चर्चामा नेपाल–चिनियाँ कम्युनिस्ट पार्टीको सहकार्य

सत्तासिन नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीचको यो भाइचारा सम्बन्धले विशेषतः अमेरिकाको निद हराम भएको परिदृष्यहरू सतहमा देखिन थालेका छन् । यो समझदारी भएको लगत्तै अमेरिकी राजदूत ¥यान्डी बेरीले राजनीतिक भेटघाटलाई तिब्रता दिएका छन् । राजदूतले यस विषयमा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालदेखि प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई भेटिसकेका छन् 

सत्तासिन नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीका बीच भाइचारा सम्बन्ध स्थापित भएको छ । यी दुई पार्टी बीच भएको ६ बुँदे समझदारी अहिले राजनीतिक वृत्तमा विशेष चर्चाको विषय बनेको छ । चिनियाँ राष्ट्रपति नेपाल आउनु पूर्वसन्ध्यामा भएको यो भाइचारा सम्बन्धले मुलुकभित्रको मात्र होइन, अन्तर्राष्ट्रिय जगतको पनि ध्यान केन्द्रित भएको छ ।

यो भाइचारा सम्बन्धको समझदारीले प्रमुख विपक्षी दल नेपाली कांग्रेसभित्र छलफलको विषय बनाइदिएको छ । आफ्नो मुख्य प्रतिस्पर्धी नेकपासँगको चिनियाँ कम्युनिस्ट पार्टीको सहकार्यले आफ्नो राजनीतिमा प्रतिकुल असर पार्ने त होइन ? भन्ने चिन्ता नेपाली कांग्रेसमा प्रकट हुन थालेको छ । चिनियाँ राष्ट्रपति सी जिन पिङ विचारधारालाई नेकपाले अवलम्बन गर्न लागेर हो भन्ने हाल्ला आँकलन केही नेपाली बुद्धिजीवी र राजनीतिक विश्लेषकले गर्न थालेका छन् ।

सत्तासिन नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टी बीचको यो भाइचारा सम्बन्धले विशेषतः अमेरिकाको निद हराम भएको परिदृष्यहरू सतहमा देखिन थालेका छन् । यो समझदारी भएलगत्तै अमेरिकी राजदूत ¥यान्डी बेरीले राजनीतिक भेटघाटलाई तिब्रता दिएका छन् । राजदूतले यस विषयमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालदेखि प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई भेटिसकेका छन् । संसारभरीका कम्युनिस्ट पार्टीहरू बीच एक अर्कामा भाइचारा सम्बन्ध राख्ने परम्परा नयाँ होइन ।

नेपालका अन्य कम्युनिस्ट पार्टीका भाइचारा सम्बन्ध अन्य देशका कम्युनिस्ट पार्टीहरूसँग पनि रहँदै आएको छ । नेपाली कम्युनिस्ट पार्टीहरूको छिमेकी मुलुक भारतको कम्युनिस्ट पार्टीहरूसँग पनि भाइचार सम्बन्ध रहेको सर्वविदितै छ । चिनियाँ कम्युनिस्ट पार्टीसँग पनि नेपाली कम्युनिस्ट पार्टीहरूको अनौपचारिक सम्बन्ध रहँदै आएको थियो । अहिले त्यस्तो सम्बन्धलाई नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीले औपचारिकता दिएका मात्र हुन् । यस अर्थमा यो सम्बन्धका विषयमा अनौठो मान्नु पर्ने र शंका उपशंका गर्नु पर्ने अवस्था छैन ।

