका जनतालाई तर्साउँछ । चुरे पहाडको उत्तर–दक्षिण भई बग्ने अरु कयौँ बर्खे खोलाबाट पनि बाढीको त्रास हुने गरेको छ ।

जिल्लामा साबिकका नारायणपुर, धनसिंपुर, लालवोझी, भजनी, खैलाड, रतनपुर, थापापुर, जोशीपुर, पबेरा, हसुलिया, फुलबारी र पहलमानपुर गाविसहरूमा बर्खाको समयमा बाढी आई डुबान तथा कटानबाट धेरै धनजनको क्षति हुने गरेको छ । नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला मातहतको आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार पाँच वर्षको अवधिमा बाढीबाट १५ हजार ९ सय ४५ घरधुरी प्रभावित भएका छन्् । कुल ७ सय ८० घरधुरी पूर्ण रूपमा क्षति भएका छन्् भने ६ जनाले ज्यान गुमाइ सकेका छन् ।

 

सुदूर तराईका कैलाली–कञ्चनपुर र पहाडको डडेलधुरा जिल्लाको उत्तरतिर पर्ने भावर तथा चुरे पर्वत शृंखला भिरालो भएका कारण बर्खामा खहरे खोलाहरूले ढुंगा तथा बालुवा बगाएर मैदानमा थुपार्ने गरेका छन्् । चुरे संरक्षणका लागि विभिन्न सरकारी कार्यालय र गैरसरकारी संस्थाहरूले वर्षेनी करोडौँ रकम खर्च गर्ने गरे पनि चुरे विनाशको क्रम भने रोकिएको छैन । चुरे दिनानुदिन मासिने क्रम बढ्दो छ । चुरे क्षेत्रमा कति वन फँडानी भए भन्ने यस क्षेत्रका वन कार्यालयसँग यकिन तथ्यांक नभएको डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेल बताउँछन् ।

कैलालीमा धनगढी उपमहानगरपालिका, घोडाघोडी, टीकापुर, लम्कीचुहा, भजनी, गोदावरी, गौरीगंगा नगरपालिका, जानकी, बर्दगोरिया, मोहन्याल, कैलारी, जोशीपुर र चुरे गाउँपालिका गरी १३ वटा स्थानीय तह रहेका छन् । विपद् व्यवस्थापनका लागि आर्थिक वर्ष २०७५÷७६ मा कतिपय स्थानीय तहले बजेट विनियोजन समेत गरेका थिए तर, वजेट कार्यान्वयनको पाटो कमजोर रह्यो । बेलैमा विपद् व्यवस्थापनका लागि तयारी हुन नसक्दा कतिपय स्थानीय तहको बजेट खर्च हुन सकेन । स्थानीय तहहरूले चालू आर्थिक वर्षमा पनि विपद् व्यवस्थापन शीर्षकमा रकम छुट्याएका छन् तर, यसबारे कुनै ठोस कार्ययोजना अघि सारेको भने देखिएको छैन ।

विपद् जोखिम न्यूनीकरणका लागि विभिन्न संघसस्थाहरूले स्थानीय तहलाई सहयोग गर्दै आएका छन् । सामाजिक विकासका लागि सचेत समाज धनगढी र वल्र्ड भिजन इन्टरनेशनल नेपालले नेपाल विपद् जोखिम पूर्वतयारी परियोजनाअन्तर्गत टीकापुर, भजनी, गौरीगंगा, घोडाघोडी नगरपालिका र कैलारी गाउँपालिकामा प्राविधिक सामग्री हस्तान्तरण समेत गरिसकेको छ । कर्मचारीमा विपद्सँग जुध्ने क्षमता अभिवृद्धि होस् भनेर ती सामग्री वितरण गरिएका हुन् । प्रत्येक वर्ष बजेट विनियोजन गरे पनि विपद्को जोखिम भने घटेको छैन । ‘विपद् परेका वेला मात्रै राहत दिन विभिन्न संघसंस्था अगाडि आउँछन्, अरू वेला केही गर्दैनन्,’ ‘विपद्को जोखिम रहेको घोडाघोडी नगरपालिका–१० का रामभरोसा चौधरीले भने, ‘दिगो व्यवस्थापनको काम हुन नसक्दा विपद्को जोखिम सधैंभरि रहिरहन्छ ।’

