डाइनसोर लोप हुनेगरी महाप्रलय भएको दिन

वैज्ञानिकहरूले पृथ्वीमा एकैदिन भएको सबैभन्दा भयंकर घटनाको विवरण आकलन गरेका छन् । उक्त घटना आजभन्दा करौडौँ वर्षअघि भएको थियो । त्यही घटनाक्रममा गल्फ अफ मेक्सिकोमुनिबाट उत्खनन गरिएको १ सय ३० मिटर लामो चट्टानको स्वरूपसमेत बनेको थियो ।

खोज अनुसार पत्थरमा एउटा विशाल क्षुद्रग्रह पृथ्वीमा बजारिएको केही सेकेन्डदेखि घण्टाभित्र थुप्रिएका थिगरहरू देखिएका थिए । जसलाई अहिले पनि चित्रमा हेर्न सकिन्छ । उक्त प्रलयकारी घटनाकै कारण पृथ्वीबाट डाइनसोरहरू विलुप्त भएका र स्तनधारी जीवको वृद्धि भएको धारणा अनुन्धानकर्ताहरूले गर्दै आएका छन् ।

अनुसन्धानकर्ताको समूहले चट्टानको गर्भमा रहेको एउटा लामो र विशाल खण्ड बाहिर निकाल्यो । त्यसमध्ये १ सय ३० मिटर लामो एउटा भागले भूगर्भशास्त्रीहरूले भन्ने गरेको सिनजोइक युग अर्थात् स्तनधारीहरूको युगको पहिलो दिनको वृत्तान्त समेटेको छ

उक्त घटनाका कारण बनेको खाडलको वास्तविकता यूके र अमेरिकाका अनुसन्धानकर्ताहरूले नेतृत्व गरेको एउटा टोलीले पत्ता लगाएको छ । सन् २०१६ मा ड्रिल गरेर उनीहरूले क्षुद्रग्रह बजारिएपछि बनेको खाडलको अवशेषको हप्तौँ अध्ययन गरेका थिए । चिक्सुलुब खाडलबाट संकलित यो चट्टानले एउटा कथा भन्छ । झन्डै २ सय किलोमिटर फराकिलो उक्त संरचना अहिले मेक्सिकोको युकाटान प्रायद्वीपमुनि रहेको छ । यसको सबैभन्दा संरक्षित केन्द्रीय भागचाहिँ चिक्सुलुब बन्दरगाहबाट पर तटीय क्षेत्रमा पर्छ ।

अनुसन्धानकर्ताको समूहले चट्टानको गर्भमा रहेको एउटा लामो र विशाल खण्ड बाहिर निकाल्यो । त्यसमध्ये १ सय ३० मिटर लामो एउटा भागले भूगर्भशास्त्रीहरूले भन्ने गरेको सिनजोइक युग अर्थात् स्तनधारीहरूको युगको पहिलो दिनको वृत्तान्त समेटेको छ ।

एउटा १२ किलोमिटर फराकिलो पिण्डले पृथ्वीको उपल्लो तहमा एक सय किलोमिटर लामो र ३० किलोमिटर गहिरो खाडल बनाइदियो । कचौरा आकृतिको उक्त पिण्ड त्यसपछि नष्ट भयो र २ सय किलोमिटर फराकिलो तथा केही किलोमिटर खाडल बाँकी रह्यो । त्यो खाडलको केन्द्र पुनः पुरानै स्थानमा फर्कियो र फेरि नष्ट भयो । त्यसबाट एउटा भित्री घेरा बन्यो । अहिले पनि उक्त खाडलको अधिकांश भाग तटीय क्षेत्रबाहिर झन्डै ६ सय मिटरमुनि पुरिएको छ । जमिनमा भएको भाग चुनढुंगाले छोपिएको छ र पानीले खिइएर चट्टानमा बनेका प्वालहरूले बाह्य भाग चिनाउँछन् ।

त्यो विशाल खाडलमाथि कमजोर चुनढुंगा भएको क्षेत्रमा सेनोटे भनिने यस्ता खाल्डा बनेका छन् । उक्त खण्डमा चकनाचुर भएका वस्तुहरू थुप्रिएका छन् । तर, ती वस्तुहरू यसरी मिलेर बसेका छन् कि त्यसबाट वैज्ञानिकहरू एउटा स्पष्ट निष्कर्ष निकाल्न सक्छन् ।
पिँधको २० मिटरतिर सिसाजस्तो अवशेष छ । क्षुद्रग्रह बजारिँदा उत्पन्न ताप र चापको प्रभावले यो चट्टान पग्लियो र तत्काल त्यो खाडलको पिँधभरि फैलिएको थियो । विस्फोटका कारण बनेको तातो पदार्थमा पानी परेपछि क्रमिक रूपमा पग्लिएर जमेको चट्टानका टुक्राहरू बनेका थिए ।

त्यो पानी त्यतिवेला अस्तित्वमा रहेको कम गहिरो सागरबाट गएको थियो । विशाल आकाशीय पिण्ड पृथ्वीमा खस्दा पानी अन्यत्र सरेको थियो, तर पुनः त्यस स्थानमा आएर उम्लिरहेको चट्टानको सम्पर्कमा पुग्दा बलशाली प्रतिक्रिया उत्पन्न भएको थियो । ज्वालामुखीभित्र बनेको लेदो र समुद्रको पानीको अन्तक्र्रिया हुँदा त्यस्तै किसिमको प्रतिक्रिया देखिन्छ ।

अनुसन्धानकर्ताका अनुसार यो चरण सुरुका केही मिनेटदेखि एक घण्टासम्म जारी रहेको थियो । तर पानी निरन्तर आइरह्यो र त्यसले खाडलको मुख पुरियो । मूल भागको माथिल्लो ८०–९० मिटर लामो खण्ड पानीमा भएका भग्नावशेषले बनेको थियो । अन्ततः त्यो क्रम रोकियो । सुरुमा ठूला टुक्रा र त्यसपछि मिहिन वस्तु बसेका थिए । क्षुद्रग्रह बजारिएको केही घण्टाभित्रै यो प्रक्रिया भएको थियो ।

अनि त्यसपछि १ सय ३० मिटर खण्डको ठ्याक्कै माथिल्लो भागमा सुनामीको प्रमाण फेला परेको छ । त्यहाँ थिगरहरू सबै एउटै दिशामा थुप्रिएका छन् र तिनको बनोट हेर्दा ठूलो ऊर्जा उत्पन्न भएको कुनै घटनामा त्यसो भएको संकेत पाइन्छ ।

वैज्ञानिकहरूले उक्त घटनाका कारण एउटा भीमकाय छाल उत्पन्न भएको र त्यो खाडलबाट सयौँ किलोमिटर पर तटीय क्षेत्रमा पुगेर बजारिएको बताएका छन् । बाहिर त्यसो भएपछि छाल फर्किएको तथा सुनामीमा भएको भग्नावशेष चट्टानको माथिपट्टि जम्मा भएको थियो । ‘यी सबै पहिलो दिनकै घटना हुन्,’ अस्टिनमा रहेको युनिभर्सिटि अफ टेक्ससका प्राध्यापक सन गुलिक भन्छन्, ‘सुनामीहरू जेट विमानको गतिमा अघि बढ्छन् । चौबिस घण्टाको अवधि छाललाई बाहिर जान र फर्कन पर्याप्त समय हो ।’

प्राध्यापक गुलिकको टोली यस विषयमा सुनामीको विवेचनाबारे विश्वस्त छ । किनभने त्यहाँ फेला परेको थिगरमा भूमिको संकेतचिह्न र अँगार छन् । ती वस्तु मूल घटनाका कारण नजिकै रहेको स्थानमा ठूलो आगो लागेका प्रमाण हुन् ।

वैज्ञानिकहरूले १ सय ३० मिटरको उक्त क्षेत्रमा कतै पनि गन्धक (सल्फर) फेला पारेनन् । त्यो आश्चर्यजनक कुरा हो किनभने आकाशीय पिण्ड बजारिएको समुद्रको पीँधमा जिप्समजस्ता गन्धक भएका सम्भवतः एक तिहाइदेखि आधा खनिज पदार्थ थिए । कुनै कारणले गन्धक उडेको हुन सक्छ । तर त्यसले अहिले स्वीकार गरिएको डाइनसोर लोप हुनुका कारणसम्बन्धी सिद्धान्तलाई नै पुष्टि गर्छ ।

ठूलो परिमाणमा गन्धक पानीमा मिसिएर आकाशतिर बाफिँदा त्यतिवेला जलवायु चिसिएको हुन सक्छ । त्यस परिस्थितिमा सबै जीवजन्तु र वनस्पतिले जीवित रहन संघर्ष गर्नुपरेको हुन सक्छ । ‘सयौँ गिगाटन (अर्बौँ टन) सल्फर वायुमण्डलमा प्रवेश गरेपछि विश्वव्यापी रूपमा नै जलवायुको नयाँ ढाँचा आरम्भ भयो र कम्तीमा १५ वर्षसम्म त्यो २५ डिग्री सेल्सिएस चिसो हुँदै गएको थियो ।

त्यसले अधिकांश ठाउँमा एकदमै कठ्यांग्रिने अवस्था निम्त्यायो,’ प्राध्यापक गुलिकले भने, ‘अनि संर्कीण भएर आकलन गर्दा पनि ३ सय २५ गिगाटन सल्फर बाहिर गएको देखिन्छ । यो क्राकाटाउजस्ता ज्वालामुखीको शक्तिभन्दा पनि बढी हो जसले जलवायुलाई छोटो अवधिका लागि शीतल पनि बनाइदिन सक्छ ।’

उक्त महाप्रलयपछि स्तनधारी जीवहरू बाँचिरहन सके तर डाइनसोरहरू भने मासिए । त्यसपछि डाइनोसरको अस्तित्व समाप्त भयो । प्राध्यापक गुलिक र उनको टोलीको अनुसन्धान प्रोस्सिंि अफ द न्याश्नल अक्याडमी अफ साइअन्सेज (पीएनएएस) नामक जर्नलमा छापिएको छ ।

प्रतिक्रिया