ऐरी बने राष्ट्रिय टिमको उपकप्तान

काठमाडौं । सेप्टम्बर २७ बाट सिंगापुरमा आयोजना हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । सिरिजमा आयोजक सिंगापुरसँगै टेस्ट मान्यता प्राप्त राष्ट्र जिम्वाबे र नेपाल सहभागी हुनेछन् । बिहीबार पत्रकार सम्मेलन गरेर कप्तान पारस खड्काको कप्तानीमा नेपाली टोलीको घोषणा गरिएको हो । पारसको कप्तानीमा रहेको टोलीमा दिपेन्द्रसिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । टोलीमा अन्य खेलाडीमा सोमपाल कामी, करण केसी, ललित राजवंशी, विनोद भण्डारी, सन्दीप लामिछाने, कुशल मल्ल, अभिनास बोहरा, रोहित पौडेल, सुशान भारी, इसान पाण्डे, आरिफ सेख छन् ।

बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट १५ सदस्यीय टिमको घोषणा गरिएको हो । आईसीसीका प्रतिनिधि अमिनुल इस्लाम, नेपाली टोलीका प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले खेलाडी छनोट गरेका हुन् । नेपालले सेप्टेम्बर २७ मा जिम्वाबेसँग खेल्नेछ भने २८ सेप्टेम्बरमा नेपालले सिंगापुरसँग खेल्नेछ । डबल राउन्ड रोबिनको आधारमा हुने सिरिजमा नेपालले जिम्वाबेसँग अक्टोबर एक मा आफ्नो दोस्रो खेल खेल्नेछ । दुई अक्टोबरमा सिंगापुरसँग खेल्नेछ । सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।

त्रिकोणात्मक सिरिजपछि नेपाली टोली सिंगापुरबाटै ओमान जानेछ । नेपालले ओमानमा पाँच राष्ट्र सम्मलित टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज खेल्नेछ । अक्टोबर पाँच देखि १० सम्म हुने सिरिजमा नेपाल, आयरल्यान्ड, ओमान, हङकङ र नेदरल्यान्डको सहभागिता रहनेछ ।

प्रतिक्रिया