विद्यालय पुनर्निर्माण गर्न ८० करोडको सम्झौता

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नेपालस्थित नर्बेजियन राजदूतावास तथा युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युनओपिएस) बीच २४ वटा विद्यालय पुनर्निर्माणका लागि समझदारी भएको छ । समझदारीअनुसार नर्बे सरकारको करिब ८० लाख अमेरिकी डलर सहयोगमा सिन्धुली, रामेछाप, भक्तपुर र काठमाडौंमा विद्यालय बन्नेछन् ।

परियोजनाअन्तर्गत रामेछापमा १३, सिन्धुलीमा नौ तथा काठमाडौं र भक्तपुरमा एक–एक वटा विद्यालय पुनर्निर्माण हुने भएको छ । यी विद्यालयमा एक सय ४४ वटा कक्षाकोठा रहनेछन् । विद्यालयहरू अपांगमैत्री हुनुका साथै शौचालय, खानेपानीको सुविधा हुनेछ । विद्यालय पुनर्निर्माण भएपछि करिब पाँच हजार पाँच सय विद्यार्थी लाभान्वित हुने बताइएको छ । परियोजनाको अवधि सन् २०२१ नोभेम्बर (२०७८ मंसिर १४) सम्म रहेको छ ।

समझदारीपत्रमा प्राधिकरणका तर्फबाट सहसचिव पीताम्बर घिमिरे, नर्बेजियन राजदूतावासका तर्फबाट नेपालका लागि राजदूत लास्से जोर्न जोहानेसे र युनओपीएसका कन्ट्री डाइरेक्टर चाल्र्स क्यालानानले हस्ताक्षर गरे ।

हस्ताक्षर कार्यक्रमपछि नर्बे सरकार तथा युनओपिएसलाई धन्यवाद दिँदै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले परियोजनाको समयमै सफल कार्यान्वयन हुने विश्वास व्यक्त गरे । उनले प्राधिकरण भूकम्पपछिको पुनर्निर्माणमा विकास साझेदारहरूसँग समन्वय तथा मिलेर काम गर्दै आएको र गर्न तयार रहेको पनि उनले बताए ।

नर्बेका राजदूत जोहानेसेले नर्बे सरकारको विद्यालय क्षेत्रप्रति दरिलो प्रतिबद्धता रहेको उल्लेख गर्दै भूकम्पबाट क्षति भएका विद्यालयहरूको पुनर्निर्माणका लागि साझेदारी गर्न पाउँदा गर्व लागेको उल्लेख गरे ।

पुनर्निर्माण प्राधिकरणका योजना तथा बजेट व्यवस्थापन महाशाखा प्रमुख सहसचिव पीताम्बर घिमिरेले परियोजनाले भूकम्पपछिको पुनर्निर्माणमा योगदान गर्नुका साथै दुई देशबीचको सम्बन्घमा पनि नयाँ आयाम थप्ने बताए । युएनओपिएसका कन्ट्री डाइरेक्टर चाल्स क्यालानानले पुनर्निर्माण प्राधिकरण र नर्बे सरकारसँग मिलेर विद्यालय पुनर्निर्माण गर्नु पाउनु गर्वको कुरा भएको उल्लेख गर्दै तोकिएको समय र गुणस्तरमा विद्यालय पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया