बायर्नको सुखद सुरुआत

एजेन्सी, बर्लिन । जर्मन च्याम्पियन बायर्न म्युनिखले नयाँ सिजनको युइएफए च्यािम्पयन्स लिगमा सुखद सुरुआत गरेको छ । बायर्नले सर्वियन रेडस्टार बेलग्रेडलाई ३–० ले पराजित गर्दै च्याम्पियन्स लिगमा सुखद सुरुआत गरेको छ । घरेलु मैदानमा बायर्नलाई जिताउन किंग्सले कोमान, रोबर्ट लेवान्डोस्की र थोमस मुलरले गोल गरे । एलिनाज एरिनामा बुधबार राति भएको खेलमा घरेलु टोली बायर्नको खेलको ३४औँ मिनेटमा किंग्सले कोमानको गोलबाट पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । कोमाले इभान पेरिसिसको पासलाई सदुपयोग गरेका थिए ।

खेल सकिन १० मिनेट बाँकी रहँदा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा थोमस मुलरले थियागो अलकान्तराको पासलाई गोलमा परिणत गर्दै बायर्नलाई ३–० को सहज जित दिलाए । जितसँगै बायर्नले समूह ‘बी’ मा ३ अंक जोडेको छ । रेडस्टार अंकविहीन हुँदै पुछारमा छ ।

यही समूहको अर्काे खेलमा इंग्लिस क्लब टोटेनहमले सुरुआती दुई गोलको अग्रता जोगाउन नसक्दा ग्रीसको ओलम्पियाकोससँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । ग्रीसमा खेलिएकोखेलमा टोटेनहमको खेलको २६औँ मिनेटमा ह्यारी केनको पेनाल्टी गोलबाट खेलमा अग्रता लिएको थियो । ३०औँ मिनेटमा लुकास मौउराले गोल गर्दै टोटेनहमलाई २–० ले अघि बढाए ।

४४औँ मिनेटमा ड्यानियल पोडेन्सले गोल गर्दा पहिलो हाफमा टोटेनहम २–१ ले अघि बढ्यो । ५४औँ मिनेटमा म्याथ्यु भालवुयनाले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काएका थिए । त्यसपछि दुवै टोलीबाट गप गोल हुन नसक्दा दुवै टोली अंक बाँड्न बाध्य बन्यो । बराबरीसँगै ओलम्पियाकोस दोस्रो तथा टोटेनहम तेस्रो स्थानमा छ ।

प्रतिक्रिया