डिभिजन वन कार्यालय कैलालीका प्रमुख कँडेलका अनुसार बाढी, पहिरो, डुबान तथा भू–क्षयको समस्या वर्षेनी बढ्दै गएर धनजन र बालीको व्यापक क्षति भइरहेको छ । तराई क्षेत्रमा तीव्र रूपमा भइरहेको बसाइसराइ, चुरे जंगलको फडानीका साथै विकास निर्माणका पूर्वाधारहरू वातावरण मैत्री नहुनु, नदीनाला छेउछाउमा अवैध बसोबास बढ्नु, आगलागी, ढुंगा तथा बालुवाको बेरोकतोक निकासी, निर्माण कार्यमा ठूला मेसिनको प्रयोग जस्ता गतिविधि यसका कारक हुन् । चुरे पहाडबाट बग्ने सम्पूर्ण खोला तथा नदीहरू अन्तमा गएर नेपाल र भारतको सीमा नदी मोहनामा गएर मिल्दा त्यसले ठूलै नोक्सान गर्दै आएको छ । जोखिममा रहेको समुदाय र राज्यसँग विपद् पूर्वतयारीको कुनै स्पष्ट योजना र तयारी छैन ।

जिल्लास्थित तराई भू–परिधि कार्यक्रम, भू–संरक्षण, जिल्ला वन, पशुसेवा, वनस्पति, कृषि विकास मातहतका कार्यालयलगायतले चुरे संरक्षण कार्यक्रम अन्र्तगत विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेका छन्् । चुरे संरक्षणका लागि जलवायु परिवर्तनसम्बन्धी चेतनामूलक कार्यक्रम, वृक्षारोपण, बाँध निर्माण लगायतका कार्यहरू गरिरहेको तराई भू–परिधि कार्यक्रम (ताल)का कार्यक्रम संयोजक गौतम पौडेलले जानकारी दिए ।

पानी प्रोजेक्टका भाष्कर भट्टराईका अनुसार सुदूरपश्चिममा जलाधार क्षेत्रको समस्या पहिचान गर्ने, प्रोफाइल बनाउने र जलाधारको संरक्षण र नियन्त्रण गर्ने काम भइरहेको छ । चुरे क्षेत्रले कैलालीमा ४०.०७ प्रतिशत अर्थात् ९१ लाख ३० हजार १ सय ५६ हेक्टर क्षेत्रफल ओगटेको छ । कैलालीमा साबिकका सुगरखाल, मोहन्याल, गोदावरी, खेराला, पण्डौन, सहजपुर र निंगाली गाविस पर्दछन् ।

कर्णाली, ठूलीगाड, रोरा, पथरी कान्द्रा, डोडा, खुटिया, लिक्मा, शिवगंगा, गौरीगंगा, चौमाला, गोदावरी, मनोहरा र मोहना कैलालीको चुरे शृंखलाबाट बग्ने नदी हुन् । चुरे क्षेत्रमा जथाभावी बनाइएका गोठ, खुल्ला चरिचरन र आगलागीलाई नियन्त्रण गर्न जरुरी रहेको जिल्ला वन कार्यालयका प्रमुख कँडेल बताउछन्् । आकाशे पानीमा भरपर्ने कैलाली र कञ्चनपुरका किसानले अनपेक्षित जलवायु परिवर्तनका कारण धान, मकै, गहुँ र तरकारी बालीमा ठूलै नोक्सान बेहोर्दै आएका छन् ।

बढ्दो तापक्रमले गर्दा लामखुट्टे, झिंगा र अन्य कीराफट्यांग्र्राहरूको वृद्धि भई मलेरिया, कालाज्वर, जापनिज इन्सेफलाइटिस, आँखा पाक्ने, झाडापखाला, डेंगु र छालासम्बन्धी रोगहरू बढ्ने गरेको छ । हिमाली क्षेत्रमा हिउँ नपर्दा माटोमा चिस्यान नपुगेर घाँस र अन्न उत्पादनमा ¥हास आएको छ । मौसम र वर्षाको प्राकृतिक चक्र खल्बलिँदा परम्परागत बाली चक्रको सन्तुलन नै खल्बलिन गएको सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. महेश राज विष्ट बताउँछन् । यति वेला सबैको चासो र चर्चा चुरे संरक्षण बनेको छ ।

प्रतिक्रिया