खोजखबर

अमेरिकामा भएको सवारी दुर्घटनामा दुई नेपालीको मृत्यु

सौर्य अनलाइन २०७६ असोज ९ गते ९:०६ मा प्रकाशित

काठमाडौं । मंगलबार र बुधबार अमेरिकामा भएको छुट्टा छुट्टै सडक दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ।

जानकारी अनुसार पछिल्लो दुर्घटना बुधबार केन्टकीमा भएको थियो भने अघिल्लो पेन्सलभेनियामा भएको थियो । केन्टकी राज्यमा गाडीको ठक्करबाट घुम्न गएका एक नेपालीको मृत्यु भएको हो।

स्थानीय प्रहरीका अनुसार नेपालबाट घुम्न गएका विष्णुप्रसाद सापकोटा लेक्जिङ्गटन शहरमा दुर्घटनामा परेका हुन्। बुधबार बिहान घुम्न निस्केका सापकोटा रिचमण्ड रोड र न्यु सर्कल रोड आसपासमा दुर्घटनामा परेका थिए। बिहान ७ बजेर २० मिनेटमा दुर्घटनामा परेका उनलाई गम्भीर अवस्थामा अस्पताल लगिएको थियो । पछि युनिभर्सिटी अफ केन्टकी अस्पतालले मृत घोषित गरेको स्थानीय समाचार संस्था लेक्स १८ ले जनाएको छ।

दुर्घटना हुँदा ५८ वर्षीय सापकोटा बाटो छेउ हिँडीरहेका थिए। दुर्घटनापछि बन्द गरिएको त्यस क्षेत्रको बाटो खुल्न करिब ३ घन्टा लागेको थियो। पारिवारिक स्रोतका अनुसार नेपाल बर्दिवास, महोत्तरी घर भई ३ हप्ता अघिमात्र छोरी बिनिता सापकोटा तथा ज्वाई रोशनराज घिमिरेलाई भेट्न उनी अमेरिका गएका थिए । सँगै रहेकी उनकी पत्नी विमला सापकोटा घाइते भएकाले युनिभर्सिटी अफ केन्टकी अस्पतालमा उपचार भइरहेको छ।

त्यस्तै पेन्सलभेनिया राज्यस्थित ल्यानकास्टरमा मंगलबार कर्णबहादुर सुवेदी सडक दुर्घटनामा परेका छन् । दुर्घटनामा घाइते कर्णबहादुर सुवेदीको उपचारको क्रममा मृत्यु भएको स्थानीय ल्यानकास्टर अनलाइनले जनाएको छ। सडक पार गर्न लाग्दा उनलाई स्टोन मिल रोडमा मंगलबार दिउँसो १ बजेर ४४ मिनेटमा गाडिले ठक्कर दिँएर गम्भीर घाइते भएका थिए । नेपाली–भाषी भूटानी सुवेदीलाई उपचारका लागि नजिकैको ल्यानकास्टर जनरल अस्पताल लगिएको थियो। ६१ वर्षीय सुवेदी डोगना भूटानमा जन्मिएका हुन्। उनी सन् २०१२ देखि पुनर्वासका क्रममा सपरिवार अमेरिकामा बस्दै आएका छन् ।

प्रतिक्रिया