डायनाको पदचिह्न पछ्याउँदै राजकुमार ह्यारी

सन् १९९७ मा राजकुमारी डायना घातक ल्यान्डमाइनहरू छरपस्ट भएका एंगोलाको एउटा मैदानमा हिँडेको थिइन् । उनको उक्त तस्बिर विश्वभरि चर्चित बन्यो । दक्षिणी अफ्रिकाको आफ्नो भ्रमणका क्रममा राजकुमार ह्यारीले पनि ल्यान्डमाइन अर्थात् जमिनमुनि बिछ्याइएको विस्फोटक पदार्थ हटाउन र नष्ट पार्न भइरहेका प्रयासलाई प्रकाशमा ल्याउन एंगोलाको भ्रमण गर्दैछन् ।

कैयौँ देशमा ल्यान्डमाइन विस्फोटमा परेर हजारौँ मानिसले ज्यान गुमाउने क्रम रोकिएको छैन । उसो भए संसारमा ल्यान्डमाइन कहाँ छन् त ? त्यसमा के प्रगति भएको छ ? यसबारेमा विश्वका मानछेमा अनेक जिज्ञासा छन् । यस्तै राजकुमार ह्यारीले आफ्नी आमाको पदचिह्नलाई किन पछ्याउन खोजेका हुन् ? यो पनि कौतुहल्ताको बिषय बनेको छ ।

राजकुमारी डायनाको परिचय राजकुमारीका रूपमा मात्रै सिमित थिएन । उनी परोपकारका काम र प्रायःजसो सर्वसाधारण मान्छेका दृष्टिमा नपर्ने मुद्दा उठाउने कामका लागि परिचित थिइन् । उदाहरणका लागि सन् १९८७ मान उनले यूकेको पहिलो एचआइभी एड्स क्लिनिक खोलिन् । त्यसले मान्छेको धारणा परिवर्तन गर्न सहयोग ग¥यो ।

प्रिन्स अफ वेल्ससँग सन् १९९६ मा सम्बन्धविच्छेद गरेपछि उनले उठाएको पहिलो मुद्दा ल्यान्डमाइनबारे जनचेतना जगाउनु थियो । द्वन्द्वका क्रममा दशकौँसम्म ल्यान्डमाइनको प्रयोग हुँदै आएको थियो । युद्धका बेला विस्फोट नभएर छुटेका ल्यान्डमाइन पछि विस्फोट हुँदा मान्छेहरू मरिरहेका छन् र भुलवश खुट्टाले टेक्दा वा बम चलाउँदा मान्छे घाइते हुने गरेका छन् ।

एंगोलामा खुट्टा गुमाएका मानिसहरूसँगको उनका तस्बिरहरूले ल्यान्डमाइनले पुर्याइरहेका क्षतिलाई दर्शाएका थिए ।

राजकुमार ह्यारी किन त्यही बाटोमा ?
आफ्नो एंगोला भ्रमणका क्रममा राजकुमार ह्यारीले ल्यान्डमाइन निष्क्रिय बनाउने प्रयासबारे सिकिरहेका छन् र उनी आफ्नी आमाले थालेको कामलाई अगाडि बढाउन चाहिरहेका छन् । दक्षिणपूर्वी नगर डिरिकोस्थित एउटा पुरानो अस्त्रकेन्द्रमा सुरक्षा कवच लगाइरहेको ह्यारीको तस्बिर सार्वजनिक भएको छ ।

ल्यान्डमाइन हटाउने परोपकारी संस्था द हालो ट्रस्टले काम गरेको र आफ्नी आमा गएकै ठाउँ राजकुमार ह्यारी पनि पुगेका हुन् । सो क्षेत्रमा खप्पर र हड्डी भएको खतराको संकेतचित्र देखियो, त्यही दृश्य जुन २२ वर्षअघि उनकी आमा जाँदा पनि देखिएको थियो । त्यो ठाउँमा गत अगस्टदेखि उक्त परोपकारी संस्थाका कर्मचारीले काम गरिरहेको छन् ।

सन् २००० मा अस्त्र केन्द्रबाट हट्न लागेपछि सरकारविरोधी फौजले ल्यान्डमाइन बिच्छ्याएका थिए । अक्टोबर महिनाको अन्त्यसम्ममा त्यहाँबाट ल्यान्डमाइन हटाउने सो संस्थाको लक्ष्य रहेको छ । आफ्नो भ्रमणका क्रममा राजकुमार ह्यारीले एउटा ल्यान्डमाइनलाई नियन्त्रित विस्फोट प्रक्रियाबाट नष्ट समेत पारे ।

आफ्नो एउटा भाषणका क्रममा राजकुमार ह्यारीले द हालो ट्रस्टले समुदायलाई ‘शान्ति खोज्न’ सघाइरहेको बताए । ‘ल्यान्डमाइन युद्धका नपुरिएका घाउ हुन् । ल्यान्डमाइन हटाएर हामीले समुदायलाई शान्ति खोज्न सघाउन सक्छौँ र शान्तिसँग अवसर आउँछ,’ उनले भने, ‘त्यसका अतिरिक्त हामीले कुइटो नदीमा भर पर्ने विविध र भिन्न वन्यजन्तुलाई संरक्षण गर्न सघाउनेछौँ ।’

ह्यारीलाई त्यहाँको सुरक्षा अवस्थाका बारेमा जानकारी गराइएको थियो र ल्यान्डमाइन हटाइएको ठाउँभन्दा अन्यत्र नजान तथा केही नछुन भनिएको थियो ।