नेपाली कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीको संयुक्त आयोजनामा भएको चीनका राष्ट्रपतिको “सी जिनपिङ विचारधारा” छलफल अहिले विशेष चर्चाको विषय बनेको छ । चिनियाँ कम्युनिस्ट पार्टीले “सी जिनपिङ विचारधारा” लाई नेपालमा लागू गर्न खोजेको र त्यसलाई अनुसरण मात्र होइन, कार्यान्वयन गर्न सत्तासिन नेकपा तयार रहेकोलाई एकथरी व्यक्तिहरू रहेका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो देशको परिस्थिति र राष्ट्रिय आवश्यकता अनुसारको नीति, सिद्धान्त र कार्यक्रम बनाउनुपर्ने कुरामा निरन्तर जोड दिँदै आएका छन् । अर्को देशको अन्धानुकरण गरेर सफल हुन नसकिने उनीहरूको अटल मान्यता रहँदै आएको छ । सी विचारधारालाई उनीहरू चिनियाँ विशेषता सहितको विचारधारा मान्दछन् । सी विचारधाराका विषयमा विश्वसमुदायलाई जानकारी दिन चिनियाँहरू चाहन्छन् । तर, यो विचार धारालाई अन्य देशमा लाद्न चाहँदैनन् । त्यसैले चिनियाँहरूले सी विचारधारालाई नेकपा मार्फत् नेपालमा प्रयोग गर्न खोजेको तर्क र शंका कुनै कोणबाट पनि यथार्थपरक देखिँदैन ।

नेपाली कम्युनिस्ट पार्टीहरूले निरन्तर रूपमा चिनियाँ कम्युनिस्ट पार्टीसँग भाइचारको सम्बन्ध गास्ने कोशिस गर्दै आएका छन् । औपचारिक सम्बन्ध सम्म रख्ने अनौपचारिक सम्बन्ध नराख्ने नीतिलाई चिनियाँ कम्युनिस्ट पाटीले अवलम्बन गर्दै आएको थियो । कुनै पनि देशको आन्तरिक मामलामा हस्तक्षेप नगर्ने चिनियाँ विदेश नीतिका कारण उनीहरू औपचारिक सम्बन्ध राख्न पनि त्यति इच्छुक नहुने गरेको पाइन्छ । पञ्चायती कालमा मात्र होइन, २०४६ सालको परिवर्तनदेखि अहिलेसम्म सरकारस्तरीय सम्बन्ध राख्ने तर पार्टीहरूसँग औपचारिक सम्बन्ध नराख्ने विदेश नीतिलाई उनीहरूले निरन्तरता दिँदै आएका थिए ।

चिनियाँहरूले सी विचारधारा नेपालमा लागू गर्न खोज्दैछन् भन्ने बेतुकको कुरा हो भन्दा अत्युक्ति हुँदैन । खोजविन र विश्लेषण गर्नु पर्ने कुरा त सत्तासिन नेकपासँग औपचारिक भाइचारा सम्बन्ध स्थापति गर्न किन चिनियाँहरू तयार भए भन्ने हो । नेकपाले राखेको प्रस्तावमा यो भाइचारा सम्बन्ध भएको होइन, चिनियाँ कम्युनिस्ट पार्टीको पहलमा भएको हो । यस सम्बन्धमा आकलन गर्दा विगतमा चिनियाँहरूले अवलम्बन गर्दै आएको नेपाल नीतिका सम्बन्धमा चर्चा गर्नु आवश्यक हुन्छ ।

२०४६ सालअघि अर्थात् पञ्चायती कालमा चिनियाँहरूको सम्बन्ध प्रत्यक्ष दरबारसँग रहको थियो । ०४६ सालको परिवर्तनपछि शक्ति केन्द्रमा दरबारको स्थानमा दलहरू पुगे । त्यतिबेला जुन दलको सरकार छ, ऊसँग सम्बन्ध राख्ने तर पार्टीगत सम्बन्ध नराख्ने उनीहरूको नीति रहेको थियो । त्यतिबेला नेपाली राजनीतिमा वाह्य विशेषतः भारत र पश्चिमाहरूको चलखेल अत्यधिक बढ्दो र प्रायः पार्टीहरू यी दुई वाह्य शक्तिको खेलौना बनेकोले चिनियाँहरूको नजरमा कुनै विश्वासिलो शक्ति नरहेकोले नेपाल–चीन सम्बन्ध त्यति हार्दिकतापूर्ण रहेन ।