ल्यान्डमाइन के हुन् र त्यसबाट कति मान्छे मर्छन् तथा घाइते हुन्छन् । यसबारेमा पनि जान्नु जरुरी छ । ल्यान्डमाइन विस्फोटक हुन्छन् । त्यसमा संकेत दिने प्रणाली हुन्छ र सम्पर्कमा आएपछि त्यसले प्रतिक्रिया जनाउँछ । ल्यान्डमाइन जमिनमुनि वा माथि पनि राखिन्छ । मुख्यतया ल्यान्डमाइन दुई थरीका हुन्छन्, मान्छेलाई मार्ने वा घाइते पार्ने एन्टी–पर्सनेल ल्यान्डमाइन र सवारीसाधन ध्वस्त पार्ने एन्टी–ट्यांकमाइन ।

प्रथम विश्वयुद्धमा ल्यान्डमाइन प्रयोग भएको थियो, तर सन् १९६० को दशकयता त्यसको प्रयोगले व्यापकता पायो ।

सन् २०१७ मा ल्यान्डमाइन विस्फोटनका कारण ठूलो संख्यामा मानवीय क्षति बेहोर्ने देशहरूमा अफगानिस्तान, सिरिया, युक्रेन, इराक, पाकिस्तान, नाइजेरिया, म्यान्मार, लिबिया र यमन छन् । यो ल्यान्डमाइन मोनिटरले २०१८ मा जारी गरेको प्रतिवेदनमा गरेको उललेख अनुसार हो ।

ठाउँठाउँमा ल्यान्डमाइन बिछ्याउनु सैनिक रणनीतिको एउटा हिस्सा नै बन्न पुग्यो र धेरै मान्छेका लागि त्यसले जोखिमपूर्ण वातावरण सिर्जना य¥यो । विश्का करिब ६० वटा देश तथा क्षेत्रमा अझै एन्टी–पर्सनेल ल्यान्डमाइन रहेको बताइन्छ ।

ल्यान्डमाइन मोनिटरले गरेको अनुसन्धान अनुसार सन् १९९९ देखि २०१७ को बीचमा ल्यान्डमाइनमा परेर एक लाख २० हजारभन्दा बढी मानिस मरेका छन् त्यो भन्दा धेरै घाइते भएका छन् । त्यसमध्ये करिब आधाजति बालबालिका छन् । मृत्यु हुनेमा ८७ प्रतिशत सर्वसाधारण रहेको उल्लेख छ ।

सबैभन्दा बढी कुन देशमा ल्यान्डमाइन छ ?
विश्वभरि हजारौँ संख्यामा ल्यान्डमाइन छन् ।
सन् १९७५ देखि २००२ सम्म गृहयुद्ध झेलेको एंगोला विश्वमा धेरै ल्यान्डमाइन भएको देशमा पर्छ । द हालो ट्रस्टका अनुसार एंगोलामा कति संख्यामा ल्यान्डमाइन छ भन्ने कुरा यकिन गर्न गाह्रो छ, तर सन् १९९४ यता करिब एक लाख बढी ल्यान्डमाइन उसले हटाइसकेको छ । एंगोलाका अधिकारीहरूका अनुसार करिब १२ सय ल्यान्डमाइन क्षेत्र छन् । ल्यान्डमाइन हटाउने कार्य निकै महँगो र खतरनाक हुन्छ । अहिलेकै दरमा विश्वभरिबाट पूर्ण रूपमा ल्यान्डमाइन हटाउन सयौँ वर्ष लाग्न सक्छ ।

विश्वका ल्यान्डमाइन धेरै भएका देशमा चाड, अफगानिस्तान, कम्बोडिया, थाइल्यान्ड, अजर्बैजान, बोस्निया र हर्जगोभिना, क्रोएसिया, टर्की, इराक, यमन र वेस्टर्न सहारा पर्छन् ।

ल्यान्डमाइनविरुद्ध सञ्चालित अभियानमा राजकुमारी डायनाको संलग्नता विश्वव्यापी प्रतिबन्धका लागि एउटा आह्वान थियो । उनको निधनको तीन महिनापछि १ सय २२ मुलुकले ओटावा सन्धिमा हस्ताक्षर गरे । उक्त सन्धिले ल्यान्डमाइनको प्रयोग, उत्पादन, भण्डारण र एन्टी–पर्सनेल ल्यान्डमाइनको प्रसारमा प्रतिबन्ध लगाएको छ ।

हस्ताक्षर गर्ने मुलुकहरूले हस्ताक्षरको मितिदेखि १० वर्षभित्र ल्यान्डमाइन हटाउनुपर्ने र चार वर्षभित्र भण्डारण नष्ट गर्नुपर्ने उल्लेख गरिएको छ । अहिले युकेसहित १ सय ६४ देश सो सन्धिका पक्षधर राष्ट्र छन् । यद्यपि धेरै भण्डारण रहेका संयुक्त राज्य अमेरिका, चीन, भारत र रुससहित संयुक्त राष्ट्रसंघका ३२ वटा सदस्य राष्ट्रले त्यसमा हस्ताक्षर गरेका छैनन् ।

अधिकांशले हस्ताक्षरमा उल्लेख गरे अनुसारको समयसीमा भेटाउन सकेका छैनन् र अझै ल्यान्डमाइन राख्ने क्रमन रोकिएको छैन । ओटावा सन्धिमा हस्ताक्षर नगरेको म्यान्मारमा एन्टीपर्सनेल ल्यान्डमाइनको अहिले प्रयोग भइरहेको बताइन्छ । गैरसरकारी फौजहरूले पनि ल्यान्डमाइन को प्रयोग गर्ने गरेका छन् । उदाहरणका लागि बोको हराम लडाकु समूहले सन् २०१४ यता पूर्वोत्तर नाइजिरियामा ल्यान्डमाइन को प्रयोग गर्दै आएको छ । (बिबिसीको सहयोगमा)

प्रतिक्रिया