विश्व समुदायसँग प्रत्यक्ष रुपमा चिनलाई जोड्नको लागि “बेल्ट एन्ड रोड इनिसिएटिभ” योजनालाई अघि सारेपछि भने चिनियाँ विदेश नीति नेपालमा मात्र होइन, अन्य देशमा पनि परिवर्तन भएको पाइन्छ । आफ्नो यो महत्वाकांक्षी योजना पूरा गर्नका लागि चिनियाँले मित्र राष्टहरूबाट समर्थन, सहयोग र सहकार्य खोजिरहेको छ । चीनको यो योजनालाई रोक्न र निष्फल पार्न अमेरिकाले “इन्डो प्यासिफिक स्ट्रेटेजी” लाई अघि सारेको सर्वविदितै छ । यो स्ट्रेटेजीका आधारमा नेपाली भूमि प्रयोग गरी चीनलाई प्रहार गर्ने अमेरिकी दुष्प्रयासको पछि भने चिनियाँ नेपाल नीतिमा परिवर्तन आएको छ ।

‘इन्डो प्यासिफिक स्ट्रेटेजी’ मा ओली सरकारलाई फसाउन र अन्य दलहरलाई प्रयोग गर्न अमेरिकीहरू सफल हुँदै गएपछि चिनियाँहरू चिन्तित हुँदै आएका छन् । नेपाली भूमि प्रयोग गरेर आफ्नो देशको सुरक्षा माथि नै धावा बोल्ने अमेरिकी चलखेल हुँदा चिनियाँहरू सक्रीय र आक्रमक हुनु अस्वाभाविक होइन । नेपालसँग पार्टीगत र जनस्तरमा सम्बन्ध विस्तार गरेर मात्र अमेरिकीहरूको दुष्प्रयासलाई असफल पार्न सकिने मूल्यांकन चिनियाँहरूको भए झैं प्रतित हुन्छ । कांग्रेसको हेडक्वाटर नै पश्चिमाहरूको अखडा बन्दै गएको र पूर्व दरबारियाहरू पश्चिमाहरूकै आशामा आकर्षित भइरहेका अवस्थामा चिनियाँहरूले आफ्नो लागि नेपाल कम्युनिस्ट पार्टीबाहेक अर्को भरपर्दो शक्ति नभएको मूल्यांकन गरे झैं प्रतित हुन्छ ।

हुन त, नेकपाभित्र पनि पश्चिमाहरूको चलखेल र प्रभाव कम छैन । “इन्डो प्यासिफिक स्ट्रेटेजी”मा नेपाललाई सहभागी गराउन यो पार्टीका प्रभावशाली नेता, कार्यकर्ताले निभाएको भूमिकाले यही कुराको पुष्टि गर्दछ । तर, यो पार्टीको आमपार्टी पंक्ति र समर्थकहरू साम्राज्यवाद विरोधी र चीनमैत्री रहेका छन् । यो पार्टीका पश्चिमाहरूका लागि काम गरि रहेकाहरू पनि खुलारूपले चीनविरोधी गतिविधि गर्न सक्ने अवस्थामा छैनन् । यही स्थितिको आकलान गरेर चिनियाँ कम्युनिस्ट पार्टीले नेकपासँग भाइचारको सम्बन्ध स्थापित गर्न सक्रियता देखाएको हो ।

यो सम्बन्धले नेकपाभित्र दिन प्रतिदिन बढ्दो पश्चिमा चलखेल मात्र नियन्त्रण हुने छैन, नेपालको राजनीतिक अस्थिरता सृजना गरी चीनलाई प्रहार गर्ने पश्चिमाहरूको दुष्प्रयासहरू पनि निस्तेज हुँदै जाने सम्भावना छ । यस अर्थमा नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी बीचको भाइचारासम्बन्ध नेपाली कम्युनिस्ट आन्दोलनको लागि मात्र होइन, मुलुकको राष्ट्रियताको लागि उपलब्धिमूलक हुनेछ ।
(लेखकः वरिष्ठ अधिवक्ता तथा नेपाल प्रेस काउन्सिलका पूर्वअध्यक्ष हुनुहुन्छ)

प्रतिक्रिया